सप्ताहन्त

जेएनयूकी किताबी कमरेड-४

बिदा सोनप्रिया ! शुभयात्रा सोनप्रिया !

नीरज लवजू |
कात्तिक ६, २०७८ शनिवार ८:५ बजे

‘प्यारो मित्र,
निर्धारित योजनाअनुसार नै म नेपालगञ्ज पुगेँ । दसैँमा घर फर्किने मानिसको घुइँचोले मुस्लिकले गाडीको टिकट पाएँ । यात्रा निकै असजिलो थियो । त्यसै त खचाखच भरिएको गाडी, त्यसमाथि यात्रुहरूले गुट्खा खाएर हैरान बनाए । चितवनमा खानासँगै रक्सी खाएका केही यात्रुहरूले गाडीभित्रै हल्ला गरेर सुत्न दिएनन् । थकाइले नेपालगञ्जमा दिनभर आराम गरेँ । त्यही रात नाइट गाडीमा लखनउ आएँ । मेरो मान्छेसँग बिहान कफी खाएर अहिले होटलमा फर्केकी छु । 

तिमीलाई पनि पक्कै मेरो सम्झना आएको हुनुपर्छ । कि बल्ल गइन् भन्‍ने लाग्या छ । जे होस्, मीठो सम्झना ।’ दसैँ सुरु भइसकेको थियो । बाहिर एक समूह युवाहरू खुब मच्ची मच्ची धिमे बाजा बजाइरहेका थिए । केही बेरमा अर्को समूह बाँसुरी बाजा बजाउँदै गएको सुनियो । बाँसुरी बाजा समूहमा अधिकांश युवती थिए ।


नगरकोटबाट फर्किने क्रममा सोनप्रियाले आफ्ना बुवाको विषयमा थप केही कुरा भनिन् । बाटो उति फराकिलो थिएन । धान खेतका गह्रा फुटेर पानी बाटै बाटो बगिरहेको थियो । त्यसैले बाइक धिमा गतिमा चलाएको थिएँ । पानी परेपछिको आकाश खुलेको थियो । हावा चिसो चिसो थियो । 

“बुवाले लन्डनको स्कुल अफ इकोनोमिस्कबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका हो । मेरा बाजे धनी उद्योगपति हुनुहुन्थ्यो । हाम्रो परिवार उतिबेला पश्चिम बङ्गालको खातापिता परिवारमा गनिन्थ्यो । त्यही भएर पनि बुवालाई संसारकै अब्बल गनिने कलेजमा पढ्ने मौका जुरेको हो । तर, लन्डन गएको केही वर्षपछि उहाँको सङ्गत त्यहाँको एउटा वामपन्थी मासिक पत्रिकाको सम्पादक मण्डलसँग भयो । सम्पादक मण्डलका अधिकांश सदस्यहरू कपाल फुलेका अर्थशास्त्रका प्राध्यापकहरू थिए रे । उनीहरू मार्क्सवादी कोणबाट अर्थशास्त्रको व्याख्यामा लामा-लामा लेख लेख्थे । उनीहरूको ज्ञानको गहिराइबाट बुवा प्रभावित हुनुभयो र पछि क्रमशः माक्र्सवादको गहिरो अध्ययनमा लाग्नुभयो । बाजे बुवा काङ्ग्रेस आईमा लागेर अर्थमन्त्री अथवा अर्थ मन्त्रालयको कुनै उच्च पदमा पुगोस् भन्‍ने चाहनुहुन्थ्यो रे । तर, लन्डनमा बुवाको ताल अर्कै थियो । बुवाको मिहिनेती स्वभाव र सम्भवतः भारत जस्तो तेस्रो मुलुकको प्रतिनिधित्वको हिसाबमा पनि उहाँलाई मासिक पत्रिकाको सम्पादक मण्डलको सदस्य बनाइयो । दक्षिण एसिया र विशेषतः भारतको अर्थतन्त्रलाई केन्द्रमा राखेर उहाँले धेरै गहकिला लेख लेख्नुभयो । लन्डनबाट प्रकाशित हुने वामपन्थी पत्रिकामा एक जना भारतीय नागरिकको लेख प्रकाशित हुन थालेपछि बुवाको भारतका कम्युनिस्ट र काङ्ग्रेस दुवैबाट खोजी भएछ । दुवै राजनीतिक दलका विद्वान्हरू आएर बुवालाई आफ्नो नजिक बनाउन खोजे । तर, माक्र्सवादको गहिरो ज्ञानले बुवालाई कम्युनिस्ट खेमातिर आकर्षित गर्‍यो ।” 

