पर्यटन

व्यवसायीले सहयोग नगर्दा ठमेल पर्यटन परिषद्ले सुरक्षा गार्ड हटायो

नेपाल प्रहरी भन्छः ठमेलमा सुरक्षा प्रदान गर्न कुनै कमी राखेका छैनौँ

अतिन आचार्य |
पुस ११, २०८१ बिहीबार १५:५५ बजे

काठमाडौँ - पर्यटकीय क्षेत्र ठमेलमा राखिएको सुरक्षा ‘गार्ड’ चार महिनामा ठमेल पर्यटन विकास परिषद्ले हटाएको पाइएको छ । व्यवसायी तथा घरधनीले सहयोग नगरेको भन्दै विकास परिषद्ले सुरक्षा गार्ड हटाएको हो ।

गत मङ्सिर १५ गतेबाट ठमेल क्षेत्रबाट निजी कम्पनीका सुरक्षा गार्ड हटाइएको परिषद्का सचिव पुण्यराम लागेजुले जानकारी दिए । उनले पर्यटकीय क्षेत्र ठमेललाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा गार्ड राखिएको भए पनि लामो समयसम्म राख्न नसिकएको बताए ।


‘बाह्य तथा आन्तरिक पर्यटकलाई ठमेलमा सुरक्षित वातावरणमा घुमफिर गर्न पाइन्छ भन्ने उद्देश्यसाथ सुरक्षा गार्ड राखिएको थियो,’ उनले अगाडि थपे ।

‘ठमेलका घरधनी तथा व्यवसायीले सुरुदेखि सुरक्षागार्डको बारेमा राम्रो धारणा बनाउन सकेका थिएनन्,’ सचिव लागेजुले भने,’ केही समय विकास परिषद्ले सेवा शुल्क पनि संकलन गरेको थियो । सुरक्षा गार्डलाई पारिश्रमिक दिन सकिएन ।‘

ठमेललाई व्यवस्थित तथा समृद्ध बनाउन व्यवसायी र घरधनी नलागेको लागेजुको भनाइ छ । सुरक्षा गार्ड राख्न थालेपछि यहाँ माग्ने र चोरीको संख्या घटेको थियो,’ उनले भने ।

ठमेल परिषद्ले विभिन्न नाकामा सुरक्षा गार्ड तैनाथ गरिएको थियो । गार्ड राखेपछि ठमेलमा पर्यटकलाई दुःख दिने मानिसको कमी आएको उनको विश्वास छ । चोरी घटना घटेको पर्यटकलाई मागेर हैरानी बनाउने बालबालिका तथा मानिसको संख्या उल्लेख्य मात्रामा घटेको थियो ।

सुरक्षा गार्ड हटाउनसाथ माग्नेको संख्या र चोरी हुने क्रम बढेको उनले बताए । हो-हल्ला तथा अवाञ्छित गतिविधि गर्नेहरूको संख्या बढेको लागेजुले सुनाए ।

 काठमाडौँ महानगरपालिकाले ठमेलमा शूल्क लिएर सुरक्षा गार्ड राख्‍न नपाइने बताएपछि गार्ड हटाइएको परिषद्का एक सदस्यले बताएका छन् । शूल्क लिएर सुरक्षा गार्ड राखेको थाहा पाएपछि महानगरले सरोकार राखेको थियो,’ ती सदस्यले इकागजसँग भने ।

परिषद्ले ठमेल क्षेत्रलाई सभ्य र सुरक्षित बनाउन भनेर गत साउन १५ देखि २० जना सुरक्षागार्ड राखेको थियो । अनैतिक क्रियाकलाप, विदेशी पर्यटकलाई देख्‍नसाथ पैसा माग्ने, पसल अगाडि खुला रुपमा सामग्री बिक्री गर्नेलाई प्रतिबन्ध गराउन सुरक्षा गार्ड परिचालित गरेको थियो ।

दिनमा १२ र रातमा ८ जना सुरक्षा गार्ड परिचालित थिए । विभिन्न १२ वटा नाकामा सुरक्षागार्ड परिचालन थिए ।

