पर्यटन

नयाँ वर्षअघि ठमेल र दरबार्ग क्षेत्रका व्यवसाय २४ घण्टै खुला हुने

इकागज |
चैत ७, २०८० बुधबार १७:४२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सैँ घन्टा खुला गर्ने तयारी गरेको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सैँ घन्टा खुलाउनका तयारी गरिरहेको छ ।

जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख) भित्रै खुला हुन्छ’, बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’ 


सुरक्षाको मापदण्ड बनाइ सुरक्षाकर्मीको थप गर्ने तयारी भइरहेको बस्नेतको भनाइ छ । रातभर खुला गर्ने चाहने व्यवसायीले २४ घण्टै व्यवसाय गर्न सक्ने उनले बताए ।

‘सरकारको काम व्यवसायीलाई सुरक्षा प्रदान गर्ने हो,’ उनले अगाडि थपे,’ यसका लागि हामीले मापदण्ड बनाउँछौ ।‘  ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।

त्यसैगरी एलओडी क्लबका निर्देशक भुपेन कुँवरले सरकारले २४ घण्टा खुलाउने निर्णयलाई स्वागत गर्न चाहेको बताए । पर्यटकीय क्षेत्रमा व्यवसायीले अब भने सहज ढंगले व्यवसाय गर्न पाउने उनले बताए ।

‘यसमा सरोकारवाला निकायले निश्चित मापदण्ड बनाउनुपर्छ,’ उनले भने,’ व्यवसायीले निश्चित समयसम्म खुला गर्थे भने अब भने त्यसको सीमा सकिएको छ ।‘

मुख्य कुरा सरकारले व्यवसायीको सुरक्षामा ध्यान दिनुपर्ने उनले धारणा राखे । सुरक्षाको प्रत्याभूति भएमा रात्रिकालीन व्यवसाय गर्नलाई सहज हुने उनको भनाइ छ ।

त्यसैगरी, पर्यटकीय क्षेत्रलाई २४ सै घन्टा खोल्न दिनु व्यवसायी , कर्मचारी र ग्राहकहरू सबैका लागी धेरै लाभदायक हुने ठमेलका अर्का व्यवसायी जेन स्पाका सञ्चालक रामदेव महत्तोले बताए । ग्राहक र व्यवसायी सुरक्षित भए रात्रिकालीन व्यवसाय र फड्को मार्न सक्ने उनले धारणा व्यक्त गरे ।

‘अहिले अधिकांश व्यवसाय छिटै बन्द हुँदा राति अवतरण हुने पर्यटक लाई सीमित सेवाहरु उपलब्ध हुन्छ ।  जसले गर्दा धेरै कठिनाइ भोग्नु परेको छ। अब पर्यटकले अबेर राती खाना पाउन सक्छन्,’ उनले भने,’  आपतकालीन प्रयोजनका लागि अत्यावश्यक वस्तु चाहिने व्यक्तिले पसलमा गएर किन्न सक्छन् ।‘

फुर्सदको समय भएका मानिसहरूले मनोरञ्जन गर्न सक्ने महत्तोको भनाइ छ । पर्यटकले खोजी गर्ने पसलहरू बन्द हुँदा नराम्रो सन्देश जाने उनको तर्क छ । ‘पर्यटकले वस्तु खरिद गर्न चाहेमा जुनसुकै समयमा पसल खुला रहेको हुनुपर्छ,’ उनी सुनाउँछन् ।


Author

थप समाचार
x