पर्यटन

नेपालगञ्जको वाटरपार्कमा मोटरबोट सञ्चालन, कति लाग्छ शुल्क ?

इकागज |
चैत १३, २०८० मंगलबार १८:४७ बजे

नेपालगञ्ज- मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । 

परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन गर्ने तयारी गरेको सञ्चालक बि.बि. (बिष्णु) ढकालले बताए ।


खासै प्रयोगमा नआएको नेपालगञ्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर प्रयोग गरेको छ ।

कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेबापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए । मोटरबोट चलाउन करिब २ करोड खर्चिएको ढकाल बताउँछन् ।

कति लाग्छ शुल्क ?

पर्यटकले मोटरबोट चढ्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दूरी सयर गर्न सक्नेछन् । 

के छ आगामी योजना ?

नेपालगन्जको सोही पार्कमा जेटस्कि, ५ वटा पावर स्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यसअघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरत तालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।


Author

थप समाचार
x