'ठमेलमा डेडिकेटेड नगर प्रहरी राखेका छौँ'

त्यसैगरी, महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले सुरक्षा गार्ड राख्न ठमेलका व्यापारी र घरधनीसँग ठमेल पर्यटन विकास परिषद्ले पैसा संकलन गरेको गुनासो आएपछि सोधपुछ गरिएको बताए ।

‘ गुनासो आएपछि परिषद्लाई कुन ऐन नियममा टेकेर व्यवसायी तथा घरधनी पैसा संकलन गरिरहेका छौ भनेर प्रश्न गरेका थियौँ,’ नगरप्रहरी प्रमुख पाण्डेले भने,’ अहिले त्यहाँ गार्ड राखिएको छ या छैन त्यो हामीलाई थाहा छैन ।‘

परिषद्ले साना, मध्यम तथा ठूला व्यवसायीको वर्गीकरण गरेर शुल्क लिएको थियो। तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँ संकलन गरेको थियो ।

पर्यटकीय क्षेत्र ठमेलबाट व्यवसायीसँग महानगरले मनोरञ्जन कर पनि लिने गरेको छ त्यहाँको सुरक्षा गर्नु महानगरको दायित्व होइन र? भन्ने प्रश्नमा पाण्डेले भने,’ हामीले त्यहीँ भएर ठमेलमा २४ घण्टा नगर प्रहरी खटाएका छौ । डेडिकेटेड नगर प्रहरी राखेका छौ । छिन-छिनमा वरिपरि नगरप्रहरी घुमिरहन्छन् । रातको समयमा अझ नगरप्रहरीले गाडीसहित प्रेटोलिङ गर्ने गरेका छन् ।‘

नगरप्रहरीले पर्यटकलाई दुःख दिने मानिसलाई र सडकमा बसेर व्यापार गर्नेलाई हटाउने गरेको तथा नियन्त्रणमा लिने गरेको पाण्डेको भनाइ छ । ठमेलमा ६ जना नगर प्रहरी खटाइएको उनले जानकारी दिए ।

ठमेललाई सुरक्षा प्रदान गर्न केन्द्रित भइ जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुगमन समिति बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी र काठमाडौँ महानगरको नगर प्रहरी सम्मिलित एक समिति बनाएर अनुगमन गरिरहेको छ ।

ठमेलका लागि नगर प्रहरी पर्याप्त रहेको उनको भनाइ छ । ठमेलमा मात्र नभइ अन्य भागमा पनि प्रहरी खटाउनु परिरहेकाले त्यहाँ ६ जना खटाइएको उनले उल्लेख गरे । उनका अनुसार त्यहाँ २४ घण्टा नेपाल प्रहरीको उपस्थिति रहने भएकाले सुरक्षाको दृष्टिकोणले मजबुत रहेको मान्न सकिन्छ ।

'ठमेलको सुरक्षा दिन प्रहरीले कमी गरेको छैन' 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले ठमेललाई २४ घण्टा खुला गरिएपछि सुरक्षा दिनका लागि नेपाल प्रहरी सधैँ तयार रहेको बताए । त्यस क्षेत्रको सुरक्षा चासो लिएर अनुगमन गर्ने  तथा सीसीटीभीले गरिरहेको र प्रहरीको संख्या पर्याप्त मात्रामा रहेको उनले बताएका छन् ।

‘ठमेलमा पहिलेको तुलनामा अहिले सुरक्षा व्यवस्था मजबुत हुँदै गइरहेको छ,’  प्रवक्ता अधिकारीले भने,’ अप्रिय घटना पनि घटेका छैनन् ।‘ सडकमा निस्केर पर्यटकलाई दुःख दिनेलाई महानगर प्रहरीले नियन्त्रणमा लिनुपर्ने प्रवक्ता अधिकारीले उल्लेख गरे ।

ठमेलमा सुरक्षा प्रदान गर्न नेपाल प्रहरीले कुनै कमी नराखेको उनले प्रस्ट पारे ।

यो पनि

ठमेल पर्यटन परिषद् सुरक्षा गार्डको नाममा ‘सहकारी’ जस्तै पैसा उठाउँदै


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x