सप्ताहन्त

छोरीका शरीरमा रगतको सट्टामा के बग्छ हजुरबा ?

प्रगति राई |
फागुन ६, २०७९ शनिबार १०:५७ बजे

'छोरी उठ्, घर आइपुगियो,' सुशान्तले सोमालाई उठायो । सोमाले ब्युँझिनसाथ पानी मागी । अगाडि सिटमा बसेको पुरूषको हातमा पानी थियो, जो सतबाँझमा एउटै होटलमा खाना खाएका थिए । सुशान्तले त्यो मानिसले हातमा बोकेको पानी छोरीका लागि मागिदियो । त्योभन्दा पहिले अर्को मानिसले खान खोजेका थिए । पहिले सुशान्तले लियो ।

त्यो मानिस एकछिन अकमक्क परेर पानी हेर्‍यो, सोमालाई हेर्‍यो । बोतलमा थोरै मात्र घटेको थियो । सोमाले माथिबाट घटघट पिई र आधा बोतल पहिले माग्ने मान्छेलाई दिई । तर लिन मानेन । 'छोइएको पानी खान्‍नँ । म ठूलो जात हुँ,' भन्यो ।


'ठूला जातलाई कसरी नछोइ दिनुपर्ने ?' सोमा झनक्क रिसाएर बोतल भित्तामा पछारी । सुशान्तले थमथमाउँदै भन्यो, 'प्लिज कुल डाउन, छोरी । अहिलेलाई चुप बसिदेऊ ।' त्यो मानिसहरु फटाफट गइहाले ।

'किन बस्नुपर्ने ? कहिलेसम्म बस्नुपर्ने ? सोमा खोला थर्किने गरी कराई, 'बिनागल्ती सहनु पनि अपराध हो । आफ्नो सन्तानलाई पाप नसिकाउनोस् ।'
'उजुर गर्न जाऊँ भने चौकी टाढा छ त । थाकेको बेलामा,' सुशान्तले मुसुमुसु हाँस्दै भन्यो । सोमा बेस्कन झोक्किई ।

सुशान्त बोल्यो, 'फलामलाई एकैचोटि बङ्ग्याउनुहुँदैन । पहिले बिस्तारै तताउनुपर्छ । नत्र भाँच्चिएर नकामको हुन्छ ।' सोमाको दिमाग बेस्सरी तात्यो । सुनेको मात्रै छुवाछुतको पीडा पहिलोचोटि भोगी । ऊ बाबुसँग बम्किँदै बोली, 'छोएकै नखाने त्यो को हो ? त्यसले म ठूलो जात हुँ भन्दैमा ठूलो हुन्छ ? ठूलो हुनको लागि त अरुले ठूलो मानिदिनुपरेन ?'

सुशान्तले छोरीलाई सम्झाइरह्यो, 'छोरी बी कुल । कुल डाउन प्लिज । अरुले छोएको खान्‍नँ भन्‍न सबैले पाइन्छ । आफूलाई ठूलो मान्‍न सबैले पाइन्छ । तर तिमी मभन्दा साना हौ भन्‍न चाहिँ पाइन्‍न । मैले छोएको खानैपर्छ भन्‍न पाइन्‍न । त्यसैले तिमी साना जात हौ भनेन नि उसले । अज्ञानीलाई ज्ञान प्राप्त गर्न समय लाग्छ । जस्तालाई त्यस्तै गर्नु आफूलाई महामूर्ख बनाउनु हो ।'

'जानाजान त्यसो गरिरहेछन् । त्यसलाई अज्ञानता भन्‍न मिल्दैन,' सोमा बम्किन छाडिन । 'नराम्रो काम गर्नुलाई ज्ञानी भनिन्‍न नि, बाबै । मास्टरै भए पनि नराम्रो गर्छन् भने ती अज्ञानी नै हुन् ।'

सोमाका गोडा आक्रोशले र्‍याउँर्‍याउँ चिलाइरहेका थिए । ऊ आफ्नो अगाडि परेको चीजबीज जे पायो, त्यसैमाथि लात बजारिरहेकी थिई । त्यसैगरी बाटोमा अलिकति चुच्चो ढुङ्गा देखी । त्यसलाई अघिको 'ठूलो जात हुँ' भन्‍ने मान्छे मानेर एकलात बजारी । ढुङ्गा उक्किएर डिलमुनि होटलको छानोमाथि बज्रियो, 'ढ्वाँङ्ग... ।'

