पर्यटन

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

इकागज |
मंसिर ३, २०८० आइतबार १७:१४ बजे

अन्नपूर्ण (कास्की)- दसैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । 

पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरूको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरूमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका छन् ।


'पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्ण रूपमा भरिएका (हाउसफुल) नै भएको थियो,' अध्यक्ष गुरुङले भने, 'धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । पाहुनालाई हामीले फर्काएका छैनौँ ।' घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उनले सबैलाई आग्रह गरे ।

'घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छौँ,' अध्यक्ष गुरुङले भने, 'पाहुनाको सुविधाका लागि उहाँहरू आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।' उनका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् । 

पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो । होटल, होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उहाँले जानकारी दिए । 

कास्कीकै मादी गाउँपालिका-१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ । दसैँ, तिहार सकिएसँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उनले बताए ।

वडाध्यक्ष गुरुङले पर्यटकको सङ्ख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएर आउन आग्रह गरे । 'सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटक गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ,' उनले भने, 'तसर्थ गाउँमा आउनुभन्दा अगावै बस्न चाहनुभएको होटल/होमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ ।' साथै, क्हपुचें र कोरी ट्रेकका लागि सम्बन्धित होटल सञ्चालकसँग सम्पर्क गरेर आउँदा असहजता नआउने उनको भनाइ थियो । रासस


Author

थप समाचार
x