सप्ताहन्त

ती आदिकविहरू

विरही बाबु ढुंगेल |
साउन २८, २०७९ ७:२ बजे

आदिकवि भनेर भानुभक्त आचार्यलाई नै भन्नुपर्ने अरुलाई चाहिँ भन्न नपाइने भनेर नेपाली साहित्यको छापाखानामा कतै लालमोहर लागको छ भने म यो लेखमा सरासर गल्ती गरिरहेको छु । अहिल्यै हात जोडेर बिन्ती बिसाएँ । मैले त अरु थुप्रै आदिकविहरू देखेँ । यो मेरो सिधा, सरल दृष्टिकोण हो ।

कतै मेरो ओखरे खप्परभित्र मरिचको दानु छिरेर मलाई बाड्गोटिङ्गो कुरातिर त डोर्याइरहेको छैन नि है ! पिरोलेर यताउता लर्खराएको जस्तो त लाग्दैन । किन म थुप्रै आदिकविहरू देख्छु । हिङ नभए पनि हिङ बाँधेको के जाति भनेजस्तो साँची म पनि कुनै दिन स्कुल गएको मान्छे हो नि । कुनै दिन मलाई पनि मास्टरले एक झापड लगाएर, तोरीको फूल देखाउँदै अक्षर चिनाएको हो नि । कपुरी ‘क’ भनेर चिनाए, पछि कपुरी चाँहि ‘क हुने’, खपुरी ‘ख’ चाहिँ नहुने ? भनेर म पनि स्कुलको बेन्चमा बसेर कानमाथिका लिखा कन्याएको मान्छे हो नि । झल्को ताजै छ नि अहिले पनि ।


महाकवि – लक्ष्मीप्रसाद देवकोटा ।
आशुकवि – शम्भुप्रसाद ढुंगेल  ।
आदिकवि –  भानुभक्त आचार्य ।

ए बा ! मास्टरले के भनेको युस्तो । भानुभक्त चाहिँ आदिकवि अरे !
मनमा अड्किएको प्रश्न सम्झिएर उही अघि भन्या ठाउँका लिखा कन्याउन त हो नि । मास्टरलाई सोध्ने हिम्मत छैन । फेरि हिम्मत गरेर सोधिहालेमा मास्टरलाई पनि थाहा भए त रामायणका दुई लाइन श्लोकलाई, जुँगामा ताउ लगाउँदै म के कम्ता छु ?

साहित्यको साउ हौ, फलानोको बाउ हौ, भन्दै अर्थ खुलाउँथे होलान् । फेरि यति कुरा मास्टरका पनि मास्टरले नसिकाएका भए त गोजेरो बजाउँदै, ‘तेरीमा सुलिका सन्तान्, यति जाबो कुरा पनि तलाई थाहा छैन ?’ भन्दै पाँच औँलाको लालछाप ढाडमा पर्ने हो कि गालामा पर्ने हो ? यत्रो जोखिम मोलेर कसले सोध्ने ? निकै समयसम्म मनमा तुलबुल रहिरह्यो । बूढा के गरी आदिकवि भएछन् ?

समयको चक्रमा चढेर फन्को मार्दै घुम्दा आदिकवि हुनुमा अनेक रंगीविरंगी सप्तरंगी उत्तरहरू पाइए । कोहीले भने आदिकविको फोटो नै आधी छ, अनि कसरी पूरा कवि हुन्छन् त ? कोहीले भने, ‘धत् मूर्ख, आरम्भका कवि, पहिलो कवि भएर आदिकवि भन्या ।’ कोहीले भने, ‘बधुशिक्षा मात्रै लेखेर पूरा कवि भइन्छ त, वर शिक्षा लेख्नु पर्दैनथ्यो ?’ अनि मैले बझेँ अचकल्टो आधी पाराको हुन् भनेको आदि हुनु रहेछ । 

भनेपछि यहाँ आदि र अचकल्टाहरू कति छन् ? कति ! अनि के कामले भानुभक्तलाई मात्रै आदिकवि भन्नु त । अनि त्यसपछि मेरो दिमागमा थुप्रै आदिकविहरूको रिल घुम्न थाल्यो । प्यारा प्यारा आदि कविहरू नजिक आउन लागे । म पनि आदिकवि हो भनेर फुस्रा ओठ देखाउन लागेँ । हामी यतै आदि उतै आदि ।

