सप्ताहन्त

भानुभक्तलाई नेपाली भाषाका जनक भनेर लहैलहैमा दौडिरहने ?

ज्ञानमणि नेपाल |
असार २९, २०७९ बुधबार ७:३९ बजे

मोतीरामले जुन बेला प्रचार गर्न जो काम गरे, त्यो बेठीक गरे भन्‍ने होइन । उनको भाषासेवा सराहनीय छ । उनको कार्य समयोचित भन्‍ने कुरा माथि पनि भनियो, तर उनले प्रतिपादित गरेको मत उस वेला मान्य भए पनि अब यसमै ध्यान केन्द्रित गरेर गुणपक्ष केलाउनुभन्दा आदिकवित्वप्रति नै सबै समीक्षक दौडिरहँदा र आदिकवित्वमै अल्झिँदै अहिलेसम्म आएर सोही मानिरहँदा यी अधोलिखित आपत्ति आइपर्ने भएका छन् :

- नेपाली भाषामा आदिकाव्य जङ्गबहादुरको शासनको अन्तिम भागमा १९२५ मा लेखिसकियो । यसपछि मात्र नेपाली साहित्यको परम्परा बस्यो ।
- वीरशमशेर ज.ब.रा.को शासनकालमा बीसौं शताब्दीको चौथो दशकमा त्यो नेपाली जगत्मा प्रचार प्रसारमा आएको हुँदा नेपाली भाषासाहित्यको उदय जङ्गका पालामा र उन्‍नति र विकास वीरका पालामा भयो । 
- यसै वेलादेखि नेपालीले रामको आदर्शलाई जानेर जीवनदर्शन पैल्याए, परोपकार धर्मकर्मका कुरा पनि सिके ।
- यस वेलासम्म नेपालीमा एकताका इँट त्यसै थुपारेका मात्र थिए, यो भानुभक्तको रामायणको प्रचारपछि त्यसमा वज्रलेप लाग्यो ।
- नेपालीले बोल्ने लेख्ने भाषाको ठेगान थिएन । अब आएर ठेगान लाग्यो ।
- भाषाको प्रचार भयो, पाखण्डताको खण्डन भयो, हिन्दुधर्मको प्रतिष्ठा भयो । 


अब के यी कुरा मान्‍न आज कोही नेपाली पाठक अघि सर्न सक्छन् ? यी कुरा मान्‍न अघि सर्छन् भने तिनीहरूले यी तलका कुरा मान्‍नुहुँदैन या बिर्सिदिनुपर्ने हुन्छ ।
- विक्रमको बाह्रौँ शताब्दीदेखि नेपाली भाषाभाषीको र नेपाली भाषाको प्रचार प्रसार हुँदै आएको थियो, नेपाली भाषाको पूर्वरूपमा लेखिएका सयौं शासनपत्रहरू प्राप्त हुँदैछन् ।
- पृथ्वीनारायणले एकीकारणको आरम्भ गर्नुभन्दा पहिल्यै पनि नेपाली भाषामा साहित्य लेख्न थालिएको थियो । 
- भानुभक्तले १९२५ मा रामायण सकेका थिए । त्यसैका १०० वर्षजति पहिले कान्तिपुर, ललितपुर, भक्तपुर जितेर पृथ्वीनारायणले एकीकरणको एक अङ्ग पूरा पारिसकेका थिए । नेपाली कवि साहित्यकारहरू पनि नेपाली शूरवीरका तरबारसँगै कलमको टुँडो चलाइरहेका थिए ।
अंग्रेजयुद्ध हुनुभन्दा पहिले नेपालको सीमा टिष्टादेखि सतलजपारिसम्म पुगेको थियो । यसमा नेपाली कविहरूले हौसला थपेका थिए, विशालताको शंखघोष फुकेका थिए । ललितावल्लभको भक्तपुरविजयकाव्य पृथ्वीन्द्रवर्णोदय काव्य शक्तिबल्लभले जयरत्नाकर नाटक संस्कृतमा लेखे भने साथै हास्यकदम्ब नेपालीमा पनि लेखे । उदयानन्दले नेपालीमा पृथ्वीनारायण शाहको एकीकरणको विषयवस्तुमा आधारित पृथ्वीन्द्रोदय महाकाव्य प्रतापसिंहहरूको सोमेश्वरविजयवर्णन वेतालपचीसी खण्डकाव्य लेखे, सुन्दरानन्द बाँडाले त्रिरत्नसौन्दर्य गाथा नेपाली र संस्कृतमा लेखे । भवानीदत्त राधावल्लभ शक्तिवल्लभहरूले नेपाली भाषामा कलम चलाएर नेपालीलाई ब्युँझाएका र घच्यचाएका थिए ।
- युद्धपछि नेपालको भूभागको संकोचन भए पनि विचारको संकोचन नल्याउनमा मद्दत गर्ने यदुनाथ रघुनाथ वीरशाली वसन्त विद्यारण्यकेशरी इन्दिरस पतञ्जलि गजुरेलहरूले भाषा साहित्यमा कलम चलाएर नेपालीलाई सचेत गरिरहेका थिए । नेपाली भाषाको प्रभावक्षेत्र यति विस्तृत भइसकेको थियो, नेपालराज्यभित्रका के कुरा भारतका भावसु, पन्जाव, देहरादून, दार्जिलिङ, आसाम आदि ठाउँमा र सुदूर भोट ल्हासा पेङचिनसम्म पनि पुगिसकेको थियो ।

