दुःख के हो, हैटीलाई सोध !
सैनिक मुख्यालयको जनसम्पर्क निर्देशनालयबाट फोन आयो, ‘म क्याप्टेन बुद्ध थेबे । मिसन भ्रमणमा जाने पत्रकारको टोलीमा तपाईं पनि पर्नुभाछ, कृपया सक्दो छिटो पासपोर्ट कलेक्ट गराइदिनुहोस् न है ।’ मैले सोधेँ– कुन मिसन हो नि ? सायद लेबननका लागि हो कि ?
‘मिसन डेलिगेट्स’मा परिएछ भन्ने भो, खुसी लाग्यो । बरू एक दुईवटा अरू कुरा थिए, जो मिसनको ‘एक्साइटमेन्ट’लाई ओभरटेक गर्न खोज्ने !
पहिलो कारण– विश्वविद्यालयमा थेसिसका लागि भाइबाको समय तोकिएको थियो, भाइबाविना थेसिस अपुरो, थेसिसविना डिग्री अधुरो !
अनि दोस्रो कारण— हाम्रो पहिलो सन्तानका लागि श्रीमती आस्था प्रेगनेन्ट भएको भर्खर दुई महिना हुँदै थियो । उसलाई उत्पाद ‘किचन इरिटेसन’ले गर्दा कथाले बिहान बेलुका सकभर घर नछोड भन्थ्यो । मिसन भ्रमण एउटा मौका हो, भरसक गुमाउने त कुरा भएन, जसोतसो बन्दोबस्त गर्नै थियो, पासपोर्ट बुझाउन मुख्यालय गएको थिएँ प्रवक्ता रमीन्द्र क्षत्रीसँग गफगाफ हुँदाहुँदै एक विकल्पको कुरा आयो, ‘अन्यथा नठान्ने भए मे महिनाको पहिलो साता जाने गरी हैटी मिसन रोज्न पनि सक्नुहुन्छ !’
मलाई त खोजेझैँ भयो, अनि कत्ति पनि विलम्ब नगरी लेबनन छोडी हैटी रोजेँ । यो सन् २०१२ अप्रिलको कुरा हो । नजिकको लेबनन छोडी टाढाको हैटी रोज्नुमा मेरा लागि दुई–तीन हप्तापछिको सजिलो समय त हो नै, त्यसको अलावा अरू दुई सन्दर्भ पनि थिए ।
सन् २०१० जनवरी १२, ल्याटिन अमेरिकी देश हैटीमा सात रिक्टर स्केलभन्दा माथिको शक्तिशाली भूकम्प गयो । हैटीको ‘भूकम्प विपत्ति’ खबर विश्वभर फैलियो । नेपाली सञ्चार माध्यमले पनि उक्त विपद्लाई समाचारका रूपमा पछ्याए । बीबीसी, सीएनएन, अल जजिराजस्ता विश्वव्यापी कभरेज गर्न सक्ने टेलिभिजनहरूको भिडियो साभार गरी–वरी भए पनि नेपाली टेलिभिजन च्यानलहरूले समाचार बनाए । त्यतिखेर म एभिन्युज टेलिभिजनमार्फत पत्रकारिता गर्थें । एभिन्युजले पनि हैटी कभरेज आफ्ना हिसाबले गर्यो नै । सामान्य ज्ञानका रूपमा हैटीलाई सुन्नु जान्नु एउटा कुरा थियो, हैटीबारे अलि ज्यादा जानकारी र चासो चाहिँ भूकम्प केन्द्रित समाचारमा घोत्लिँदा भयो ।
०००
ओझेल परिसकेको थियो, २०१० अक्टोबर महिनामा फेरि एउटा कोक्याउने खबरले ‘हैटी’ बिझायो । भूकम्पले गर्दा झण्डै साढे तीन लाख मानिसले ज्यान गुमाउनु र अरु लाखौँ जनता घरबारविहीन हुनुको पीडामाझ फेरि हैजाको अर्को महामारी थपियो । हैजाको महामारीले त्यहाँका लाखौँ भूकम्प पीडितलाई सताउनुको संवेदना त छ नै, हैजासँग जोडिएको त्यो भन्दा फरक पीडा नेपालसम्म आइपुग्यो । पीडा यो अर्थमा अझ पेचिलो बन्यो कि हैटीमा हैजा फैलिनुको दोष नेपाली शान्ति सेनामाथि लाग्यो । आरोप लाग्नुको दुःखान्त पनि कस्तो भने त्यही वर्ष जाजरकोट लगायतका जिल्लामा झाडापखालाबाट केही मान्छेको मृत्यु भएको थियो र रोग नियन्त्रणमा अलि विलम्ब पनि ।