'को हो ? को हो ? के खोजेको ?' एक पुरूष कराए तलैबाट । सुशान्तले बल्ल पो सम्झियो बाका लागि सोमालाई कोसेली किनिदिन । ऊ फर्केर पसलतिरै झरेर भन्यो, 'माफ पाऊँ है, हजुर ! गोडा अल्झिनाले ढुङ्गा खस्यो ।'

'खसेको ढुङ्गा त्यसरी लाग्दैन । नियतवश हानेको हुनुपर्छ । ईः छानो नै कुच्चिएको छ,' होटल मालिकले सुशान्तलाई कुच्चिएको छानो देखाउन तान्दै भित्रै हुल्यो । सुशान्त टोलाएर हेरेको हेर्‍यै भयो ।

त्यहाँ अप्सरा (बिम्ली) थिई । दोजिया भइछ, फुङ्ङ उडेको अनुहारमा रङ्गीन भनेको सिन्दूर मात्र थियो । गर्मीले पातलो म्याक्सीमा बसेकी अप्सराको शरीर ज्यादै नाजुक थियो । ज्यादै दुब्ली थिई । अप्सरा मुसुक्क हाँसेर लजाउँदै भित्तातिर फर्किई । दुरूस्त जवानी रहेको उसको मुस्कान बाँकी रहेछ, जो सुशान्तको हृदयमा पहिल्यै बसेको थियो ।

'हेरेर छानो बनिन्छ ? पैसा तिर्न परेन ?' होटलेले फेरि सुशान्तलाई तान्दै नै बाहिर निकाल्यो ।'

त्यति सुन्दरी युवती कति चाँडै पतझर भएकी भनेर मथिङ्गल हल्लिरहेकै अवस्थाले सुशान्त बोल्यो, 'कति तिर्नुपर्ने हो, भन्‍नोस् न ।'

'जस्ता एक पातको छ सय पर्छ । त्यै दिनोस् । मैले जरिवाना तिराइनँ,' होटलवालाले फुलेको छोटो जुँगा मिलाउँदै भन्यो । सुगर फ्री बिस्कुट, चकलेटहरु, मसला, थुक्पा मागेर सुशान्त उभिइरह्यो । होटलेले सदरमुकामबाट जस्ता त्यहाँसम्म ल्याउनुको लामो दुःख सुनाउँदै सामान ठिक्क पार्‍यो । सुशान्तले हजारको नोट दिएर भन्यो, 'म टाढाको मानिस होइन । यही माथि मास्टरको छोरो हुँ, तपाईंको छानो चुहिने भएपछि म फेरिदिन्छु । हुन्‍न, दाइ ?'

बल्ल होटलेले सम्झियो, 'ए, भाइ केही महिनाअघि यहाँ रक्सी खान आइरहनुहुन्थ्यो होइन ? त्यत्तिकै हराउनुभयो । बिर्सेछु नि त मैले त,' होटले हाँस्यो । अनारका दाना जस्ता मिलेको दाँत देखाउन बल्ल मौका पाए झैं गरी निकै बेर हाँसी नै रह्यो । उसले हाँस्दै नै भन्यो, 'भाइ हुनुहुँदो रहेछ । अब चिनिहालें, छानो एक पात मात्र होइन, पूरै फेरिमागिन्छ ।'

'हुन्छ दाइ, केका लागि छिमेकी । म पनि अब यतै बस्ने भएँ नि,' सुशान्तले भन्यो ।

'ल अर्को खुसी थपियो । यो सानो खुसीलाई महाखुसी बनाउन दाजुभाइ एकएक प्याक हालौं । होटले रमाउँदै गिलास खोज्न फिर्लिकफिर्लिक जाँगे हल्लाउँदै भित्रबाहिर गर्न लाग्यो । तर सुशान्तको मन ज्यादै बेचैनी थियो । गर्भिणी अप्सराको जीर्ण शरीर दिमागमा फ्यालफ्याल हल्लिइरह्यो । यसैले रक्सी जस्तो कुरा पनि सुशान्तले नकारेर भन्यो, 'हुन्‍न दाइ, फेरि बसौंला । छोरी बाटामा कुरिरछे ।'

सुशान्त सामान लिएर छोरी भएको ठाउँ पुग्दा सोमाले कुर्कुच्चा रगडेर चुच्चे ढुङ्गाको ठाउँमा खाल्टो बनाएकी थिई । सायद उसको दिमागमा आक्रोश ज्युँका त्युँ उफ्रिरहेकै थियो ।