नानाथरी शब्दजालले सत्यलाई पर सारी आदिकवि शब्दको सेरोफेरोमै सबैको एकोहोरो ध्यान जान लागिरहेकोले यस शब्दलाई वेलैमा हटाइदिएर बिर्सिदिएको भए नचाहिने कुरामा चर्चापरिचर्चा बढाएर समय र श्रम खेर जाने थिएन ।

अब के हाम्रा बीचमा कोही विज्ञ नेपालीले यी कुरा बिर्सिदिन सक्लान् ? कुरा बिर्सिए बिर्सिन खोजे पनि हाम्रा जीवनाधार बनिसकेका राष्ट्रियताका आधारभूत भइसकेका यी ऐतिहासिक महत्त्वका कुराहरू बिर्सिसक्छन् र ? यिनको विशेष अध्ययन विवेचन विश्लेषण गर्नातिर नलागी केवल भानुभक्तलाई आदिकवि कविसम्राट् भाषा प्रचारक मात्रै होइन नेपाली भाषाका जनक पनि बनाउने मोहमा परी लहैलहैमा दौडिरहने ? 

हाम्रो साहित्यभन्दा व्यक्तिविशेषको महत्त्व ठूलो हुँदैन । त्यही साहित्यले नै व्यक्तिलाई ऊँचो बनाएको हो । आदिकविको उपाधिमात्रै भानुभक्तलाई लाइदिएको भए पनि हामीलाई त्यति फरक पर्ने कुरा थिएन । आदिकविको आदिकवित्व शब्दपक्षमा बढी ध्यान दिएर हाम्रो भाषासाहित्यको इतिहासको प्राचीनतामा पनि आँच पारेर नेपालीभाषाकै पनि प्रभावक्षेत्र विस्तारलाई बिर्साइदिएर संकोचन ल्याइदिएकाले र नानाथरी शब्दजालले सत्यलाई पर सारी आदिकवि शब्दको सेरोफेरोमै सबैको एकोहोरो ध्यान जान लागिरहेकोले यस शब्दलाई वेलैमा हटाइदिएर बिर्सिदिएको भए नचाहिने कुरामा चर्चापरिचर्चा बढाएर समय र श्रम खेर जाने थिएन । 

हाम्रो भाषा साहित्यको इतिहासको संकोचन नभई बढी विस्तृत हुँदै जाने हाम्रो हृदय पनि विशाल भएर योग्यताको कदर गर्ने परिपाटीमा विशुद्धि आउने र विवेचनाको परिधि पनि बढ्दै जाने थियो । आदिकविको यो उपाधि कसैलाई लाइदिनैपर्ने जरुरी पनि त के छ र ? यो पदवी नलाइदिए पनि हाम्रा स्वर्गीय साहित्यकार कविहरूको महत्त्वमा केही शिथिलता आउँछ होला जस्तो लाग्दैन । हामीलाई आदिकवि नभए र पनि अथवा पछि बनाउँदा पनि त हुन्छ नि ? अहिले हाम्रो देशमा दुई सय वर्षदेखि चलेका केही विद्वत्हरुलाई सम्मान दिइने पदवी दैवज्ञशिरोमणि, विद्वच्छिरोमणि, कविशिरोमणि, इतिहासशिरोमणि संगीतशिरोमणि केही पनि छैनन्, पाउने व्यक्ति पनि छैनन् र पनि त भएकै छ । 

विद्वान् कवि साहित्यकारहरूले कलम चलाइरहेकै छन्, जे जस्ता भए पनि शासकहरू शासन चलाइरहेकै छन् । के हर्जा भएको छ र ? बरु भूतका मृतक कविमा आदिकविको पगरी बलैले गुताइदिइराखेनौँ भने यो त्यसको गुणपक्षको वकालत गर्न हामीलाई आवश्यक पर्छ ।

मिथ्याप्रचारको पसारो पारेर लोकलाई भुल्याइरहने दरकार पर्ने थिएन र एकलाई सर्काएर अरूलाई होच्याउन पनि आवश्यक परोइन, अनि स्वतन्त्र भएर केलाउँदै सबै साहित्यकार उनका कृतिको सही सही मूल्याङ्कन गर्न सकिएला । यस्तो हुँदा आफ्नै देशको हावापानी सुहाउँदो आफ्नै माटामा हुर्केको र हाम्रा समाजको सुखदु:ख टिपेको कुनै मौलिक काव्य कृति पाइयो भने आदिकविको उपाधि दिनै पर्यो भने दिन पनि सकिएला, होइन भने तिनलाई पनि कुल्या खोलसी भन्दै पन्साउँदै गंगोत्तरी खोज्दैरहँदा त भानुभक्तमै किन ठेगान लाग्ने ? अनि फेरि कसैले लेखनाथलाई किन नमान्‍ने, मौलिक काव्यकार परिमार्जित भाषामा लेख्ने भनेर, भानुभक्त त अनुवाद कवि न हुन् भन्ला । ठिटो भएर बोल्न सक्नेले सिद्ध पनि गरिदेला– लेखनाथ पनि कुल्या हुन्, भाषामा परिमार्जन छैन, काव्यमा मौलिकत्व छैन, जनतामा नयाँ नयाँ प्रेरणा नयाँ कुरा उनले दिन सकेका छैनन् पनि भनेर । हृदयचन्द्रले भनेजस्तै यो क्रम चलिरहला । पूर्वाग्रहले पक्षग्राहले तर्कवितर्कको अन्त्य कहाँ कहिले हुन्छ होला र ?

(इतिहासकार ज्ञानमणि नेपालको पुस्तक ‘नेपाली साहित्यमा आदिकविको समस्या’बाट ।)
 


Author

ज्ञानमणि नेपाल

नेपाल इतिहासकार हुन् ।


थप समाचार
x