पर्यटन

नाट्टाले नेपालगञ्ज-ठाकुरद्वारामा पर्यटक बस चलाउँदै

इकागज |
फागुन ११, २०७७ ९:४७ बजे

काठमाडौँ : आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म पर्यटक बस चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँकेले नेपालगञ्ज-ठाकुराद्वारा रुटमा पर्यटक बस चलाउने भएको हो ।

यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सम्झौता गर्न लागिएको छ । स्वीफ्ट होलिडे कम्पनीले उपलब्ध गराएको बस नाट्टा बाँकेले सञ्चालन गर्न लागेको हो । नेपालगञ्जमा टिकट बुकिङ काउन्टर राखेर पहिलो चरणमा शुक्रबारदेखि हप्तामा दुई दिन बस चलाउने तयारी अन्तिम चरणमा पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनका अनुसार नेपालगञ्जबाट सुरु हुने यात्रा बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारासम्म पुग्नेछ । हरियो नम्बर प्लेटको पर्यटक बसको भाडा तय हुन बाँकी छ । शुक्रबार नेपालगञ्जमा कार्यक्रम गरेर नेपालगञ्ज-ठाकुरद्वारा रुटमा पर्यटक बस सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि पर्यटक बस सञ्चालन गर्न लागिएको हो । यो रुटमा सञ्चालन भएपछि नेपालगञ्जदेखि सुर्खेतको देउतीबज्यै, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, कपिलवस्तुको तिलौराकोट लगायतका ठाउँमा पनि पर्यटक बस सञ्चालन गर्ने तयारी भएको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताए ।



Author

थप समाचार