सुशान्तले छोरीलाई हातमा तानेर उठाउँदै भन्यो, 'छोरी ! धेरै समस्या समाधान गरीमाग्न तिम्रो अघिल्तिर लाम लागेर उभिएका छन् । यी बाधाहरुलाई निमिट्यान्‍न पारेर आफ्नो पहिचान बनाउन पाउने एक भाग्यशाली समयको युवा हौ, तिमी । आफूलाई उपयोगी बनाउन यी अवसरहरुलाई चुक्न नदेऊ । आक्रोशले केही काम बन्दैन । बरू उपायहरु कल्पेर समयको सदुपयोग गर । तिम्रो असल कल्पनाले नयाँ इतिहास कोर्न सक्नेछ ।'

बाबुका कुराले भतभती पोलिरहेको सोमाको मन केही शान्त भयो क्यारे । ऊ पाइला रगड्न छाडेर बाबुको हात समात्दै उठी । साँझ निकै गाढा भइसकेको थियो । टाढा केही नदेखिए पनि सोमाले आफ्ना पिताको पाइला भने प्रस्ट देखिरहेकी थिई । अघिअघि हिँडिरहेको बाबुको पाइलामा पाइला राख्दै पछ्याउन थाली ।

उनीहरु जसै घर पुगे । सुशान्तले बिस्कुट निकालेर हजुरबालाई दिन लगाउँदै बालाई छोरी चिनायो, 'बा ! हजुरकी कान्छी नातिनी है ।'
'नाउँ के हो ?' बाले मधुरो बल्बको प्रकाशमा चस्मा मिलाउँदै सोधे । प्रदीपले मोबाइल बालेर सोमाको अनुहारमा प्रकाश थपिदियो ।

'सोमा हो, हजुरबा ।'
'अर्थ के हो ?'
'थाहा छैन,' सोमाले बाबुतिर हेरेर भनी । सुशान्तले भुँइतिर हेर्‍यो । 

सायापछि दोस्रो पनि छोरी नै जन्मिएकाले निराशा छाएर नामै राख्न उत्साह थिएन त्यो बेला । पछि यत्तिकै कान्छा भनेर बोलाउँदाबोलाउँदै सोमा भन्‍ने नाम कसले लगाइदियो, सुशान्तलाई पनि ख्यालै रहेन । विदेशमा हुँदा पनि सोमाले एकचोटि नामको अर्थ सोधेकी थिई । सुशान्त उसैगरी 'थाहा छैन' भनी पन्छिएको थियो ।

'मैले राखिदिएको नाम हो,' प्रदीप बोल्यो, 'स्कुल जाने बेलासम्म पनि यिनको नामै थिएन । सबैले कान्छा भन्थे । अनि सायाकी बहिनी सोमा भनेर मैले मिलाइदिएको हुँ ।'
'बिनाअर्थको पनि नाम हुन्छ ? म नाम राखिदिन्छु भगवती । शक्तिकी खानी । बाले ढोग लिँदै चुकचुकाएर भने, 'हेर यस्ती लक्का जवान रहिछे । यो छोरो भइदिएको भए ?'

नयाँ नाम पाएर खुसी हुन नपाइसक्दै सोमाले छोरो हुन नसकेकोमा फेरि अर्को झड्का खेप्नुपर्‍यो ।  
सुशान्तले बारम्बार भन्‍ने गरेको वाक्य मनन गरी होला, 'हजुरबा एकात्मक सोचको मान्छे हुन्, उनको जीवनकालभरि राज गरिरहेको नकारात्मक सोच उनको जीवनसँगै अन्त्य हुनेछ, जसरी रूघामर्की लाग्छ र अवधि पुगेपछि हराउँछ । बस्, यसलाई उत्तेजित पार्न हुँदैन । समय गुज्रन दिनुपर्छ ।'
हजुरबालाई उत्तेजित नपार्न सोमा आफैं हारेर थपक्क बसी । 

'भा..इ !' मायालु पारामा मुनि तलाबाट दिदी कराइन् ।
'किन तल ? माथि आउनू दिदै,' सुशान्तले भन्यो ।
'छाउ भकी छ । माथि आउन मिल् न,' बाले भने ।

सोमाको टाउकोमा फेरि अर्को प्रहार भयो । मानौं, घर जानु भनेको कुसंस्कारहरुको आक्रमणमा पर्नु हो । बिनासित्ती गिज्याउन आउने दुष्टहरुसँग चुप लागेर बस्नु हो । 
आक्रोश नियन्त्रण गर्न ऊ सास रोकेर बसिरही ।

