पर्यटन

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोमा पुगे नेपाली युवा पाण्डे

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १६:५८ बजे

काठमाडौँ-  नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गरेका छन् । गत मंगलबार अर्थात अक्टुबर ३१ तारिखका दिन बिहान ६: ४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन् ।

पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ । उनले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको गरेका थिए । आरोहण पश्चात् उनले इकागजसँग भने, 'यो सफलता मेरो मात्र नभई नेपाल र आम नेपालीहरूको हो ।'


उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर  रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए ।

उनले आरोहण गरेको उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । ‘सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेँ । 'सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेको छु,’ पाण्डेले अगाडि थपे, 'सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेको हुँ । त्यो पूरा गरेँ । त्यसपश्चात अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेँ ।’

नेपाल फर्किएपश्चात अर्जेन्टिनाको एकोन्कागुआ हिमाल आरोहरणको तयारी गर्ने पाण्डेले जानकारी दिए । नेपाल स्काउटका स्काउटरसमेत रहेका पाण्डेले हिमाल आरोहण अगाडि अफ्रिका रहँदा स्वयम् सेवको भूमिका र बालबालिकालाई खेलकुदका सामग्री समेत हस्तान्तरण गरेका थिए ।

पाण्डेले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका थिए । रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जानु अगाडि पर्वतारोही पाण्डेलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र किरण केसीलगायतले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए ।


Author

थप समाचार
x