अनि शान्ति मिसनका लागि सगभागी हुने नेपाली सेनाको पल्टन प्रत्येक छ–छ महिनामा फेरबदल भइरहने । यही ‘सेन्स’लाई आधार बनाएर कुनै युरोपेली जनस्वास्थ्य विशेषज्ञले ‘ननसेन्स लजिक’ पेस गरेछन्, ‘हैटीमा हैजाको विपद् दक्षिण एसियाली भू–भागका मान्छेको दिसाबाट फैलिएको हो ।’
यत्ति भएपछि अरु के चाहियो ? जाजरकोटमा झाडापखाला र हैटीमा हैजा ‘बाघ कराउनु र बाख्रो हराउनु’ जस्तै भयो । विदेशीले गर्दा हैजा फैलियो भन्ने रोषका कारण ‘हैटी’ आन्दोलनमा जल्न थाल्यो । आन्दोलनको निशाना बने नेपाली शान्ति सेना । अनाहकको अबगालले नेपाली शान्ति सेना चेपुवामा परेको उताको खबर यता नेपाली सञ्चार माध्यममा आउने नै भए । त्यो घटनाले मलाई अलि नमीठो गरी छोयो । नेपालीलाई सजिलै ‘निम्छरो’ देखाउन सकिने भएर आरोप लागेको हो अथवा साँच्चै आरोपमा केही सत्यता छ ? नेपाली सेनालाई साँच्चै ‘नखाएको विष’ लाग्दै हो भने त त्यो जाती भएन ।
म एभिन्युज टेलिभिजनमा ‘खबरभित्रको खबर’ कार्यक्रम निर्माताका रूपमा कार्यरत थिएँ, उक्त कार्यक्रमको शैली पनि कुनै विषयमा अलि चिरफार गर्ने खालकै थियो । न्युज रूममा सिनियरहरूसँग ‘हैटी हैजा’बारे अलग्गै एक दुईवटा ‘खबरभित्रको खबर’ बनाउने सल्लाह गरेँ । त्यस बेलाका सेनापति छत्रमानसिंह गुरुङ र सैनिक प्रवक्ता रमीन्द्र क्षत्रीसँग औपचारिक÷अनौपचारिक कुरा गरेँ । त्यसबेला संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाका तर्फबाट हैटीका लागि कन्टिन्जेट कमान्डर महासेनानी रतीन्द्र खत्रीसँगको विस्तृत कुराले विषयको गहिराइ र गाम्भीर्य बुझ्न ठूलो मद्दत गर्यो ।
संयोगले त्यसबेला हैटीका लागि युनिसेफको कन्ट्री डाइरेक्टरमा अनिल रघुवंशी रहेछन् । उनीसँग पहिलेदेखि नै चिनजान भएका कारण ‘हैटीको हैजा’बारे नेपाली सेनाको आधिकारिक धारणामाथि ‘क्रस चेक’ गर्न अझ सजिलो भयो । सबै हिसाबले विश्लेषण गर्दा नेपाली शान्ति सेनामाथिको आरोप यथार्थ नभई अफवाह मात्र रैछ भनी रिपोर्ट बनाउन र बजाउन कुनै द्विविधा भएन ।
उताको ‘अफवाह’ चिर्न हामीले यता प्रसारण गरेका सामग्रीले गर्न सक्ने खासै केही त थिएन तर एक तप्का नेपाली जमात जो समसामयिक विषयमा चासो राख्छ, उनीहरूसम्म सही ‘रिपोर्टिङ’ त पुग्यो । यसरी हैटी नपुग्दै नै भावनात्मक रूपमा हैटीको राजधानी पोर्ट–औ प्रिन्स, आर्टिबोनाइट नदी किनार र मिराबेल छेउछाउका सुकुम्बासी बस्ती अनि नेपाली बटालियनको ब्यारेकमा एक हदसम्म म पुगिसकेको थिएँ ।
०००
४ मे २०१२ को साँझ पाँच बजे एयर युरोपाको भीमकाय हवाइजहाजमा बसिसक्दा हैटीलाई कैद गर्ने तप्काहरू मानसपटलमा तयार भइसकेका थिए । भारत र स्पेनमा भुलेको समयबाहेक बाइस घण्टाको हवाइ उडानपछि राजधानी पोर्ट औ प्रिन्समा ओर्लिनासाथ यसअघि सुनेका र टेलिभिजनको पर्दामा देखेका दृश्य मनमा एकाकार हुन थालिहाले ।
सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले पत्ता लगाएको एउटा टापु अहिले हैटीको नामले चिनिन्छ । वर्तमान हैटीसँगै डोमेनिक रिपब्लिक पनि सन् १६९७ सम्म स्पेनको उपनिवेशमा थियो । सत्रौँ शताब्दीको अन्त्यतिर स्पेनको उपनिवेशबाट हैटीको भू–भाग फ्रान्सको उपनिवेशमा पुग्यो । फ्रान्सले हैटीलाई आफ्नो कब्जामा लिएपछि अफ्रिकन मूलका झण्डै पाँच लाख ‘दासहरू’लाई हैटीमा ल्यायो ।
अफ्रिकी मूलका काला जातिलाई हैटीको उर्वर भूमिमा खेती गराएर फ्रान्सले त्यसको भरपुर फाइदा लियो । सय वर्षभन्दा लामो फ्रेन्च उपनिवेशलाई तोड्दै हैटीले सन् १८०४ मा स्वतन्त्रता प्राप्त गर्यो । काला जातिका गुरिल्ला नेताको अगुवाइमा भएको स्वतन्त्रता अभियानमा हैटीले आफूलाई गणतन्त्रमा स्थापित गरायो तर, समृद्धिको यात्रा तय गर्न सकेन । सन् १८०७ देखि हैटीमा गृहयुद्ध सुरु भयो । उत्तर र दक्षिण क्षेत्रमा बसोवास गर्ने हैटीमा फरक–फरक नेतृत्वको फरक–फरक स्वार्थका कारण हैटीले चरम गृहयुद्ध भोग्यो ।
सन् १८२१ मा सेन्ट डोमेनिकलाई समेत हैटीले स्पेनिस उपनिवेशबाट आफ्नो अधीनमा राख्यो, सन् १८४४ सम्म सेन्ट डोमेनिक हैटीको अधीनमा रह्यो । स्वतन्त्रतासँगै हैटीमा वैभवपूर्ण यात्रा सुरु हुनै मात्र लागेको थियो फेरि द्वन्द्वको बीउ रोपियो, लामो समय मुलाट्टो जातका गोरा धनाढ्यहरू र काला जातिहरूबीच गृहयुद्ध चर्कियो । ऊन, कफी र मकै उत्पादनका लागि उर्वर मानिने हैटीको विगत कृषि उत्पादनको वैभवपूर्ण इतिहासमा दर्ज भए पनि अहिले त्यसको कुनै आभास छैन ।
उपनिवेशबाट मुक्त हुने विश्वको पहिलो राष्ट्र हैटी हो । स्वतन्त्रताको यस्तो सौभाग्य पाएको हैटीले त्यसको भरपुर उपयोग गर्न कहिल्यै सकेन । सन् १८३८ मा फ्रान्सले आफ्नो पूर्व उपनिवेश हैटीलाई अन्तर्राष्ट्रिय मान्यता दियो । सन् १८६२ मा संयुक्त राज्य अमेरिकाले हैटीलाई कूटनीतिक मान्यता दियो । तीनतिर सुन्दर समुद्री तट, उत्तरतर्फ संयुक्त राज्य अमेरिकासँगको समुद्री सीमाले घेरिएको देश, क्षेत्रीय हिसाबले डोमेनिक रिपब्लिक, क्युबा, भेनेजुयला, ब्राजिलजस्ता विकासशील देश । तर हैटी दायाँबायाँका छिमेकीभन्दा निक्कै फरक र निक्कै पछाडि रहेछ ।
सन् १९१५ देख १९३७ सम्म अमेरिकी सेनाले हैटीमाथि गरेको निगरानीले हैटीको सार्वभौमसत्तालाई खलल पारेको मनोविज्ञान नागरिकमा अझै हटेको रहेनछ । हैटीका छिमेकी विशेष गरी अमेरिकाको ‘कुदृष्टि’लाई हैटीमा राष्ट्र प्रमुखले बुझ्न सकेनन् जसका कारण हैटी अहिले पनि अस्थिरताको भूमरीमा पिल्सिएको छ ।
सन् १९५७ मा फ्रान्सकोइस डुमालियरले सत्ता ‘कु’ गरेपछि हैटीमा तानाशाही सुरु भयो र एकपछि अर्को गर्दै सत्ता हत्याउने खेल चलिरह्यो । सैन्य बल र आन्दोलनको आडमा सत्ता हत्याउने काम सन् १९९० को दशकसम्म जारी रह्यो । सन् २००४ मा हैटीको उपनिवेश मुक्तिको दुई सय वर्ष पूरा हुन लाग्दा स्थिति निक्कै भयावह बनिसकेको थियो ।
