पर्यटन

चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

इकागज |
साउन ४, २०८० बिहीबार २०:५७ बजे

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन् । 


गत आर्थिक वर्षमा पर्यापर्यटनबाट रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो । 

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो ।  आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।
 
तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ देखि निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट रु एक लाख ४० हजार दुई सय ९८ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज भित्रिँदा दुई लाख एक हजार चार सय २१ राजस्व प्राप्त भएको थियो ।
 
पर्यटकको सङ्ख्याका हिसाबले गत आर्थिक वर्ष हालसम्मकै बढी हो । राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको रु २९ करोड ४४ लाख ६६ हजार छ सय ४० अहिलेसम्मको सबैभन्दा बढी हो । 

निकुञ्ज प्रवेश गर्ने नेपालीले रु एक सय ५०, सार्क देशकाले रु एक हजार र अन्य देशकाले रु दुई हजार राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, 'आर्थिक मन्दी र कोभिडका कारण विदेशी पर्यटक बाहिर ननिस्कनु र नेपाली पर्यटकको सङ्ख्या बढी हुनुले पर्यटकको सङ्ख्या बढी एवं राजस्व कम भएको हो ।'
 
विगतमा सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो ।
 
हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकाली केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । भरतपुर महानगरपालिकाले पनि सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको छ । रासस


Author

थप समाचार
x