सप्ताहन्त

‘ऐया माया’को कथार्सिस

चे शंकर |
असार २४, २०७९ शुक्रबार ७:९ बजे

कुरा 
उडी छुनु चन्द्र एक भनेको माथि देखिएको शीतलु चन्द्रमामा पुग्नु हो लाग्थ्यो, सानो हुँदा । रिकापीमा पानी हालेर चन्द्रमालाई नचाउँदै हिँड्दा खुब रमाइलो लाग्थ्यो,  बालापनमा । तर आजकाल उडी छुनु चन्द्रभन्दा पनि आफैंभित्रको चन्द्रमा खोज्नुपर्छ भन्‍ने कुराले खै कसो कसो तान्छ । हाम्रो शिक्षा व्यवस्थाले हामीलाई हुत्यायो, सहरसम्म । गाउँमा हुर्कनु, माटोसँग खेल्नु, आफू हुनु त छँदै थियो । सहरमा आफू हुँदै नभएको ठाउँमा आफूलाई खोज्नुको सकस कम्ता दुःखदायी हुँदो रैनछ । मलाई अहिले लाग्छ म आफू, न सहरको भए न गाउँको । कलाले सायद यो दोधारलाई नजिकबाट चिन्‍न, अनुभव गर्न र देख्न सहयोग गर्छ होला ।

नाटक बनेर दर्शकको बीचसम्म पुग्दा नाटकमा संलग्न कलाकार, प्राविधिक र निर्देशक सबैले एउटा अजीवको यात्रा गरेका हुन्छन् । यात्रा मैले यो नै नाटक किन गर्नेदेखि लिएर, आफ्ना अनुभूति, अनुभव र विचारहरूसँग पल्टँदै पल्टँदै एउटा मात्रै गोरेटो हुँदै पक्कै जाँदैन । फरक–फरक समाजमा हुर्किएका हामी सबैको आफ्नो बेग्लाबेग्लै आस्था, विश्वास र संस्कार छ । यो विश्वास, आस्था र संस्कारले नै हामीलाई हामी बनाउँछ तर समाजमा कत्ति कुराहरू छन् जसले हामीलाई प्रगतिशील र आफू भएको महसुस गर्न दिँदैन । कलाकारहरूको भाषा सायद अपनत्व खोज्नु हो । अपनत्व पनि युनिभर्सल्ली जोडिने भाषामा/चित्रमा  खोज्‍नु । तब मात्र यो भाषाले हामी बसेको समाज र व्यवस्थालाई झक्झक्याउँछ । सँगै अडियन्सलाई उनीहरूको सेंसेस मेमोरिजले तरंगित बनाउँछ । यसैले न नाटक अन्य कलाको माध्यम भन्दा जीवित हुन्छ । 


सुदाम र स्मृति
एकलव्यको अन्तिम टेप गरिरहँदा होस् या म्याड म्यान्स डायरी, सुदाम र मेरो एउटा ठाउँमा पुगेर ‘अँ होला नि त’ भन्‍ने निष्कर्ष निस्कन्थ्यो । हामी छलफल धेरै गर्थ्यौँ । हेर्ने, सुन्‍ने र आफ्नो मेमोरिजहरूलाई कसरी काममा जोड्ने भन्‍ने कुराहरू खोज्थ्यौँ । यसले मलाई हामी काम गरिरहँदा धेरै सिक्ने मौका मिल्यो । सुदामले भनेको केही कुराहरू बुझ्न मलाई कयौं दिन लाग्थ्यो । अनि फेरि हामी भेट्दा त्यही कुरामा अल्झिन्थ्यौँ । म मेरा नजिकको मान्छे भेट्दा त्यसै फुरुङ्ग हुन्छु, सेफ फिल हुन्छ । अनि कामहरू यो गर्न मन छ, यो गरौँ, त्यो गरौँ । मैले सुदामको मन पनि दुखाएको हुँला भनेको काम नगरेर, बेलाबेला । सरी डार्लिङ । 

साल बिर्सिएँ तर मलाई हामी पहिलो पटक वसन्तपुरको अर्गानिक क्याफेमा भेटेको याद छ । मण्डला वरपर, फेस्टिभल, एक्जिबिसनतिर देखादेख त हुने तर बोलचाल हुन्थेन । हलो हाइ– सक्कियो । हामी भेटिएपछि गफिनु, जान लागेको ठाउँमा नपुग्नु, कफिसप, बारमा अल्झिनु  यस्तै यस्तै कुराहरूले हाम्रो गफ र भेटलाई सुन्दर बनाउँथ्यो । सुदाम कम बोल्ने, मलाई सानो सानो कुराले उत्साहित बनाउने । म धेर बोल्थेँ । सहरमा नाटक, कामबारे कुरा गर्ने मान्छे नै हुन्थेनन् । यो यात्राले हामीलाई कहिले आर्ट ग्यालरी, म्युजिक फेस्टिभल धेरै भाइभीङ ठाउँहरूमा डोर्याउने गर्थ्यो । 