मानिलिऊँ पूरा कवि भनेका अहिलेको वर्तमान जिउँदो युगमा हाँसको पोथी जसरी डलक्क डल्कने ज्यान भएका दुई चार लाख शब्द कोरल्न सक्ने मन भएका, खल्तीमा दुईचार हजारले बास गरिरहने धन भएका । युगले सृष्टिको घुम्टोलाई दुःखले अलिकति उधारेको बेलामा मौका छोपेर फुत्त आएका ती पूरा कवि हुन् भने आदिकविहरूका हालत खराब छन् ।

बिचरा आदिकविहरू चर्को परिश्रमको आइरनले दाबेर आदि भएका जिन्दगीको बीचमा अलिकति केही लेख्न खोज्छन् त्यही पनि मात्र आदि पूरा लेख्नलाई समयको पूरा चाँजो छैन । समयको लामो अन्तरालपछि फर्किएर डायरीका पानाहरू पल्टाउँदा तिनका कविताहरू पनि आदि आदि मात्रै भइदिन्छन् । आदि कवितासँग आदि भएको जिन्दगीलाई सम्झिएर चुकचुकाउँछन् । फेरि यसो केही लेख्छन्, ती अक्षरहरू कसैको आँखाको बाटो हुँदै मस्तिष्कमा घुस्न नपाउँदै कापीका पानामा बटारिन विवश हुन्छन् । ती आदिकविहरूका सृजनाहरू कापीका आदि पानाहरूलाई किराले कुटुकुटु काटेर भोजन गरिदिन्छन् । यस्तो देख्दा ती आदिकविहरूका मन चाउरी परेर आदि हुन्छन् ।

ती आदिकविहरू आदि रातमा बिउँझिएर पनि दुःखले रचेका आफ्ना रचना सिरानीको पल्ला पल्टाएर यसो आदि हेर्छन् । एकदिन न पूरै पुस्तक बनेर आउँछ कि भनेर एउटा सपना बुन्छन् । बरै ! के यस्तो दिन आउला त ?

ती आदिकविहरू कसैले पढ्दै गरेको पुस्तकलाई धक मानीमानी छड्के परेर यसो बाहिरी कभरलाई हेर्छन् । लोभको भोकले कौतूहलको चरमबिन्दुमा पुर्याएर तिनको आदि मनलाई त्यही क्षण त्यही पुस्तकको सामुन्नेमा झारिदिन्छ । बिस्तारै पाइला चाल्दै चिया पसलसम्म आउँछन् । आँखालाई छड्के नजरको निर्देशन दिँदै खल्तीलाई अलिकति फट्याएर हेर्छन् । एक कप चियाको पूरै दस्तुर देखेपछि छाती फर्काएर चियाको अर्डर गर्छन्, टेबुलमा चियाको गिलास आएपछि अर्को साथी थपिन्छ, अनि त्यही एक कप चियालाई आदि आदि बनाएर खान्छन् । क्या गज्जबको छ आदिकविहरूको जिन्दगी । 

आदि गाँस खाएर अलि अलि पैसा बचाएर, बल्लबल्ल निकै समयको प्रतीक्षापछि एउटा पुस्तक किन्छन्, आदि उधी पढि नसक्दै पुस्तक माग्ने अर्को कुनै भिक्षार्थी खडा भइदिन्छ । त्यो भिक्षा नमिलुन्जेल बोलीमा तेल मिसाएर भिक्षार्थी मोहनी लगाउन थाल्छ, वचनले मालिस गर्छ, यसलाई म पढ्छु नि ल । दुई दिनमै पढिसक्छु त्यसपछि तपाईंलाई फिर्ता गरिहाल्छु । अनि यति गरेर लगेपछि आदि वर्ष बितिसक्दा पनि यो पुस्तक फर्केर आउँदैन । त्यो साल बितेर अर्को साल लागिसक्दा पनि आदि पढेको आदि यादहरू ती आदिकविका मनबाट बिलाउँदैनन् । तिनै यादहरूले सताएर शिथिल छन्, तिनका मनहरू । 

ती आदिकविले लेखेका कपीका पानाभित्र केही गर्भ गर्न मिल्ने विषयहरू गुम्सिएका छन् । यो साहित्य संसारको लम्यतान बाटोमा मिसिन आउँदा अति सुन्दर देखिने कञ्चनसितको थोपा हो भनेर बुझिदिने कसले ?

