पर्यटन

जंगल सफारीमा कडाई गर्ने पर्यटन बोर्डको तयारी

इकागज |
माघ २५, २०७७ आइतबार ६:२९ बजे

बर्दिया : नेपाल पर्यटन बोर्डले जंगल सफारीमा कडाई गर्ने तयारी गरेको छ । लोपोन्मुख वन्जयन्तुको संरक्षण र पर्यावरण जोगाउन जंगल सफारीमा कडाई गर्ने तयारी बोर्डले गरेको हो ।

बर्दियाको ठाकुरद्धारामा तीन दिने ‘टुर दी ठाकुरद्धारा’ कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीइओ डा. धनन्जय रेग्मीले लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्न जंगल सफारीमा कडाई गरिने बताएका हुन् ।


‘चितवन र बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारीमा कडाई गर्नुपर्ने आवाज उठेको धेरै  भयो’ बर्दिया राष्ट्रिय निकुञ्‍ज सफारी गरेपछि बोर्डका सीइओ रेग्मीले भने, ‘वन्यजन्तुबाट जोगिन र उनीहरूको संरक्षण गर्न अब कडाई गर्नुपर्ने अवस्था आएको छ ।’

जथाभावी जंगल सफारी गर्दा वन्यजन्तुको आक्रमणमा परिने डर बढेको पनि उनले बताए । साथै उनले जंगल सफारीका क्रममा ध्वनी र वायु प्रदुषण बढेर वन्यजन्तु संरक्षणमा चुनौति थपिएको बताए ।

उनले सफारीमा अहिले प्रयोग भइरहेका जीप हटाएर सिसा भएको इलेक्ट्रिक गाडीको प्रयोग गर्नुपर्ने बताए । यसका लागि छलफल भइरहेको र चाँडै जंगल सफारीमा प्रयोग हुने इलेक्ट्रिक गाडी ल्याउने तयारी भइरहेको उनले बताए ।

‘सफारी जीपले गर्दा हल्ला बढेको छ । वन्यजन्तु संरक्षणमा चुनौति थपिएको छ । यसका  लागि इलेक्ट्रिक गाडी प्रयोगमा ल्याउनुपर्छ’ उनले भने, ‘बोर्डले यसबारेमा पर्यटन व्यवसायीसँग छलफल गरेर निर्णय गर्छ ।’


इलेक्ट्रिक गाडी र पर्यटक बस सञ्चालनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल टिबानले लबिङ गर्दै आएको छ ।
 


Author

थप समाचार
x