सप्ताहन्त

पुस्‍तक समीक्षा

फिलिङ्‍गो : अपूर्ण बनाइएका महिलाको कथा

एलबी विश्वकर्मा |
असोज २३, २०७८ शनिबार ११:८ बजे

मैले भर्खरै पढेको उपन्यास हो, ‘फिलिङ्गो’ । साहित्यकार प्रभा बरालले लेख्नुभएको ‘फिलिङ्गो’ पोखरेली परिवेशमा हुर्किएकी सीमान्तीको कथामा आधारित छ । कामकाजी महिलाको जीवनमा आधारित यस उपन्यासमा महिलाका सुख, दुःख र जीवन सङ्घर्षसँगै महिला सशक्तीकरण र विभेदका कुराहरूमा जोड दिएको छ ।
भर्खरै स्नातक पढ्दै गरेकी सीमान्तीलाई पढाइमा औधि रुचि हुन्छ । उनलाई राम्रो अध्ययन गरेर समाजसेवामा जुट्ने रुचि हुन्छ । तर परिवारलाई उनका लागि असल श्रीमान् चाँडो विवाह गरिदिनुपर्ने जिम्मेवारी । परिवारले जापानमा कार्यरत निर्भयसँग विवाह गरिदिन्छन् । सीमान्तीले अध्ययनलाई थाँती राखेर जापान जाने भइन् ।

श्रीमान्सँग वर्षौंपछि भेट्ने आशा पूरा हुँदै थियो । उनीसँग प्रेम गर्नु, एकअर्काका रङ्गीन सपना साटासाट गर्ने लालसा बोकेर उनी भिनाजुका साथ जापान जान्छिन् । जहाजमा साथी भिनाजु भएकाले अलि असजिलो महसुस गर्दै उनी यात्राभरि लजाइरहिन् । आफ्नो श्रीमान् निर्भयसँग बस्न उनी विदेश हान्निएकी थिइन् । 
पहिलो एक हप्ता कोठामै बित्छ । सम्पूर्ण कागजी प्रक्रिया मिलाइसकेपछि नेपाली दिदी सुजु भण्डारीको सहयोगमा उनी काम पाउँछिन् । काम गर्दा हरेक घण्टा पैसा नै पैसा आउने थाह पाएपछि दैनिक १८ घण्टा काम गर्न थाल्छिन् । उनको दैनिकी दिनानुदिन व्यस्त हुँदै जान्छ । अझ भनौँ, रोबोटजस्तै खटिन थाल्छिन् । दिनभर दौडधुप कामको चटारो थकान । रातमा सबै बिर्सिएर, श्रीमान्को यौन प्यास मेटाउनुपर्ने बाध्यताको कसौटीमा उनी बाँधिएकी हुन्छिन् । दुई वर्ष गुज्रिन्छ ।


विदेशी भूमिमा परिवेश फरक थियो । कानुन र चालचलन बिल्कुल फरक थियो । तर जीवन निर्वाह गर्ने तरिका भने नेपाली समाजले केवल महिलाका लागि बनाइदिएको परिधिभित्रै थियो । श्रीमान्का लागि उनी यौनदासी थिइन् । किनकि श्रीमान्लाई यौन सुख सर्वोपरि लाग्थ्यो, सीमान्तीलाई श्रीमान्को खुसी । 
उनले आफ्नो सर्वस्व श्रीमान्का लागि लुटाउन तयार थिइन् । जीवनको कुनै मोडमा श्वास माग्दा पनि दिन तयार सीमान्तीका आफ्ना सपना भने हुरीले उडाइसकेको हुन्छ । उनी श्वासविहीन बुख्याँचा जस्तै निरीह थिइन् ।

सीमान्तीले श्रीमान्भन्दा दोब्बर कमाइ गर्थिन् । तर त्यो कमाइमाथि उनको हक थिएन । उनी सबै तलब श्रीमान्लाई थमाउँथिन् । कहिलेकाहीँ उनलाई पनि आफ्ना भाइबहिनीलाई उपहार पठाइदिन मन लाग्छ । उनीहरूलाई खर्चपर्च र मोबाइल किनेर पठाउन खोज्छिन् । श्रीमान् निर्भयले त्यो कुरा स्वीकार गर्दैनन् । यो नेपाली मोडलको पारिवारिक संरचनाको परिधि पनि हो । हाम्रो समाजमा महिलाले परिवारको नेतृत्व गर्न सक्दैनन् भन्ने छ ।
 