प्रदीप मसैसरी भएर भान्साबाट चिया लिएर निस्कियो । प्रदीपलाई देखेर सोमा केही खुसी भई र भनी, 'अङ्कललाई देखेर त म आफ्नै घरमा छु जस्तै लाग्यो ।'

'प्रदीपले हाँस्दै भन्यो, 'यो तिम्रै घर हो त कान्छ । म पो तिम्रो घरमा बसेको छु ।'
'हुन त हो । तर सहरको घर र गाउँको घरमा चेतना र समयको आधा शताब्दी अन्तर देखियो, अङ्कल,' सोमाले भनी ।

उनको कुराको कसैले निक्र्योल नै गरेनन् । सायद सुस्त विषपान यसैलाई भन्छन्, जो विरोधका स्वर सुने पनि नसुने जस्तो गरिदिनू । हराइदिनू ।

प्रदीपको हातको मीठो खाना खाएपछि सुत्ने बेलामा सोमालाई हजुरबाले सोधे, 'यतिका वर्ष देखा नपरेका मान्सहरु मलाई भेट्नै भनेर त आ होइनौ होला । कति कारणले घर आयौ, भगवती ?'
आफूलाई नयाँ नामले बोलाइँदा सोमा एकचोटि ट्वाल्ल परी र हजुरबाको माया सम्झेर खुसीले मुस्कुराई । हजुरबाको नजिकै गएर गोडा मिचिदिन खोज्दै थिई, बूढामान्छेले गोडा लुकाएर भने, 'लक्ष्मीलाई गोडा छुवाउँछन् कहीँ ?' उनले सुशान्ततिर हेर्दै भने, 'सहराँ यसो गर्ने गर्‍याछ कि क्या हो ?'

'फरक छैन । छोरै मानेर काम लगाए हुन्छ,' सुशान्तले अलिअलि मात्रै सुनिने गरी भन्यो ।

बा ओछ्यानमा ढल्केको मान्छे जुरूक्क उठेर बसे । अनि सिरानीनिर अड्याइएको लौरो खोजे । उनकै हातले ठेलेर भुइँमा खस्यो । सोमाले टिपेर दिई । बाले लौरो पल्लो खाटको बिटमा ठकठक पारेर भने, 'फरक किन छैन । यी भनेका अर्काका हुन् । हाम्रो त मायामोह मात्रै । यिनलाई लक्ष्मी मानेर राख्नुपर्छ, जतिन्जेल हामीसँग बस्छन् यी । अझ छाउ नसरी कन्यादान गरेर धर्म कमाउनुपर्ने जात हुन् । गोडा ढोगाउने ? छोरो सरह भन्‍ने ?'

सोमाले सानो मोबाइलको लाइट बाली । अगाडि जे आउँछ, त्यसैलाई सिध्याउँछु जत्तिकै रिसाएका हजुरबाको अगाडि सोमा निडर भएर बोली, 'छोरीले गर्न नसक्ने काम के छ, त्यस्तो हजुरबा ? मलाई लगाउनोस् । छोराले गर्ने के काम छ, त्यस्तो ? हजुरबा ! मलाई अह्राउनोस् ।'

बा एकछिन जिल्ल परे । अनि भने, 'तिमी छोरो भएको भए यतिबेला वंशका नातिनातिनाले मेरो घर हराभरा हुने थियो । तिमीहरु छोरी भएकै कारण यो घर रित्तो छ । मेरो श्रीसम्पत्तिमाथि शत्रुले गिद्धे आँखा लगाका छन् । मेरो मृत्यु पर्खिरहेछन् ।'

सोमा एक हातले मोबाइल बाल्दै अर्को हातले हजुरबाको पाउतिर चोर औंला उचालेर भनी, 'हजुरबा ! म यही कुरा प्रमाणित गर्न चाहन्छु कि, छोरीले पनि आफ्ना पितापुर्खाका लागि वंश बनाउन सक्छे, घरको रक्षा गर्न सक्छे ।'
बा रिसाएर बोले, 'घरभरि मान्छे थुप्रिएर मात्रै भो ? रगतको साइनो चाहिएन ?'

'छोरीका शरीरमा के बग्छ त हजुरबा, रगतको सट्टामा ?' के रगत नभएकी स्त्रीबाट जन्मिएको मान्‍नुहुन्छ आफूलाई ?'