म प्रायःजस्तो फिलोसफी, अन्य पढेका पुस्तकबाट प्रेरित हुन्थेँ र कथाहरू पनि त्यस्तै मन पर्थ्यो, पर्छ । म जसरी हुर्किएँ साथी कम थिए, नजिकका । धेरै समय किताब, म्युजिक, आफूलाई तान्‍ने फिल्म यस्तै यस्तै कुराहरूमा बित्यो सायद त्यो समयको प्रभाव बसिरहेर होला । एकदिन सुदामले मलाई भनेको याद छ, ‘चे हामी कुरा गर्दा सामान्य मान्छेले झैँ हाम्रो जीवनलाई हेर्दो रैनछौँ, हामीले गर्ने गफ र हाम्रै जीवनको कुरा पनि अलिक कताकता गए जस्तो छैन ? हामीले हाम्रो परिवार के गर्दै छ, आफ्ना मान्छेहरू के गर्दै छन्, बुझ्नु पर्दछ, यसले हलुका बनाउँछ ।’ 

सुदाम तिमीले गर्ने काम र सोचले मलाई जहिल्यै पनि उत्साहित बनाउने गर्छ । कारण तिम्रो काम नयाँ हुन्छ, अर्ग्यानिक हुन्छ । प्रगतिशील हुन्छ र त्यसले मनमा छुन्छ । सेन्सेसहरू तरंगित हुन्छन् । तिमीले गरेको पाँच र अहिलेको ऐया माया नेपाली रंगमञ्चका लागि, कलाकारहरूका लागि प्रेरणा हुन् । तिम्रो समाजलाई वस्तुगत भएर हेर्ने आँखा र विश्लेषण गर्ने सोच एकदमै प्रगतिशील छ । त्यसैले तिमीले सृजना गर्ने काम समय सापेक्ष हुन्छ । तिमीले प्रयोग गर्ने भाषा, शैली र काव्यको लयलाई रंगमञ्चले तानिराखोस् । रंगमञ्चसम्म हामी सबैलाई त्यो तरङ्ग र स्मृतिले तानिराख्छ । 

कौशीको कौशी 
कौशी मेरा लागि घर र परिवारभन्दा माथि छ । कौशीको कौशीमा चराहरू यताउता गर्छन्- भँगेरा, परेवा, काग थुप्रै  । हलुका मन भएकाहरू बसेर गफगाफ गर्छन् । कौशीमा नाटक हेर्न आउनुभएका दर्शकहरू अस्ताउँदै गरेको घामसँग तस्बिर खिच्न कौशीमा पुग्छन् । कौशीबाट चन्द्रागिरिको डाँडामा खेल्दै गरेका बादलहरू र सहरको अव्यवस्था पनि छर्लंग देखिन्छ । कौशी स्वतन्त्र रुपमा काम गर्ने कलाकारहरूको गुँड हो, कौशीको कौशीमा पुग्ने जो कसैलाई पनि लाग्छ, म आफ्नो ठाउँमा छु ।  

नेपाली रंगमञ्च जसरी सुरु भयो, विकास भयो हामी सबै ती मानिसहरूप्रति कृतज्ञ छौँ । तर सधैँभरि उज्यालो हुँदैन र अँध्यारो पनि । अहिले जस्तो रंगमञ्च हामीले देखिरहेका छौँ सायद धेरै विकसित हुन सक्थ्यो । हाम्रा रंगमञ्चका मानिसहरू स्वार्थी नभइदिएको भए । आरोप र अरुलाई देखाएर नपन्छिदिएको भए । कलाको भाषा बोल्ने मान्छे कसरी छुद्र हुन सक्छ ? कसरी आफ्नै मान्छेहरूलाई विषवमन गर्न सक्छ ? नाटक र साहित्यलाई प्रेम गर्ने मान्छेले कसरी भन्‍न सक्छ मलाई त्यो नाटक हेर्नुछैन, त्यो ठाउँले अफ्ठेरो बनाउँछ । साँची हामी नाटकलाई माया गर्छौं भने केले रोकेको छ, अफ्ठेरो लागेको विषयमा कुरा गर्न ? कलाकारिता त एउटा सिद्धान्तको बाटो हो जस्तो लाग्छ मलाई । सिद्धान्तसाथ काम गर्नु नै सायद हाम्रो धर्म हो ।   