सन् २००० मा राष्ट्रपति बनेका एरिस्टाइड २००४ मा गलत्याइए । देशको सेना र प्रहरीभित्रको राजनीतिकरणले चरम रूप लियो । अन्ततः संयुक्त राष्ट्रसंघले हैटीमा हस्तक्षेप गर्यो र हैटीको सेना, पुलिसलाई भंग गरेर राष्ट्रसंघअन्तर्गतका बहुराष्ट्रिय सेनालाई हैटीमा तैनाथ गर्यो ।
निस्सार दुःखको बोझ खेप्दाखेप्दा उज्यालोबाट विमुख हुनुपर्दाको ‘हैटी हृदय’ले चयनको सास फेर्न पाओस् । हिरा कुल्चेर कोइला उधिन्नुपर्ने तिम्रो नियतिको अन्त्य होस् । गोलार्धको अर्को कुनाबाट शुभकामना ।
राष्ट्रसंघले हैटीको सुरक्षा व्यवस्थामा पूर्ण हस्तक्षेप गरेको डेढ दशक बिते पनि स्थिति अझै सङ्लिएको छैन । विघटनमा परेको हाइसियन पुलिसले पुनर्जीवन पाएको छ । तर, सेनाको पुनर्निमाण भएको छैन । राजनीतिक अस्थिरताले पिल्सिएको हैटीमा समुद्री आँधी र प्राकृतिक प्रकोप अर्को विडम्बना रहेछ । प्रकोपले सबैभन्दा भयावह स्थिति चाहिँ सन् २०१० को महाभूकम्पमार्फत देखायो । करिब साढे तीन लाख मानिस मारिए र दसौँ लाख हाइसियन घरबारविहीन भए । त्यसलगत्तै २०१० नोभेम्बरमा हैटीमा हैजा फैलियो यसले पनि हैटीमा ठूलो मानव संकट पैदा गर्यो ।
छिमेकी देशहरूले समृद्धिको लय समाउदै क्यारेवियन काखमा रमाउने कोसिस गरिरहँदा हैटी भने अझै पनि जर्जर जीवन बाँचेको छ । सामरिक चासोबाट अमेरिकाले हैटीलाई प्रयोग गर्नु हैटीको दुर्भाग्य रहेछ । यो दुर्भाग्यलाई बढावा दिन बारम्बारको आन्तरिक द्वन्द्वले ठूलो भूमिका खेल्यो । निर्वाचन पर्यवेक्षणको उद्देश्यले सन् १९९० मा हैटी प्रवेश गरेको संयुक्त राष्ट्र संघको भूमिका सन २०१७ सम्म सर्वेसर्वा बन्यो ।
सन् २०१७ यता औपचारिक रूपमा बहुराष्ट्रिय सेनाका टुकडीहरू धेरै हदसम्म कटौती भैसके । संयुक्त राष्ट्रसंघअन्तर्गत नेपालसहित उन्नाइस देशका सेना र पुलिस हैटीमा तैनाथ थिए । सैन्य बलसहित राष्ट्रसंघले हात हालेको डेढ दशक नाघिसक्दा पनि हैटीको आन्तरिक अवस्थामा सन्तोषजनक सुधार आएन ।
राजनीतिक अस्थिरताले हैटीलाई गाँज्दै लैजाँदा भ्रष्टाचारले पनि नेटो काट्यो । राजनीतिक दलहरूले आफ्नो स्वार्थअनुरूप अमेरिका, क्युबा, भेनेजुयला, ब्राजिललगायतका देशलाई काखी च्याप्दा हैटीको राष्ट्रियता सधैँ कमजोर बन्यो, जसको फाइदा छिमेकीले उठाए । सीमित ‘धनिमानी’हरू अमेरिका, क्यानडा र फ्रान्समा बसेर देशमा ‘रुल’ गर्नेकै दबदबा छ । देशमा मध्यम वर्गीय जमातको पकड नहुँदा र राजनीति अस्थिर बन्दा एउटा उर्वर देश कसरी कमजोर बन्दो रहेछ ? हैटी टेकेपछि र देखेपछि थाहा भो ।
राजनीतिक अस्थिरता र द्वन्द्वका चरणमा कहिलेकाहीँ नेपाललाई पनि हैटीको दाँजोमा राखेर हेर्ने चेष्टा हामीले सुनेकै हो, नेपाली समाजको चेतनास्तर, समाजको बनोट र गठिलोपन हैटीसँग तुलनै हुदैन । केही न केही गरिरहने जिजीवीषा हुनु, सख्खरखण्डझैँ जुनसुकै बालीसँग पनि मिलेर फल्न सक्नु नेपाली समाजको चरित्र हो । हाम्रो नेपाली समाज कुनै पनि सक्षम देशको दाँजोमा कमजोर छैन । हो, समाज गठिलो भइकन पनि गतिलो शासक नपाउनु चाहिँ नेपालको दुर्भाग्य हो कि !