गाउँ टोलमा विभिन्न कार्यक्रम भइरहेका हुन्छन् । हरेक घरका व्यक्तिहरूलाई निमन्त्रणा गरिन्छ, तर पुरुष भएमात्रै । यदि कुनै दिन घरमा पुरुष छैन भने बोलाइँदैन, किनकि हाम्रो समाजले महिलाहरू बोल्दैनन्, टाउको निहुराएर बस्छन्, उनीहरू कमजोर छन् भन्ने आकलन गर्छ । यो कथामा पनि सीमान्तीले आफू कसैका लागि प्रयोगात्मक सामग्री हुँ भन्ने सहजै महसुस गर्न सक्दिनन् । श्रीमान्लाई खुसी पार्ने बहानामा जीवन खर्च भइरहेको हुन्छ । दैनिकी इसारा र इच्छाअनुसार चलेको हुन्छ, तर नेपालबाट तालिमका लागि पुग्नुभएकी त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक अजिला म्यामले उनको आँखा खोलिदिन्छिन् ।

देशविदेश घुम्नुभएकी र समाजलाई बुझ्नु भएकी प्राध्यापक अजिलाले आफूले कमाएको केही प्रतिशत आफ्ना लागि बचत गर्न सुझाव दिइन् । उनले नेपाली बैंकमा कसरी पैसा राख्ने ? आफ्नो बचत कसरी निरन्तर चेक गर्न सकिन्छ भन्ने कुरा सम्झाएपछि सीमान्तीमा बैंक खाता खोल्नैपर्छ, भन्ने भावना उजागर हुन्छ । आफ्नो कमाइको केही प्रतिशत निर्भयलाई नदिएरै राख्न थाल्छिन् । 

निर्भय आफ्नी जापानी महिला साथीलाई खाना लगिदिनका लागि समेत सीमान्तीलाई नै प्रयोग गर्छ । हिन्दू संस्कारअनुसार सदाबहार पतिव्रता जीवन निर्वाह गरिरहेकी सीमान्तीलाई निर्भयको चरित्रमाथि कुनै शंका हुँदैन । उनी लगातार श्रीमान्की जापानी साथीका लागि खाना पकाइदिन्थिन् । कहिलेकाहीँ उनलाई भेटाउन निर्भयलाई आग्रह गर्दा उनले अनेक बहानाबाजी गरी टारिदिन्छन् ।

सीमान्तीलाई अजिला म्यामको अनुसार जम्मा भएको पैसा तत्काल बैंकमा राख्नुपर्ने थियो । अन्यथा पोल खोलिने त्रास पनि उत्तिकै ज्यादा । ठण्डी मौसमको मौका पारी एक महिना बिदा लिएर सीमान्ती नेपाल आउँछिन् । घरपरिवार र माइतीलाई समेत जानकारी नदिई पोखराको नबिल बैंकमा खाता खोल्छिन् र सात लाख रुपैयाँ मुद्दती खातामा राखेर जापान फर्कन्छिन् । 

निर्भयको व्यवहारमा केही परिवर्तन महसुस गर्न थालेकी थिइन् । पहिलो पटक जसरी निर्भय झम्टिएर यौन प्यास मेटाउँदैनन् । अरु दिन पनि उनले यौन सम्बन्धमा उति रुचि राख्न छाडेका हुन्छन् । सीमान्तीलाई उनी कुनै परस्त्री प्रेममा हुनुपर्छ भन्ने शंका लाग्छ, तर कोसँग ? निर्भयले मिसावा केवल सँगै काम गर्ने साथीका रूपमा परिभाषित गरेको हुन्छ ।

एक दिन सीमान्तीलाई निर्भयको रेस्टुरेन्ट मालिकले फोन गर्छन् । उनलाई रेस्टुरेन्टमा बोलाउँछन् । यतिबेला सीमान्ती आत्तिएकी हुन्छिन्, जसको सहारामा आफू जापानमा छिन् । उसलाई केही समस्या पर्‍यो कि ? मनमा अनेकौं तर्कनाहरू आउँछन् । हतार–हतार रेस्टुरेन्ट पुग्छिन् तर निर्भयलाई काम गरिरहेको देखेपछि अलि सन्तोषको सास फेर्छिन् र मालिकको अगाडि पुग्छिन् । मालिकले निर्भयको चालचलन अमर्यादित भएको र यसबाट कम्पनीमा ठूलो असर परेको व्यहोरा बताउँछन् । निर्भयमाथि काममा बेवास्ता गर्ने, रेस्टुरेन्टबाट कसैलाई केही नभनी दिनहुँ खानेकुरा लैजाने र जापानी महिलासँग आपत्तिजनक अवस्थामा भेटिएको आरोप मालिकले लगाउँछन्, र आफू अबका दिनमा निर्भयलाई काम दिन असमर्थ भएको कुरा बताउँछन् ।

श्रीमान्को जागिर गुमाएको पीरले सीमान्तीका लागि टेकेको जमिन भासिन्छ । आँखा अगाडि अन्धकार हुन्छ । यद्यपि, साहस जुटाएर मालिकसँग निर्भयलाई कामबाट ननिकाल्न विन्ती बिसाउँछिन्, तर मालिकले मान्दैनन् । 

निर्भयको त्यो कर्तुतपछि पनि सीमान्ती उनी अगाडि निरीह देखिइन् । मनमा प्रश्नहरूको आर्तनाद चले पनि उनको बोली फुरेन । निर्भय कामको खोजी गर्न थाल्यो । दुईजनाको सम्बन्धमा चिसोपन आयो । यति भइसक्दा पनि सीमान्तीको आशाको त्यान्द्रो चुँडिएको छैन । निर्भय सुध्रिनेछ, आश मनको एक कुनामा बाँकी हुन्छ । 
उनी निराश थिइन्, तर भारी मनको गह्रुङ्गो भारी बिसाउन बिसौनी थिएन । कसैलाई आफ्ना वेदना सुनाउँदा पनि मजाकको पात्र बनाउने त्रास थियो । उनी जसरी श्रीमान्को घातले भित्रभित्रै विक्षिप्त र एक्लो थिइन्, उसैगरी करोडौं मानिसको भीडमा एक्ली थिइन् । उनलाई सबै–सबैबाट आफू असुरक्षित रहेको महसुस हुन्छ । अनि भगवान् गौतम बुद्धको शरणमा पुग्छिन् । मनमा गुम्सिएको पीडाको बोझ बुद्धका अगाडि पुगेपछि आफैँ पोखिएर छताछुल्ल हुन पुग्छ । उनको क्रियाकलापलाई देखेर जापानीहरू चकित परेर हेर्छन् । उपन्यासमा अध्यात्मलाई आत्माशक्ति भनेर देखाउन खोजिएको छ । 

निर्भयले श्रीमतीमाथि गरेको व्यवहार माफी लायक थिएन । श्रीमान्को इज्जतका लागि एकपटक श्रीमती मौन बसिदिएकी सीमान्तीको हुर्मत लिने काम निर्भयले गरेका थिए तर निर्भय केही नभएझैँ नयाँ सहरमा काम खोज्ने बहानामा पन्ध्र दिन बिताउँछन् । अनि श्रीमतीलाई फकाउन खोज्छन् । उनले सीमान्तीसँग माफी माग्छन् पनि । उनको अवस्था र विनम्रताले सीमान्तीको मन बिस्तारै पग्लँदो थियो । आक्रोशको वेग शान्त हुन खोज्दै थियो । फेरि निर्भय लुरुलुरु फर्किएर उनै मिसावासँग साझेदारीमा रेस्टुरेन्ट खोल्ने निर्णयमा पुग्छन् । अब उनले निर्भयलाई माफ गर्न सक्दिनन् ।

आत्मस्वाभिमानलाई बन्धकी राखेर जापान बस्न उनको मनले मानेन, उता नयाँ व्यवसायमा डुबेका निर्भयलाई सीमान्तीको मतलब थिएन । एक वर्षको भिसा हुँदाहुँदै पनि सीमान्तीका लागि निरस बिरानो बनेको जापानलाई बिदाइ गरी स्वदेश फर्किइन् । निर्भयलाई छाडेर एकल जीवनयापन गर्ने उनले अड्डी कसिसकेकी थिइन् । तर निर्भयलाई चाँडै फर्किने आशा देखाइन्, केवल ।

काठमाडौँ फर्किएपछि माइती र घरसँग सम्पर्क नगरी अजिला म्यामको सहयोगमा डेरा गरेर अध्ययन र जागिर गर्छिन् । असहाय महिलालाई सहयोग गर्छिन् । तर लामो समयपछि माइतीलाई भने आफ्नो बारेमा जानकारी गराउँछिन् । पाँच वर्ष समाजसेवा गरेपछि आफ्नै संस्थामार्फत पोखराबाट सेवा दिन थाल्छिन् ।

उपन्यासमा जापान र नेपालका सन्दर्भहरू उल्लेख गर्दै नारी सशक्तीकरणका प्रसंग कोट्याइएका छन् । जापान सरकारले महिलाका लागि पर्याप्त कानुन बनाएको छ । श्रीमान्को कमाइसमेत श्रीमतीको खातामा आफैँ जम्मा हुने व्यवस्था छ  । यहाँ पनि पुरुषरूपी दानवहरूबाट नारी सुरक्षित छैनन् । विभिन्न रूपमा प्रताडित छन्, उपन्यासले यस विषयलाई पनि गम्भीरताका साथ खोतलिदिएको छ । तर धेरै प्रसंगमा महिलाका हिंसाका प्रसंगमा उपन्यास अब्बल भए पनि चल्दै आएको सीमा वरिपरि मात्रै घुमेको छ ।

समाज रूपान्तरमा उपन्यासले ठूलो भूमिका खेलेको हुन्छ । यसले भाष्यको रूपान्तरण गर्ने काम गर्छ । तर उपन्यासकारहरूले पुरानै भाष्यलाई निरन्तरता दिए भने परिवर्तन कसरी हुन्छ ? यो उपन्यासमा प्रमुख पात्र सीमान्तीलाई पटक–पटक कमजोर र निरीह देखाइएको छ । अनि मूर्तिलाई शक्ति भनिएको छ । आध्यात्म नै आत्मबल भन्ने देखाइएको छ । वास्तवमा विवेकशील प्रणीभन्दा बुख्याँचा शक्तिशाली कसरी ?

यहाँ लेखकले भाष्य निर्माणलाई ख्याल गरेको देखिँदैन । महिलालाई हेर्ने दृष्टिकोण फेरिएन । अझ भनौं मानव शक्तिलाई देख्ने विचारमा परिवर्तन आएन् । भाष्य परिवर्तन गर्नुपर्ने स्थानमा पुगेर मन परिवर्तनको झिनो प्रयास गरिएको छ । उपन्यासमा सीमान्तीलाई बुद्धको मूर्ति र विचारले ऊर्जा दियो । तर वास्तविक जीवनमा बुद्ध पनि फेल भएका छन् । कारण थियो, भाष्य परिवर्तन गर्नुपर्ने थियो । बुद्धले मन मात्रै परिवर्तन गरे । हिन्दू धर्मविरुद्ध अर्को धर्मको बीजारोपण गरे । उनलाई नेपालीहरूले नै लत्याइदिए ।

बुद्धको विचार भारतीय संविधानका लेखक डा. भीमरा अम्बेडकरले पनि प्रयोग गरेका थिए । उनले हिन्दू धर्म त्यागेर बौद्ध बनेका थिए । उनको पछाडि पनि केही संख्या मात्रै गयो । यहाँ पनि भाष्य परिवर्तनमा अम्बेडकर चुकेका थिए । उनले मन मात्रै परिवर्तन गरे । यो भाष्य परिवर्तन गर्नुपर्ने बेला हो । नेपाली साहित्यमा विगतदेखि वर्तमानसम्म केवल मन परिवर्तन गर्ने काम मात्रै भएको छ ।

धेरै पटक कैयौं अधिकारकर्मीहरू पुरुषहरूले महिलालाई न्याय हुने गरी लेख्न सकेनन् भन्ने आरोप लगाउने गर्छन् । यो व्यवस्थाका राजाको अधिकार प्राप्त पुरुषहरू आफूलाई जोगाउँदै लेख्छन् । किनकि उनीहरूलाई परिवर्तनको खासै ठूलो आशा छैन । 

प्रज्ञा–प्रतिष्ठानमा एउटा पुस्तक विमोचनमा क्रममा प्राध्यापक डा. रामप्रसाद ज्ञावालीले भन्नुभयो– आह ! तिमी कति राम्री ? पूरै एकेडेमी नै थर्कमान हुनेगरी गलल हाँसे सबै । प्रसंग थियो, सीमान्त समुदायबारे लेखिएको किताबको । तर उदाहरणमा महिला जोड्नुको कारण मानसपटलमा महिलालाई उडाउन सहज हुन्छ भन्ने थियो वा महिलालाई तिमी राम्री भनी फुक्र्याइदिए मख्खै हुन्छन् भन्ने नै थियो होला । फिलिङ्गोमा पनि कहीँ कतै यस्तै भुलहरू भएका छन् ।

महिलाहरू अहिले मौन छन् । उनीहरू बोल्दैनन् । श्रीमान् र समाजको अगाडि खुल्दैनन् । यो सामान्य क्रान्ति र आँटले सम्भव भएको होइन । यो व्यवस्था लागु हुनुअघि महिलालाई बाँधेर, गलहत्याएर ल्याइयो, अर्थात् बलात्कार गरियो । अपहरण गरियो । अनि महिलालाई कुटी–कुटी मरेतुल्य बनाएर यो व्यवस्थालाई जन्म दिइएको हो । यो शैलीलाई निरन्तरता दिन पछि विवाह परम्पराको जन्म भयो । अनि वेद र पुराणहरूमा लेखेर कानुनी रूपमा महिलालाई दासी बनाइयो ।

अहिले पनि राजनीतिक दल र सत्ता सञ्चालनमा महिलाहरू जिम्मेवारी तहमा पुग्दैनन् । उनीहरू निर्णायक तहमा नहुँदा निर्णय नै ती महिलाको हितमा हुँदैन । यो दास मानसिकता फाल्न मन परिवर्तन मात्र गरेर हुँदैन् । व्यवस्था नै फेर्नुपर्छ । व्यवस्था परिवर्तनका लागि विवाह परम्परा खारेज हुनुपर्छ । उपन्यासमा जसरी जापानमा स्वतन्त्र रूपमा महिलाहरू बाँच्न पाउने अधिकार छ । त्यो अधिकारको ग्यारेन्टी गरिनुपर्छ । यो परिवर्तन नेतृत्वमा तहमा महिला नभई सम्भव छैन ।

नेतृत्वमा महिला पुग्नका लागि चेतना परिवर्तनको आवश्यकता पर्छ । अहिले पनि हामी महिला कोमल हुन्छन् । भावुक हुन्छन् । उनीहरूलाई फकाएर जस्तोसुकै काममा पनि लगाउन सकिन्छ भन्ने भाष्यको बचाउमा लाग्यौं भने यो परिवर्तन सम्भव छैन् । अब अधिकार माग्ने र आरक्षण जोगाउने प्रसंगमा मात्रै लेखकहरू सीमित हुनुहुँदैन । कस्तो समाज बनाउने भन्ने बहस छेड्न जरुरी छ ।

पछिल्लो समय महिला, दलित र आदिवासी लगायत सीमान्त समुदाय लेखनको विषय बन्न पुगेका छन् । उनीहरूलाई पात्र बनाइएको छ । तर विषयमा न्याय गरिएको पाइँदैन । गम्भीर प्रकृतिका मुद्दामा आ–आफ्ना एकल दृष्टिकोण मात्रै आएका छन् । देश वा समाज विकास र परिवर्तन नहुनुका पछाडिको पनि कारणमा गम्भीर प्रकृतिका विषयलाई हल्का रूपमा लिनु वा प्रस्तुत गरिनु नै देखिन्छ ।

अधिकारको लडाइँमा अग्र दस्तामा देखिएका महिला लेखक, पत्रकार र साहित्यकारहरूका महिलावादवारे हुने बहस सुन्दा, आलेख पढ्दा हामी सीमित वृत्तमा खुम्चिएको महसुस हुन्छ । महिलावाद सामाजिक चेतना, वर्ग र राजनीतिक विचारधारा गरेर विभिन्न प्रकारमा बाँडिएको स्पष्ट छ । तर प्रकार फरक भए पनि वृत्त एउटै देखिन्छ । महिलाहरू लेखकहरूले यो वृत्तभन्दा माथि उठेर सामाजिक न्यायको वृत्तबारे बहस छेड्नुपर्छ । न्यायप्रतिका विभिन्न बुझाइ र व्याख्यालाई सामाजिक न्यायको बाटोतर्फ मोड्नुपर्छ । हाम्रो समाज विकासको मोडल, सभ्यताको अभ्यासलाई चिर्नुपर्छ ।


Author

थप समाचार
x