पर्यटन

ठमेल पर्यटन परिषद् सुरक्षा गार्डको नाममा ‘सहकारी’ जस्तै पैसा उठाउँदै

'विधानले पैसा उठाउँ भन्दैन, आम्दानीको स्रोत खोजिनुपर्छ'

अतिन आचार्य |
कात्तिक १२, २०८१ सोमबार १४:१ बजे

काठमाडौँ- केही दिनअघि ठमेल पर्यटन विकास परिषद्ले एउटा अनुरोध गर्‍यो । ठमेलका घरधनी तथा व्यवसायीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले अनुरोध गरेको थियो ।

'पर्यटकीय ठमेल क्षेत्रमा सुरक्षाकर्मी राखी व्यवस्थित गर्दै आएका छौ । उक्त कामलाई निरन्तरता दिन यहाँहरूको नैतिक, भौतिक र आर्थिक सहयोगको आवश्यकता भएको हुनाले ठमेल पर्यटन विकास परिषदबाट यहाँहरूको घर तथा व्यवसाय स्थलमा सहयोगको अपेक्षा सहित आर्थिक संकलन गर्न आउने जानकारी गराउँदछौ,’ अनुरोधमा उल्लेख थियो ।


परिषद्ले ठमेल क्षेत्रलाई सभ्य र सुरक्षित बनाउन भनेर गत साउन १५ देखि २० जना सुरक्षागार्ड राख्‍न सुरु गरेको थियो । अनैतिक क्रियाकलाप, विदेशी पर्यटकलाई देख्‍नसाथ पैसा माग्ने, पसल अगाडि खुला रुपमा सामग्री बिक्री गर्नेलाई प्रतिबन्ध गराउन सुरक्षा गार्ड परिचालित गरेको छ ।

अहिले दिनमा १२ र रातमा ८ जना सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा गार्ड परिचालित छन् । ठमेलको विभिन्न १२ वटा नाकामा सुरक्षागार्ड परिचालन भएका छन् । परिषद्ले सुरक्षा गार्डका लागि भनेर ठमेलका व्यवसायी तथा घरपेटीसँग पैसा उठाउन थालेको छ । परिषद्ले पैसाको रसिद थमाएर पैसा उठाउन सुरु गरेपछि उनीहरूले गुनासो गरेका हुन् ।

साना, मध्यम तथा ठूला व्यवसायीको वर्गीकरण गरेर शूल्क लिन थालेको छ । तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँ उठाउने गरेको पाइएको छ । परिषद्को सस्तो लोकप्रियता तथा व्यवसायीलाई आर्थिक भार थोपरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।  यतिखेर सहकारीले जस्तै पासबुक बनाएर परिषद्ले पैसा उठाउन थालेको छ । पासबुक बोकेर परिषद्का प्रतिनिधि व्यवसायीका सामुन्ने पुग्ने गरेका छन् ।

अहिले महिनैपिच्छे परिषद्का प्रतिनिधि सुरक्षा गार्ड शुल्क संकलन गर्न आइरहेको एक व्यवसायीले बताए । एक दशकदेखि पर्यटकीय क्षेत्र ठमेलमा व्यवसाय गरिरहेका उनले पहिलो पटक सुरक्षाको नाममा पैसा बुझाउनु परेको गुनासो गरे ।

उनका अनुसार पसलमा आएर रसिद र पासबुक दिएका छन् । ‘हामीसँग तीन सय रुपैयाँ उठाएका छन्,’ उनले भने । ‘पर्यटकीय क्षेत्र सुरक्षित र आकर्षक हुनु राम्रो हो । सुरक्षाको नाममा पैसा संकलन गर्नु राम्रो होइन,’ उनले भने,’ मुख्य चोकदेखि भित्रपट्टि मेरो व्यवसाय छ । ठमेल परिषद्को सुरक्षा गार्डले मलाई के सुरक्षा दिन्छ ? उनीहरूले केही गर्न पाउने होइनन् ।‘

सुरक्षा गर्न भनेर पर्यटकीय क्षेत्र ठमेलमा महानगर प्रहरी र नेपाल प्रहरी रहेको उनको बुझाइ छ । यहाँका घरधनी र व्यवसायीले केही परेमा नेपाल प्रहरीलाई तुरुन्त फोन गर्ने गरेको उनले बताए ।

ठमेल पर्यटन विकास परिषद्का  पूर्व अध्यक्ष भवीश्वर शर्माले संस्थागत रुपमा पैसा उठाउन नमिल्ने बताए । ठमेल पर्यटन परिषद भनेको ठूलो गरिमा बोकेको संस्था रहेकाले आम्दानीको स्रोत खोज गरेर आम्दानी बढाउनु पर्ने उनले सुझाव दिए ।

‘परिषद्को विधानले पनि पैसा उठाउन नमिल्ने व्यवस्था गरेको छ । यो कार्य विधान विपरीत रहेको छ,’  उनले भने,’ यस्ता कामहरू विवादित बन्न सक्ने भएकाले संस्थाको छविमा असर पर्न सक्छ । व्यवसायी तथा घरधनी संस्थाप्रति रुष्ट बन्न सक्ने अवस्था आउँछ ।‘

सुरक्षाको समस्या भएमा सुरक्षा निकायसँग समन्वय गर्न शर्माले सुझाव दिए । सोह्रखुट्टे र दरबारमार्गले विशेष सुरक्षा दिइरहेको उनको भनाइ छ । ‘ठमेलमा २४ घण्टा सुरक्षाकर्मी परिचालित छन् । केही भएमा तुरुन्त खबर गरेर समस्याको समाधान गर्न पहल गरिनुपर्छ,’ शर्माले अगाडि थपे ।

त्यसैगरी ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले जबर्जस्ती गरेर नभइ स्वेच्छाले दिनेसँग मात्र पैसा माग गरिएको उनले दाबी गरे । बैंकिङ् शैलीमा परिषद्ले पैसा उठाइरहेको उनको भनाइ छ ।

‘परिषद्ले पासबुक र रसिद दिएर पैसा माग गरिएको छ,’ अध्यक्ष अधिकारीले भने,’ सुरक्षा गार्ड राख्नका लागि पैसा मागेका हौ । ठमेललाई सुरक्षित गन्तव्य बनाउन र यहाँको वातावरणलाई व्यवस्थित तथा अनुशासन बनाउन पनि सुरक्षा गार्डले सहयोग गर्ने छन् ।‘

पैसा दिन्न भन्ने व्यवसायी तथा घरधनी पनि रहेको उनले सुनाए । ठमेल पर्यटन परिषद्का प्रतिनिधिले कसैसँग जबर्जस्ती गरेर रकम नमागेको उनले बताए ।

सुरक्षा गार्ड राख्दा यसका सकारात्मक पक्ष धेरै रहेको अध्यक्ष अधिकारीले बताए । अवाञ्छित क्रियाकलाप हुन लागेमा नेपाल प्रहरीलाई तुरुन्त खबर गरिदिने उनले बताए ।

परिषद्ले ठमेल प्रवेश गर्ने १२ वटा नाकामा सुरक्षा गार्ड राखेको छ । सुरक्षा गार्ड राखेपछि पर्यटकलाई दुःख दिने मानिस छैनन् र अवाञ्छित गतिविधि पनि कम भएको उनले विश्वास व्यक्त गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x