अधिकांश हाइसियनले अमेरिका, फ्रान्स तथा क्यानडाको रवैयालाई शंकाको दृष्टिले हेर्छन । त्यसैको परिणाम होला, राष्ट्रसंघको मिसनलाई पनि अधिकांश हाइसियनले नरुचाएको । यस्तो अवस्थामा नेपाली शान्ति सेनाको शालीन उपस्थिति पनि हाइसियनका लागि बेलाबखत कसिंगर बनेको । राष्ट्रिय सरकारको व्यवस्थापनमा भन्दा राष्ट्रसंघ र विदेशी दाताहरूको सहयोगमा अगाडि बढेको देशले आन्तरिक अवस्था र आत्मसम्मानमा कति चोट खेपे होला ? सम्झिँदा दया लाग्छ ।
फ्रेन्च उपनिवेशको चुसाइबाट मुक्त भएको दुई सय वर्ष बितिसक्दा हैटीले झन्डै पाँच दर्जन राष्ट्रप्रमुख पाइसकेको छ तर, कुनै पनि राष्ट्र प्रमुख हैटीका लागि राजनेता बन्न सकेनन् । बाँकी कारण जे जति भए पनि राजनीति सङ्लो हुन नसक्दा हैटी अझै पनि अभाव र द्वन्द्वमा फसिरहेको छ । हैटीको स्थलगत अवलोकनबाट तेस्रो विश्वअन्तर्गत पर्ने हामी नेपालीले महसुस गर्ने थुप्रै घटना देखियो । राजनीतिक अस्थिरता देशका लागि सबैभन्दा घातक बन्दोरहेछ । प्राकृतिक हिसाबले सम्भावना हुँदाहुँदै पनि देश अति गरिबीको सूचीमा परेको किन होला ?
छिमेकमा सम्पन्न देश छन्, अन्तर्राष्ट्रिय सहयोगको ओइरो छ, सामरिक हिसाबले सयौं किलोमिटर भू–भाग समुद्रसँग जोडिएको छ । समुद्रले नजोडे पनि प्राकृतिक रूपमा त नेपाल पनि सम्पन्न छ, तर किन समृद्धि चुम्न सकेको छैन हैटी र नेपालले ? कारण राजनीतिक अस्थिरता र विदेशी हस्तक्षेप, जसको परिणाम चरम आन्तरिक द्वन्द्व । हैटीको वैभव झल्काउने सिटाडेल किल्ला र सिटाडेल दरबार अहिले खण्डहर बनेका छन् । उत्कृष्ट समुन्द्री तटमध्येको एक लावादी बिच विदेशीको हातमा छ तर हैटीले यस्ता सम्पदाहरूलाई आफ्ना लागि प्रयोग गर्न सकेको छैन । आँखाले देखिन्जेलको उर्वर भूमि बाँझै छ, कृषिमा कसैको चासो छैन ।
अहिलेको राजधानी पोर्ट औ प्रिन्सदेखि पुरानो राजधानी क्यापहाइसनसम्म पुग्न झन्डै दुई सय पचास किलोमिटरको सडक यात्रा गरियो होला । यति लामो दुरी तय गर्दा बाटोभरि कहीँ कतै पनि खुसियालीसहितको गृहस्थी झल्काउने बस्ती देखिएन । यसो निर्वाह चल्ने गरी ठडिएका शुष्क बस्ती छन् । बस्तीले ओगटेको खेत, बारी, ढिक, कान्लाहरू बाँझिएका छन । इतिहास सुन्दा पत्यार लाग्दैन, हिजो जुनेली मकै एसियासम्म निर्यात गर्ने मुलुक यही हो ? उखु र चिया उत्पादनमा अब्बल भूमि यही हो ? सदाबहार उष्णताको वरदान पाएको भूमिमा कृषिको कुरा इतिहास मात्र बनेको छ ।
