पर्यटन

ठमेलमा 'नो हर्न'

प्रहरीकहाँ पुगेर घरधनीको गुनासो : पुलिसको साइरनले सुत्‍न सकेनौँ

ठमेलका घरधनी तथा व्यवसायीले कर्तव्य बिर्सेर आलोचना मात्र गर्ने गरेको आरोप

अतिन आचार्य |
बैशाख ५, २०८१ बुधबार १४:४७ बजे

काठमाडौँ- पर्यटकीय क्षेत्र ठमेलमा एक साताअघि 'नो हर्न' लागू गर्ने व्यवस्था जारी भयो । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गर्‍यो ।

उक्त निर्णय भएसँगै सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने भयो । अहिले ठमेलका विभिन्न चोकमा 'नो हर्न' लेखिएको ब्यानर झुण्ड्याइएको छ । ठमेल पुग्ने जोकोहीले 'नो हर्न' लेखिएको ब्यानर देख्‍न सक्छन् ।


तर, 'नो हर्न' लेखिएको ब्यानरको तल सडकमा निर्वाध रूपमा हर्न बजाउँदै सवारीसाधन सञ्चालन भइरहेका छन् । 'नो हर्न' लागू भए पनि ठमेलका सडकमा मोटरसाइकल र साना सवारीसाधनले हर्न बजाइरहेकै छन् ।

ठमेलका स्थानीय घरधनी र व्यवसायीहरूले 'नो हर्न' यस क्षेत्रमा लागू भए पनि कार्यान्वयनमा नआएको गुनासो गरे । एक घरधनीले यहाँ 'नो हर्न' लागू हुनु स्वागतयोग्य कदम भए पनि कार्यान्वयन हुन नसकेको बताए ।

'दिनको समयमा भन्दा रातमा सवारीसाधनको बढी आवाज आउने गरेको छ,' उनले भने, 'अगाडि साना सवारीसाधनको जाम हुना साथ पछाडिका सवारीसाधनले हर्न बजाउन थालिहाल्छन् ।'

मोटरसाइकल र साना सवारीसाधन तथा टयाक्सीले हर्न बजाउन नछोडेको उनको भनाइ छ । हर्न बजाउनेको अनुगमन गर्न नसक्दा 'नो हर्न' लागू हुन नसकेको धारणा उनले व्यक्त गरे   ।

राति प्रहरीको भ्यानबाट निस्कने साइरनले यहाँ सुत्‍न नसकिरहेको घरधनी बताउँछन् । 'प्रहरीको भ्यान​ले साइरन नबजाइ ओहोरदोहोर गरेको भए हामी जस्ता घरधनीको निन्द्रा रातिमा खलबलिँदैन थियो होला,' उनले सुनाए ।

नरसिंह चोकमा सबैभन्दा बढी सवारीसाधनको हर्न आउने गरेको एक पस्मिना व्यवसायीको भनाइ छ । नरसिंह चोकमा कुनै पनि सवारीसाधन रोक्न दिन नहुने उनले बताए ।

'साना-साना टयाक्सी रोकिराख्दा ट्राफिक जाम हुने गरेको छ,' उनले भने,' पहिलोपटक ठमेल प्रवेश गर्ने सवारीसाधनले हर्न बजाउने गरेका छन् ।'

त्यसो त ठमेल पर्यटकीय क्षेत्र भएकाले होटल तथा रेष्टुरेण्टको सवारीसाधनहरू बढी सञ्चालनमा आउँछन् । होटलमा पाहुना ल्याउने र सामान डेलिभरी गर्ने सवारीसाधनहरू उत्तिकै जाने गरेका छन् ।

साँझको समयमा सवारीसाधनको चाप बढी हुनुले पनि हर्न बज्ने समस्या रहेको ती व्यवसायीको भनाइ छ । सडकमा सवारीसाधन रोकेर बस्न नदिने व्यवस्था गरेमा सवारी चापको समस्यामा पनि कमी आउने उनको भनाइ छ ।

ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले ठमेल क्षेत्रमा हर्न बजाउने १० देखि १५ जनालाई दैनिक कारबाही गरिएको बताए । 'नो हर्न' को व्यवस्था कार्यान्वयन गराउन ट्राफिक प्रहरी लागिपरिरहेको उनको भनाइ छ ।

उनका अनुसार नो हर्नको पहिलोपटकको जरिवाना पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक १५ सय रुपैयाँ छ ।

'सवारीसाधनको ट्राफिक जाम हुँदा हामी पुगेर पनि हटाउने गरेका छौं, आवाज निकालेका साधन भेटेमा तुरुन्त कारबाही पनि गरिहाल्छौं,' उनले भने,' यहाँका स्थानीयहरू प्रहरीको साइरनले हामीलाई डिस्टर्ब भयो भन्दै आइरहनु भएको छ । रातिको समयमा ट्राफिक जाम भयो भनेर खबर आउँछ जाँदा साइरन बजाउनै परो ।'

ट्राफिक महाशाखाको सेड्युलअनुसार चेकिङ गरिरहेको गुरुङले जानकारी दिए । बाटामा सवारीसाधन चलाउँदा हर्न बजाएकोमा तत्कालै कारबाही गर्ने गरिएको उनले बताए । अहिलेसम्म तीव्र गतिमा चलिरहेका सवारीसाधन भने कारबाहीमा नपरेको उनको भनाइ छ ।

काठमाडौँ उपत्यकामा पाँच वर्षअघिदेखि नै 'नो हर्न' लागू भएको थियो । केही सातादेखि विशेषगरी पर्यटकीय क्षेत्रलाई तोकेर हर्न निषेधित क्षेत्र तोकिएको छ ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्‍वर शर्माले 'नो हर्न' लागू भएपछि आवाज नियन्त्रणमा आएको बताए । सवारीसाधन निस्कने आवाज कमी आएको र तीव्र गतिमा सञ्चालनमा हुने सवारीसाधनसमेत नियन्त्रणमा आएको उनले बताए ।

ठमेलमा प्रवेश गर्ने कुनै पनि सवारीसाधनले हर्न बजाउन नपाउने शर्माले बताए । प्रहरीको सवारीसाधनलाई साइरन बजाउन नदिएको उनले दाबी गरे ।

यदि कसैले साइरन वा हर्न बजाएमा रेकर्ड गरेर प्रहरी वा ठमेल पर्यटन विकास परिषदको कार्यालयमा बुझाइदिन शर्माले आग्रह गरे । ठमेललाई पूर्ण रूपमा सवारीसाधन तथा अन्य वस्तुको ध्वनि प्रदूषणमुक्त बनाउन अभियान थालनी गरिएको उनको भनाइ छ ।

ठमेलका घरधनी तथा व्यवसायीले कर्तव्य बिर्सेर आलोचना मात्र गर्ने गरेको र विभिन्न समयमा हुने सफाइ कार्यक्रममा सहभागी नजनाउने गरेको उनले बताए  ।

ठमेलका घरधनी तथा व्यवसायीहरू सफाइ अभियानमा र सामूहिक सुरक्षा अनुगमनमा समेत सहभागी नभएर तथा कर्तव्य भुलेर आलोचना मात्र गर्ने गरेको शर्माले उल्लेख गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x