सोमाका कुराले बा यति धेरै रिसाए कि, सोमाको भेट पहिलोचोटि नभएको भए उसको ढाडभरि लौराको नीलडाम बस्ने थियो । गाला झापटले रन्किने थियो । कपाल भुइँभरि हुने थियो सायद । बा छोरोतिर हेरेर कड्किए, 'पर लैजा, यो तेरो पिसाच । अनेकवली बोल्न सिका रछ ।' बा भित्तातिर फर्किए ।

सुशान्तले छोरीलाई तान्दै भन्यो, 'छोरू, प्लिज बालाई बुझ्ने कोसिस गर ।'

सोमा आक्रोशले स्वाँ...स्वाँ सास तानिरहेकी थिई । तैपनि हजुरबालाई एकचोटि मनाउने कोसिसले भनी, 'हजुरबा छोरीलाई एक अवसर त दिनुहोस् । काम गर्ने अवसरै नदिई कसरी थाहा हुन्छ, छोरीको क्षमता ?'
'हन के अवसर चाहिएको हो ? जति नै अवसर पाए पनि ढुङ्गा, ढुङ्गै हुन्छ, माटो, माटै हुन्छ । अवसर पाएर फेरिने केही छ ?' बा कड्किए ।

सुशान्त सानो स्वरमा बोल्यो, 'बा ! अवसर पाए ढुङ्गा पनि देवता हुन्छ, धूलो पनि टीका हुन्छ । पात पनि फूल हुन्छ ।' उसले छोरीको पक्ष लियो, 'सुनिदिनोस् त एकचोटि तपार्इंकी भगवतीका कुरा । कतै महाशक्ति पो देखाइहाल्छे कि ।' सुशान्त आफैं यसो हाँसीटोपल्यो पनि । 

'के चाहिँ सुण्णुपर्ने ? लू भण्,' बा उठेर बसे । मानौं, सुनाउने कुरा नभए सोमाको थाप्लामा वज्रपात हुनेछ ।
'मलाई छोरो हुने अवसर चाहियो,' सोमाले माग राखी ।

अवसर भन्‍ने कुनै वस्तु आफ्नै हातमा छ र लु लैजा भने जसरी बा बोले, 'लु अवसर भो तँलाई । कसरी छोरो हुन्छेस्, देखा ।'

'तिमी' भनेर सम्बोधन गर्दागर्दै बाले 'तँ' भन्‍न थाले । तैपनि सोमाले सहेर भनी, 'म यही हप्ता अदालती विवाह गर्दै छु । मेरो कोखबाट जन्मेको पहिलो सन्तानले तपाईंको वंशको अभिभारा लिनेछ । तपाईंको आशीर्वाद चाहियो ।'
बाले सोमाको कुरालाई हाँसोको तालमा उडाएर भने, 'अर्काको सन्तान वंश मान्‍नु भनेको सम्पत्ति आगोमा सल्काउनु सरह हो । मैले अरुलाई नै वंश मान्‍नुपर्ने हो भने किन तेरो बच्चा कुरिरहने ? यी पर्दिपेका छोराहरु मेरो सम्पत्ति खान मुख बाएर बसेका छन् । तेरो सन्तान र यिनमा केही फरक छ ? केही छ ?' बाले र्‍याखर्‍याख्ती पारे ।

सोमाले भनी, 'हो, मान्दा सबै आफ्ना र नमान्दा सबै बिरानो अवश्य हुन्छ । तर प्रदीप अङ्कल र ममा फरक त अवश्य छ नि । हजुरकै शब्द लिने हो भने ममा हजुरको रगत बगेको छ नि ।'
बा केही सहमत भए र भने, 'अँ, त्यो त हो ।'
प्रदीपले अर्को बल्ब ल्याएर फेर्‍यो । कोठा निकै उज्यालो भयो ।

सोमाले औंलाको उचाइ बढाएर हजुरबाको छातीसम्म पुर्‍याएर भनी, 'उसो भए मलाई आशीर्वाद चाहियो । भोलि काठमाडौं जानुपर्छ ।'

बाले अलिअलि मुस्कुराएर भने, 'तँलाई आशीर्वादै छ । तर छोरो मान्छे हुन्छु भनेर फुर्ती चाहिँ नला मसँ ।'