बाह्रै महिना खेतीपातीका लागि मौसम अनुकूल छ तर किन लाखौँ मानिसले राहतको अन्न खानुपरेको होला ? हैटीका राजनीतिक दलहरूले आफूअनुकूल छिमेकी देशको बुई चढ्दा जानाजान छिमेकीले हैटीलाई परनिर्भर बनाएका छन्, अन्ततः कमजोर नै बनाएका छन् । नेपालमा बसेर हैटीको तुलना गर्दा हाम्रो गोलार्ध नै फरक छ । अक्षांश र देशान्तरका हिसाबले झन्डै एघार घण्टा समयको अन्तर छ तर राजनीतिक अस्थिरताको फेहरिस्त जुधाएर हेर्ने हो भने दुःखका केही धर्सा समान हुन् झैँ लाग्छ । बलशाली छिमेकी हुनु र त्यो छिमेकीको चरित्र ‘आफैँ... आफैँ धामी’ खालको भयो भने बिचरा कुनै ‘निम्छरो’ देश झन् निरीह बन्दो रहेछ ।
हैटीबाट क्यारेबियन काखको उत्तरी गज छिचोल्नासाथ ‘वैभव’को अमेरिकी आँगन सुरु हुन्छ । हैटीको ‘डियर एन्ड नियर’ छिमेकी अमेरिकालाई एउटा सोझो प्रश्न सोध्न मन छ । डियर अमेरिका, तिब्बती जनताको चासो असाध्यै छ, उत्तर कोरिया अति दुख्छ, इराक अफगान, सिरियाको मानवीय संकट टार्न आफूले मात्र ठेक्का लिएझैँ लाग्छ । मानव अधिकार र विधिको शासन के हो भनी बुझाउन अमेरिकी ‘गाइड बुक र गेस पेपर’ सिफारिस गर्न कुनै देशलाई छोड्नु हुन्न ।
तैपनि, विशाल अमेरिकाको नाकैमुनि बिचरो हैटी देख्दा दया लाग्दैन ? किन होला आडैमा रहेको ‘हैटी दुःख’ बल्झिरहने ? विश्वभर बाँड्दै हिँड्ने शान्ति, सम्मान र समृद्धिको ‘अमेरिकी डक्ट्रिन’ क्यारेबिय काखमा किन शिथिल बनेको ? बस्, प्रश्नहरू मात्र । जवाफ त राजनीतिको विश्व–रंगमञ्चले किस्ताबन्दीमा दिई नै रहने छ ।
हेलो हैटी !
भूगोलको कुनै पूर्वी कुनाबाट जम्मा जम्मी दुई साता घुम्न आएको मनुवाले सारा चिज खत्तम मात्र देखेछ भन्ने नठान्नू है । लावादी र ज्याक्मेल जस्ता समुद्री तटको सुन्दरता, जेन ज्याक्युज स्तुपाको कलात्मकता, सिटाडेल किल्लाको वैभवपूर्ण इतिहास । अनि उर्वरता लुकेको तिम्रो प्राकृतिक छाती !
त्यहाँ देखेका हरेक सुन्दर चीज आन्ध्र महासागरको गहिराइभन्दा पनि अझ गहिरो गरी मनमा बसेका छन् ।
छिमेकी त हामीले पनि ‘भव्य’ नै पाएका छौँ । छिमेक बलशाली भएर के गर्नु ?
देशमा आफ्नै अभिभावकहरू ‘लबस्तरो’ भइँदिँदा ‘आफ्नै बगलीको खट्टे पनि मितसँग मागेर खानुपर्ने’ जस्तै अफ्ट्यारोमा चल्नुपर्दो रहेछ ।
निस्सार दुःखको बोझ खेप्दाखेप्दा उज्यालोबाट विमुख हुनुपर्दाको ‘हैँटी हृदय’ले चयनको सास फेर्न पाओस् ।
बस्, हिरा कुल्चेर कोइला उधिन्नुपर्ने तिम्रो नियतिको अन्त्य होस् । गोलार्धको अर्को कुनाबाट शुभकामना ।
@Sshuvas
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया