पर्यटन

त्रिभुवन विमानस्थलमा कुन-कुन एयरलाइन्सका जहाज ग्राउण्डेड छन् ?

इकागज |
पुस २५, २०८० बुधबार १७:४५ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र नेपाल एयरलाइन्सका गरी वटा २५ वटा हवाइजहाज ग्राउण्डेड छन् । विमानस्थलको आइसोलेसन रिमोर्ट पार्किङमा, हेलि प्याड भएका क्षेत्र र बुद्ध एयरको ह्याङ्गरतर्फ ग्राउण्डेड भएका विमान राखिएको छ ।

नेपाल एयरलाइन्स, गुण एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयरलाइन्स, तारा एयरलाइन्स, भिभिआइपी फ्लाइट र यती एयरलाइन्सको जहाज ग्राउण्डेड भएका छन् ।


नेपाल वायुसेवा निगमको ७ वटा जहाज ग्राउण्डेड रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । गुण एयरलाइन्सको पाँच वटा जहाज छन् ।

सौर्य एयरलाइन्सको एउटा जहाज, श्री एयरलाइन्स छ वटा छन् । सीता एयर दुई, तारा एयरलाइन्स एक, भिभिआइपी एयरलाइन्स एक र यती एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएको प्राधिकरणले जनाएको छ ।

नेपाल एयरलाइन्सको ट्वीनटेर जहाज दश वर्ष अघि देखि ग्राउण्डेड भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनका अनुसार श्री एयरलाइन्सको जहाज तीन वर्षदेखि ग्राउण्डेड छन् ।

गुण एयरलाइन्स बन्द भएर ग्राउण्डेड भएको भूलले जानकारी दिए । सीता एयरलाइन्सका जहाज छ वर्षभन्दा बढीदेखि ग्राउण्डेड भइरहेका छन् ।

‘ग्राउण्डेड भएका सबै जहाज तथा हेलिकोप्टरले पार्किङ शुल्क तिर्ने गरेका छन्,’ भूलले भने ।

त्यसैगरी, नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले त्रिभुवन विमानस्थलमा चाइनिज जहाजहरू ग्राउण्डेड नभइ बिक्री गर्न राखिएका बताए । बिक्री गर्नका लागि राखिएको जहाजलाई ग्राउण्डेड भन्न नमिल्ने उनको भनाइ छ ।

पौडेलले निगमको ट्वीनटेर जहाज दश वर्षदेखि बिग्रेर ग्राउण्डेड भएको दाबी गरे । मर्मत गर्दा धेरै खर्च लाग्ने भएकाले ग्राउण्डेड गर्नु परिरहेको उनले सुनाए । ‘

ट्वीनटेर जहाज बनाउन १० करोड खर्च लाग्छ । बनाउन भन्दा नयाँ खरिद गर्न सस्तो पर्ने भएकाले मर्मत गर्न सकिएको छैन,’ प्रवक्ता पौडेलले भने,’ जहाज बनाउनका लागि पटक-पटक कमिटी बनिसकेको छ । कमिटी बन्दा पनि जहाज बनाउन सकिएको छैन ।‘

 

 


Author

थप समाचार
x