हजुरबा थोरै भए पनि मुस्कुराएकोमा सोमाले मन जितेर भनी, 'ए हजुरबा ! मलाई नाति सम्झिनोस् । परीक्षा लिनुहोस् । म केमा फेल हुँदी रहिछु, जान्‍न मन छ ।'
बाले हात उचालेर भने, 'दुनियाँ कत्राकत्रा लडाइँ भए । ती सब छोरो मान्छेले गर्‍या हुन् । कत्राकत्रा परिवर्तन भए, ती सब छोरो मान्छेले गर्‍या हुन् । फेरि त्यस्तै लडाइँ भए आइमोइले रोक्न सक्छन् ? सक्दैनन् । अनि किन छोरो मान्छे हुन्छु भनेर फुर्ती लगाउने ?'

सोमाले शान्त भएर भनी, 'हजुरबा ! एक त संसारका शासकहरु महिला भएको भए विश्वयुद्ध नै हुने थिएन । नरसंहार नैै हुने थिएन । महिलाहरु त सधैं शान्तिको पक्षमा हुन्छन् । अनि अर्को कुरा, त्यस्तो युद्ध पुरूषले थालेका हुन् र जसको प्रतिरक्षा पुरूषले नै गर्नुपरेको हो । यदि महिलाले विश्वयुद्ध थालेका भए यसको प्रतिरक्षा महिलाले नै गर्ने थिए । अनि परिवर्तनको कुरा जो छ, म एक्कइसौं शताब्दीको महिलाले त पहिचानका लागि यति सङ्घर्ष गर्नुपरेको छ भने, उहिले पुरूषका बन्धक महिलाबाट के परिवर्तन हुन सक्थ्यो र ? केही महिला अगाडि आए, तिनले पुरूष सरह सुविधा पाएका थिए ।'

बा मुसुमुसु हाँस्दै बोले, 'गफ खिप्न त बहुतै जान्या रछौ बाबुछोरीले नै । उता गर सुत्,' उनले प्रदीपलाई भने, 'खै मेरो कोपरा ल्याइदेर सुत्न जाओ । मलाई पिसापले चापो ।'
सोमा पनि हाँसेर भनी, 'हजुरबा ! काठमाडौँ जानुपर्छ है । म अचम्मको विवाह खुवाउँछु हजुरलाई ।'
'अब रमितै देखाउँछेस् भने त जाइदिउँला न हेर्न ।' 

प्रदीपले सुत्ने ठाउँ देखाइदियो सोमालाई । सोमाले एक भयङ्कर पुरातन सोचलाई थोरै हल्लाएको महसुस गर्दै गर्विलो ज्यान ओछ्यानमा ड्याम्म पल्टाई । हुनेवाला पतिसँग बोल्न भनेर मोबाइल हेरी । सानो टिकटिके मोबाइलको सानो स्क्रिनमा हेर्न पनि एकदम ध्यान दिनुपर्ने । म्यासेज बक्समा पाँच ओटा म्यासेज देखियो । सरले लेखेका रहेछन् । झसङ्ग भएर जुरूक्क उठी । म्यासेज पढेर झन् अचम्म लाग्यो । लेखेको थियो, 'सोमु, मैले वाइफसँग डिभोर्स गरिसकें । 

तिमीसँग विवाह गर्न अब म स्वतन्त्र छु । तिम्रो करिअरलाई सधैं ध्यान दिनेछु । भोलि नै हामी पोखरा जाऔं । तिमीले भेट्न चाहेको क्रिकेट मालिकहरु, खेलाडीहरु सबैसँग म भेटाइदिनेछु । सम्भवतः अब हामी नेपाल बाहिर बस्नेछौं ।'
बिर्सिसकेको सरको यादले फेरि छोप्यो । सिरिरि जाडोमा मलमलको न्यानो ओढ्ने जस्तो मुलायम माया कुनै बेलाको लत थियो । तर मन न्यानो भएर मात्र हुँदैन, कर्तव्य सम्झिनु छ । सोमाले रिप्लाई लेखी, 'सर, त्यति राम्रो परिवार टुटेकोमा मलाई दुःख लाग्यो । आशा गर्छु, फेरि जोडिनुहोस् । मेरो आस नगर्नुहोस्, यही हप्ता मेरो विवाह हुँदै छ ।'