मानसिक रुपले विकृत, भ्रष्ट र विकासे रंगमञ्च गर्नेहरूले जे भनून्, त्यो सत्य होइन । तल बसेर पो माथिको कुरा देखिँदैन कौशीमा बसेपछि त लुकाउने कुरा के नै पो हुन्छ र हैन ? फेरि सबैसँग देख्ने आँखा छन्, अझै देख्ने भित्री आँखा छन् । एउटा घेराभित्र बसेर, एनजीओ/आइएनजीओको खुरापाती गरेर रंगमञ्च पक्कै बन्दैन । अहिले हामीले हेर्ने नाटकहरू एक–दुई नाटकघर छाडेर हेर्दा हुन्छ, ती काम सिद्धान्तका साथ गरिएका छैनन् र  सिद्धान्तका साथ सिक्ने मानिसहरूलाई सिकाएका छैनन् ।  

ऐया माया 
खालि स्टेजमा कलाकारहरू आफ्नो तयारी गरिरहँदा मभित्र उत्सुकता भरिँदै थियो । म आफूलाई कुनै कुराले पनि अकुपाई हुन नदिई सिटमा बसेको थिएँ । सुदामले भनेको एउटा कुरा फ्याट्ट आयो ‘यसपालि मलाई नाटक बनाउँदा धेर डर लागेको छ ।’ मनमनै भने, ‘ह्या केको डर, इट्स ओके ।’ नाटक सुरु भयो । अब म डराउन थालेँ, नाटकको भाषा र शिल्पले । नाटक हेरिरहँदा मेरो दिमागमा कुनै कुरा अघि जसरी फ्याट्ट आएन । 

कलाकारहरूको हरेक मुभमेन्ट, एक्सप्रेसनले मलाई, स्टेजमै इमोसनल मेमोरिजतिर लागिरहेको थियो तर मैले बाहिरको इमेज, आवाज, स्थान कल्पना गरेर होइन । कलाकार, साउन्ड, म्युजिक, गीत, एक्प्रेसनको डोरीले मलाई तानिरह्यो र कहिले अघि झैँ डर, आँसु, हाँसो, रिग्रेट, विद्रोह/यस्तै यस्तै कथार्सिसले नाटकको अन्तिम कथार्सिससम्म डोहोर्यायो । नाटक सकियो बोल्न मन थिएन ।

माथि कौशीमा गए । सुदाम अरु दुई जना मानिसहरूसँग कुरा गर्दै थियो, सुदामले भन्यो, ‘नाटक हेर्‍यौ ?’ म फिस्स हाँसेर भनँे, ‘मैले नाटक हेर्न सकिनँ, अनुभूत गरेँ, आइ लिभ्ड विथ इट’ सुदाम कन्फ्युज भयो र मलाई हेर्यो । म, तिमी उहाँहरूसँग कुरा सक अनि बोलौँला भनेर तर्किएँ ।  

नाटकको हाम्रो नेपाली न्यारेटिभ स्पष्ट नभइरहेको बेला सुदामको यो नाटक एउटा प्रयोग हो । सुदाम अघिको कुराकानीबाट फ्री भयो । हामी एकैछिन गफियौँ । मलाई नाटक ब्रिटिस निर्देशक पिटर ब्रुकको ‘एम्टी स्पेस’, पोलिस निर्देशक जेर्जी ग्रोटोव्स्कीको ‘पोवर थिएटर’को स्पष्ट उदाहरण लागिरहेको थियो । सुदामले ‘पिलोबोलुस’ र ‘ओहाद नहारिन’लगायत आफूलाई मन पर्ने र केही मुभमेन्ट र डान्ससँग काम गर्ने कम्पनी र आर्टिस्टहरूको कामहरूका कुरा पनि उल्लेख गर्‍यो ।

डायरीको प्रयोग, डोरी र पात्रहरूको स्विच हुने समय, नाटकमा धेरै कुराहरू छन् जो चित्र बनेर लामो समयसम्म बसिराख्छन् । त्यसको लागि त नाटक हामी सबैले हेर्नुपर्‍यो, हैन ?

‘तिमीले नाटकमा आफूलाई पायौ ?’ सुदामले भन्यो । म अक्मकाएँ र मुस्कुराएँ । ‘अँ मैले आफूलाई भेटेँ, रोएँ पनि’ सुदाम मलाई हेरेर मुस्कुरायो र भन्यो ‘यही सुन्‍नु थियो, मलाई डर यसकारण लागेको थियो, मान्छेले कन्‍नेक्ट गर्लान् कि नाइँ ?’ सुदाम मुस्कुराउँदै फेरि थप्यो, ‘मलाई यहाँ बस्न मन पर्छ र नाटक हेरी सकेपछि यहाँ उक्लने दर्शकको शारीरिक भाषा (नाटक हेरिसकेका) बारे यसो बुझ्ने कोसिस गर्दै पनि छु ।’ तिम्रो कामप्रतिको सिद्धान्तप्रति माया ।  

नाटकमा कलाकारहरूले एक्सप्रेस गरेका इमोसन, इमेज र मिनिमल प्रप्स, लाइट, प्रप्सको रंग, कस्ट्युम र कथाहरू एकदमै सिंक भएको छ । सुदामको खालि स्टेज र कलाकारहरूको उपस्थिति/मुभमेन्ट नै रंगमञ्चमा पावरफुल टुल हो भन्‍ने विश्वास मलाई एकदमै मन पर्छ । 

ग्रोटोव्स्कीले सुदामले झैँ पोवर थिएटरलाई परिभाषित गर्दै भनेका थिए, ‘थिएटरले  कलाकार  र दर्शकसँगको सम्बन्धलाई महत्व दिँदै भेषभुषा, सजावट र संगीतबाट टाढा राख्छ ।’ ग्रोटोव्स्कीलाई उनको नाटकसँग सम्बन्धित पछिल्लो एक्सरसाइज र विचारहरू केही मात्रामा पूर्वीय रिचुवल्स र संस्कृतिबाट प्रभावित भएको पनि मानिन्छ ।  संसारभर सुप्रसिद्ध निर्देशक पिटर ब्रुक ९७ वर्षको उमेरमा, जुलाई २, २०२२ मा तारा बने । ब्रुकले पूर्वीय दर्शन र रिचुवल्सबाट प्रेरित भएर ‘महाभारत’लाई ९ घण्टा लामो नाट्य निर्देशनसमेत गरेका थिए ।  

सुदामको काम गर्ने शिल्प र नाटकहरूले नेपाली रंगमञ्चमा एउटा छाप र शैलीको सुरुवात गरेको छ । सबै नाटकमा संलग्न कलाकारहरूलाई धेरै प्रेम । महिनाँै लगाएर आफ्नो अनुभूति, विचार, शब्द र भावनालाई शरीरको भाषा खोजेर कथालाई दर्शकको अन्तर्मनसम्म बगाएकोमा । 

सामाजिक विभेद, लैंगिक असमानता, छुवाछूत, आफैंप्रतिको रिस र छट्पटी, बलात्कार र लैंगिक हिंसा जस्ता विषयहरूलाई नाटकले यो ‘मेरै’ कथा हो है भनेर दर्शकलाई अनुभूत गराउँछ । यो मानेमा पनि हामीलाई व्यक्त गर्न शब्द चाहिँदैन । नाटकले धेरै ठाउँमा नबोलेरै चर्को बोल्छ, धेरै ठाउँमा बोलेर आफैंलाई धिक्कार्ने बनाउँछ, बोल्न नसकेर, नबोलेर, सहेर । 

जब कलाकारहरूले सानो पाँचवटा टुलको प्रयोगले नाटकमा एउटा लामो बाटोको सृजना गर्छन् र त्यसमा यात्रा गर्छन्, मनमा भित्र चिसो पर्छ । डायरीको प्रयोग, डोरी र पात्रहरूको स्विच हुने समय, नाटकमा धेरै कुराहरू छन् जो चित्र बनेर लामो समयसम्म बसिराख्छन् । त्यसको लागि त नाटक हामी सबैले हेर्नुपर्‍यो, हैन ?

हामी यस्तै छौँ, हाम्रो समाज यस्तै छ तर हामीलाई चेतनशील हुन, समाजलाई झक्झक्याउन कला एकदमै महत्वपूर्ण छ । अझ यो भन्दा पनि धेर, कलाकारहरूका लागि आफूलाई व्यक्त गर्दै जिउन । नाटक ‘ऐया माया’ कौशी थिएटर टेकुमा अन्तिम हप्ताको दौरानमा मञ्चन भइरहेको छ । नाटकका निर्देशन सुदाम सिके हुन् । सोमबार र मंगलबारबाहेक नाटक हरेक दिन बेलुकी ५:३० बजे मञ्चन हुन्छ र शनिबार दिउँसो २ बजे, असारको ३२ गतेसम्म नाटक मञ्चन हुन्छ ।    

चे शंकरका यी लेख पनि पढ्नुस् :


Author

चे शंकर

(चे शंकर नाट्य लेखक तथा निर्देशक हुन् ।)


थप समाचार
x