तैपनि मनमा अलिअलि आशा बोकेर अनिकालमा साँचेको एक मुठी सिमीको बिउलाईझैँ जतन गरेर खिल खुस्किएका कपीका पानाहरू लिएर साहित्य सम्मेलनको मजेरीमा ती आदिकविहरू देखा पर्छन् । मुखियाको घरमा मोही माग्न गएको दुःखीजनले जस्तै गरी शिरदेखि पैतालासम्म संकोच मान्छन् । ‘हैन यिनीहरू त क्या हो ! पूरा कवि हुन् कि झैँ लाग्ने वक्ताज्यूहरूले अंग्रेजीमा अलि अलि नेपाली मिसाएर बोलेका वक्यवाणीहरूलाई अलि अलि आफ्नो मस्तिकमा घुसाउँछन् । 

मस्तिष्कमा घुसारेको विवेकी नाग्लो झिकेर निफन्दा तिनका वाक्य वाणीलाई जति नै मल हालेर यस माटोमा रोपे पनि झाँङ्गिनलाई मुस्किलैपर्छ कि क्या हो झैँ ठान्छन् । आपसमा साउती मार्छन् । ‘ओ इ साइँला त्यो कविले के बोलेको है ?’ ‘बोल्न त ठीकै बोलेको होला, मैले त बुज्नै सकेन बाई ।’ ‘पाल्पाको कुरो पाल्पामा, थाप्लाको कुरो थाप्लामा हुनुपर्ने हैन र भन्या, कि अर्कै ठाउँमा आएका छौँ ?’ साइलाले कट्न बितेको जुल्फी हल्लाउँदै  भन्छ, ‘हैट्, हामी त ठीकै ठाउँमा आएका छौँ त  यहाँ वक्ता कविका मुखबाट घिउमा पाकेका फुराउला जस्तो क्या गज्जबका शब्द सुन्दैनौँ । न बुज्नु त तिम्रै कानको दोष हो नि । के लड्तरा कवि आएका छन् यहाँ ?

ती आदिकविहरू साहित्य सम्मेलनको आँगनमा रस नभेटिएर भौँतारिएका मौरीले जसरी भौँतारिन्छन् । यता उता जता हेरे पनि छानी रोजी एउटा पुस्तक किनौँ न त भने त्यस्तो पुस्तक पनि देखा पर्दैन । मनमा दशथोक जम्मा पनि भएको छ, भनौँ भने भन्ने ठाउँ पनि कतै फेला पर्दैन । आदिकविहरूका लागि यो संसारै आदि आदि भएर चिरा परेको छ । न उनीहरूलाई खोज्नी कोही छन्, न उनीहरूले चिनेका कोही छन् । साहित्यको साइनोमा अल्झिएर मात्र उपस्थित भएका छन् ।

मेरो देशमा थुप्रै आदिकविहरू छन् तिनका कथा आदि छन्, कविता आदि छन्, लगाएका कपडा आदि छन्, खाएका भोजन आदि छन्, पढेका पुस्तक आदि छन् । दिमागी तन्तुमा अब केही लेख, केही पढ भनेर, अराइसिकाइ गर्ने त्यो अदृश्य जन्तु पसेर तिनका खप्पर घोटिएका छन् । तिनका घर आदि छन्, व्यवहार आदि छन्, जिन्दगीका सपना आदि छन् । विपना आदि छन् । 

यी सब कुरालाई छाडेर एक्ला भानुभक्तलाई मात्रै दुनियाँदार किन आदिकवि भन्छन् । मनको कुरालाई आफ्नै मान्छेसँग भने जसरी भन्नुपर्दा यो कुरा सच्याए हुँदैन र जस्तो लाग्छ । कोही बेला मनमा अनेक प्रश्न उब्जिन्छन् । भानुभक्तलाई लौ अब आजका दिनबाट आदि कवि भयौ भनौ भनेर बैठक बसाली कन निर्णय पारित गर्ने काम कसकसले गरे होलान् ? यो कुरा मेरो निजी चित्तमा किन किन गज्जबको लागेकै छैन ।

एउटा कविलाई समय काल परिस्थितिको लेखनलाई आधार बनाएर त्यस सुहाउँदो उपधि दिनका लागि योभन्दा अर्को उत्तम उपाधि रहेनछ कि क्या हो । एउटा अर्थमा आदिकविको गन्ती खोज्ने हो भने को आदिकवि हैन र ? जो जति आए ती सबै आदिकवि त हुन् । ती सबै लेख्न मन हुँदा हुँदै कालको निम्तो सदर गरेर गएका हैनन र । लौ अब मैले चाहिँ लेख्ने जति लेखिसकेँ । म चाँहि पुरा भैँ भन्ने कोहो जन्मियो र ? त्यसैले भानुभक्तलाई आदिकवि भन्नुको सट्टा प्राप्तकालिन कवि भन्नु पा को भा, के अर्थको अनर्थ हुन्थ्यो होला र । आदि तिनीहरू हुन् जसले अलिकति मास्तिर निस्किनलाई सहारा पाएनन् ।

ढुंगेलका यसअघिका लेखहरू



Author

थप समाचार
ad
x