सरले तुरून्तै फोन गरेर प्रश्नहरुको वर्षा गरे, 'सोमा ? तिमी यो के भन्दै छौ ? विवाह ? त्यो पनि अरुसँग । मलाई एकचोटि सोध्नुपर्दैन ? तिम्रो लागि मैले फ्यामिली त्यागें, आफ्नो करिअर त्यागें । अहिले आएर यसो भन्‍ने ? त्यो बिहा तुरून्तै क्यान्सिल गर । तिमीलाई म अरुसँग भएको देख्न सक्दिनँ । एक सक्दिनँ, दुई सक्दिनँ, ती.. ।'

सोमाले फोन काटेर म्यासेज लेखी, 'सरी सर, इट्स अल ओभर । अब केही फेरिन्‍न ।'
उसले फोन अफ गरी । प्रदीपको मोबाइल मागेर भुक्केलाई फोन गरी । भुक्के रून्चे स्वरमा बोल्यो, 'ह्या मिस ! कहाँ हराउनुभएको ?'

सोमाले मायालु पारामा भनी, 'म्याम, नभन न । बूढी भन के । ल, भुक्कु !' आफूलाई सरले जहिल्यै 'सर नभन' भनेको फेरि सम्झिई र हाँसी एक्लै ।
भुक्केले भन्यो, 'मैले लभ साइनसहित छिट्टै हामी एक हुँदै छौं भनेर हाम्रो कपल फोटो तपाईंको फेसबुकमा ट्याग गरेको छु है, बूढी... हाहा !'

'गुड ! हुनेवाला मेरो बू.. ।' 
'बूढा' शब्द पूरा भन्‍नै नपाई मोबाइलमा पैसा सकिएर फोन काटियो । 

सुशान्त
'मेरो घरमा अचम्मखाले बिहा हुँदै छ है केट्टा हो, तिमेर्लाई निम्ता छ,' सुशान्तले सूर्यवीरलाई फोन गर्‍यो ।

सूर्यवीरले जुल्फी हल्लाउँदै नयाँ तिर्खालाई फोन लगाइहाल्यो, 'सुन्दै छस् ? सुशान्त दाइकहाँ बिहा छ रे । सुन्‍ने जतिलाई निम्तो भन्‍नुभाछ ।
सबका हातमा फोन छ । एकैछिनमा उपत्यकाभरि हल्ला फैलियो, 'सुशान्त दाइकहाँ बिहा हुँदै छ रे । सुन्‍ने जतिलाई निम्ता छ रे ।

हँछालिपाले छोटो घाँटी घुमाएर भन्यो, 'के भन्छ फटाहाहरु ? राजाको बिहा हो र सुन्‍ने जति सबैलाई निम्ता हुने ? बूढा मान्छेले कहाँ बिहा गर्छन् हौ, फेरि ? कान तीखो पारेर फेरि सुन ।' 
हँछालिपाले आफंै सुशान्तलाई फोन लगायो । पूरै बिजी थियो । जेठको गर्मीमा उसै तिर्खा हरहर । 

'बिहाको निम्तो पाइयाछ, किन नजानु । बिहा जोसुकैको होस्, खाने त उही मासु–बियर होइन ?' सूर्यवीर टोली नेता भएर करायो, 'सब केटालाई फोन गर ।' 
उसको देहीले चिसो बियर हरहर मागिसकेको थियो ।

'केटीलाई चाहिँ नगर्नू हो, दाइ ?' यसै पनि लामो मुख ज्योति किरणको, झन् लामो पारेर हाँस्यो ।
टोली नेता रिसाएर बोल्यो, 'केटी ल्या भन्या छैन, दाइले मा... साला !'

छोरीले भरथेग गर्ने भएपछि सुशान्त विवाहको चपारो दिनमा पनि बडो आरामले बस्न थाल्यो । माइतीघरको थकाली रेस्टुरेन्टमा बा, श्रीमती, वकिल र उसका साथीहरु गरी पाँच जनाको समूहलाई खाने कुरा राखिदिएर ऊ चाहिँ माथिल्लो तला चढ्यो । आरामले दिउँसै रम पिउँदै आँखा चिम्म गरेर बस्यो । नयाँ लेख्नुपर्ने किताबहरुबारे सोच्यो । झ्याउ लाग्यो । खुसीको दिनमा पनि कति कामै मात्र सम्झिनु । झर्कियो आफैं । दिमाग त खाली भयो । अनि जेजे आउँछ दिमागमा त्यसैको रमित हेर्न मन लाग्यो ।

