पर्यटन

६ सय बढी साइकलसहित 'भक्तपुर कोरा २०२३' सकियाे

इकागज |
असार ३१, २०८० आइतबार ७:५ बजे

भक्तपुर ।  राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भक्तपुरलाई एक उदाहरणीय साइक्लिङ गन्तव्यको रूपमा स्थापित गर्दै जाने उद्देश्यका साथ शनिबार भक्तपुरमा “भक्तपुर कोरा २०२३” सम्पन्न भएको छ ।

दीर्घकालीन रूपमा साइकललाई साइकलमात्र नभई सामाजिक तथा आर्थिक रूपमा पनि एक अभिन्न अंगको रूपमा स्थापित गर्ने तत्परताका साथ कार्यक्रम गरिएको हो ।


साइकल रुट बिहान ६ बजे भक्तपुर दरबार स्वायरबाट सुरु भएको थियो । त्यहाँंबाट बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरेपच्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमि– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाङगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– लोकन्थली– कौशलटार– सानोथिमि हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिएको थियो । 

साइकल यात्रीहरूको लागि नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुर चाँंगुनारायणको क्यान्टिनमा ब्रेकफास्ट तथा ५० किलोमिटर यात्रा गर्नेहरूको लागि हेभन हिल रिसोर्ट तेलकोट र ७५÷१०० किलोमिटरलाई फन्की हिल रिसोर्ट नगरकोटमा खानाको व्यवस्था गरिएको थियो । विभिन्न क्लब तथा स्थानीय समूहको सहकार्यमा भक्तपुर दरबार स्वायर, बालकुमारी, निलबाराही, चांगुनारायण, तेलकोट, शान्तिडांडा, नगरकोट, बोजिनी, चरेली, खावा, सांगा, खाल्चोक, रानीकोट, घ्याम्पेडाँडालगायतको स्थानमा वाटर पोइन्टको व्यवस्था गरिएकाे थिाे ।

साथै जुजु बाइक्सको प्राविधिक सहयोगमा विभिन्न स्थलमा साइकल सर्भिस क्याम्प राखिएको थियो । सफलतापूर्वक च्यालेन्ज सकाउने सहभागीहरूलाई मेडलले सम्मान गरिएको थियो । 

साइकल कनेक्ट भक्तपुरकी अध्यक्ष निर्जला प्रजापतिले भक्तपुरलाई साइकलको जिल्ला बनाउने अभियान अन्तर्गत प्रत्येक वर्ष निरन्तर रुपमा भक्तपुर कोरा साइकल अर्थात् साइकलमा यात्राको परम्परा सुरुवात गरेको बताइन् । साथै सानो स्केलमा प्रत्येक शनिबार जिल्लामा रहेका साइकल प्रेमीहरु निश्चित गन्तव्य बनाई सामूहिक साइकल यात्रा गर्दै आएको पनि उनले जनाइन् । यसबाट साइकलप्रेमीहरुको संख्या निरन्तर बढ्न थालेको उनको अनुभव छ । 
शनिबार भएको तेश्रो पटकको साइकल यात्रामा ६ सय भन्दा वढीले सहभागि थिए ।

 


Author

थप समाचार
x