जसै बा आए दिमागमा । बालाई सम्झन थाल्यो, 'बालाई कस्तो लाग्दो हो ? कसको न्यास्रो लाग्दो हो ? ककसलाई भेट्न मन लाग्दो हो ?' अनि आफूलाई पनि ८० वर्ष पुगेको कल्पना गर्‍यो । श्रीमती, आफन्त, साथीभाइ सबै सकिएको मान्यो । मन कहाँकहाँ दौडिने तर पाइला नसरेको मान्यो । खाँदै गरेको रोटा पनि चपाउने दाँत नभएर सग्लै निल्दा गलामा अड्किएको मान्यो ।

अचानक, दिमाग पूरै शून्य भयो । यो पृथ्वी नै बेकारको लाग्यो । छोराछोरी, सम्पत्ति सबै चुसेर फालेको कोया झैं लाग्यो । केहीसँग पनि लोभ लागेन । कसैको पनि सम्झना आएन । बरू अगाडि गइसकेकाहरुको सम्झनामा मन एकछिन रमायो । 'श्रीमतीसँग भेटिन्छ कि ? ती छिमेकसँग भेट होला कि ? त्यो प्रभाकरेसँग फेरि भेट हुने भो, धत्तेरी !' रिसले नाक खुम्चियो ।

'सर केही ल्याऔं ?' वेटरले तन्द्रा भङ्ग गरिदियो । 
'एक पेग लेऊ न त,' चोरऔंलाले मुनितला देखाउँदै सोध्यो, 'सबै ठीकै छन् ?'
'हुजुरबा आराम गर्नुभएको छ । म्याडम फोनमा बिजी हुनुन्छ,' वेटरले भन्यो ।
'ल ठीक छ ।' 

सुशान्तले दोस्रो पेगसँगै बोल्यो, 'आखिर मनलाई शान्त पार्न जसरी सोच्दा आनन्द लाग्छ, त्यसरी नै त सोचिँदो रहेछ । आस्था भन्‍ने कुरा मनलाई सेक्ने न्यानो त रहेछ ।'
'हजुर ?' बारतिर पस्दै गरेको वेटर फर्केर ट्वाल्ल पर्‍यो । सुशान्त नबोलेपछि त्यसै गयो ।

सुशान्तले फेरि प्रश्न गर्न थाल्यो, आखिर केमा हुन्छ त मोह ? उसले आँखा चिम्म गरेर अन्तस्करणमा खोजी हेर्‍यो । सारा ब्रह्माण्ड खाली थियो । कतै मधुरो प्रकाश थियो । हावासँगै पातपतिङ्गर उडिरहेको थियो । त्यहीँ हावामा एक टुक्रा पतिङ्गर जस्तो आफू पनि उडिरहेको पायो । उड्नुमा कुनै थकान थिएन । हावा रोकिँदा अड्नुमा कुनै गर्व पनि थिएन ।

त्यहाँ कसैले कसैलाई सहयोग गर्नु थिएन, सहयोग लिनु पनि थिएन । दिनु पनि थिएन । अँध्यारो कोठामा बिहानी घामको प्रकाश थोरै छिरे जस्तो कतै थोरै उज्यालो देखिएको थियो । त्यो अँध्यारो ब्रह्माण्डबाहेक केही छिद्रबाट छिरेर अन्त पनि जाने ठाउँ छ कि भन्‍ने अलिअलि आभास चाहिँ थियो । अगाडि अन्तस्करणमा देखिएको क्षण र तत्काल भोगिरहेको क्षणमा कुन चाहिँ रमाइलो होला भनी तुलना गरिहेर्‍यो ।

बस्, उस्तै थियो । यत्ति हो, त्यो ब्रह्माण्डमा अरुका लागि केही गर्नुपर्ने कामै थिएन, न त आफ्नै लागि । त्यहाँ असमानता, अन्याय, अभाव केही थिएन । तर वर्तमान ब्रह्माण्डमा यी सबै थिए र अरुका लागि सहयोग गरेर सन्तोष बटुल्न पाउने एक अवसर थियो ।

'कस्तो निष्ठुरी मान्छे हौ, हना,' नुमा सारी उचालेर चिच्याई, 'बालाई श्वास फेर्न गाह्रो भएछ, पङ्खाको हावाले । अस्पताल लैजाऊँ ।'
'अस्पताल ? कान्छाले फोन गरिन ?'

(लेखक राईको उपन्यास थाङग्रा आउँदो फागुन १३ गते शनिबार मण्डला थिएटर थापागाउँमा विमोचन हुँदैछ)


Author

थप समाचार
x