घुम्तीमा आएको एउटा मालवाहक गाडीले मोटरसाइकल भित्तामा च्याप्दा हामी धन्‍न नालीमा खसेनौँ । म डराएँ, सोनप्रिया अझ डराइन् । “एकै छिन बसौँ है”, आकाशतिर हेर्दै मैले भनेँ । आकाश छ्याङ्गै खुलेको थियो । पानी पर्ने कुनै छाँट थिएन । सडक छेउ हरियो घाँसको सानो मैदान थियो । दुवै जना त्यहाँ उभियौँ । साँखुको हरियो फाँट निकै सफा देखिएको थियो । सुनटोलमा केही गाडी गुडिरहेको देखिन्थ्यो । वज्रयोगिनीको डाँडो वर्षायाममा अझ अग्लो बनेको भान भइरहेको थियो । हुस्सुले माथिको भाग पूरै छोपिएको थियो । 

“यहाँ बस्ने मान्छेहरू त कम्तीमा दुई-तीन वर्ष बढी बाँच्लान् है”, सोनप्रियाले मुस्कुराउँदै भनिन् । 
“किन ?”
“यहाँको ताजा हावापानी । अर्गानिक खाना” 

“त्यो तिम्रो चाहना वा कल्पना मात्र हो । खासमा बजार अर्थतन्त्रले यो ठाउँलाई मात्र कहाँ छोडेको छ र ? हिजोआज यहाँ कोदोको रक्सीभन्दा बढी बियर चल्छ । बियर खान सक्ने मान्छे अलि अग्लो सामाजिक हैसियतको हुने बजारु मनोविज्ञान यहीँ पनि व्याप्त छ । कोदोको रोटी कसले खाओस् ? बजारमा पाइने चाउचाउ र बिस्कुट खान पाए पो समाजसामू अलि अग्लो भइन्छ”, सायद मैले अलि गहिरो कुरा भनेछु । सोनप्रिया अलि चिन्तन गरेको मुद्रामा देखिइन् । 

“त्यही त हिजोको अखबारमा नेपालको कुनै जिल्लाकी एक जना महिला डोकोमा ग्यासको सिलिन्डर बोकेर भिरालो बाटो हिँड्दै गरेको तस्वीर छापिएको देखेको थिएँ”, सोनप्रियाले भनिन् । 
“अँ, दाउरा बाल्ने ठाउँमा ग्यास बाल्न सक्ने भए पछि त्यो सामाजिक प्रतिष्ठाको विषय भयो । चुल्होमा दाउरा बाल्ने फोहरी र पछौटे भए”, नेपालको ग्रामीण समाजमा बजारले पार्दै गरेको प्रभावबारे थोरै गनथन भयो । 
मलाई सोनप्रियाको बुवाको विषयमा थप जान्‍ने चाहना थियो । 
“अँ, तिम्रो बुवाको कुरा भन्दै थियौ नि !” 

“लन्डन दस वर्ष बसेर बुवा पश्चिम बङ्गाल फर्किनुभयो । त्यत्तिबेला भारतको कम्युनिस्ट आन्दोलनमा गहिरो सैद्धान्तिक अन्तरसङ्घर्ष चलिरहेको थियो । सोभियत सङ्घ र चीनबीचको आपसी सैद्धान्तिक र राजनीतिक सङ्घर्षले भारतलाई पनि प्रभाव पारेको थियो । लेख र अन्तर्वार्तामार्फत बुवा पनि त्यो सैद्धान्तिक सङ्घर्षमा सामेल हुनुभयो । बुवा भारतीय कम्युनिस्ट पार्टीले अवलम्बन गरेको सोभियत सङ्घ पक्षधर बाटो गलत भएको निष्कर्षमा पुग्नुभयो र अर्को विकल्प बनाउन लाग्नुभयो । त्यही क्रममा भाकपा (मार्क्सवादी)को स्थापना भयो । पश्चिम बङ्गालका ज्योति बसुलगायत नेताहरू मार्क्सवादीकै लाइनमा लाग्नुभयो”, सोनप्रियाका कुरा सुनेर म नेपालको कम्युनिस्ट आन्दोलनभित्रका उथलपुथलको इतिहाससँग तुलना गर्दै थिएँ । 

नेपालको कम्युनिस्ट आन्दोलनभित्रको विभाजनको प्राथमिक कारण तत्कालीन सोभियत सङ्घ र चीनबीचको सैद्धान्तिक सङ्घर्ष पनि थियो । केशरजंग रायमाझी महासचिव रहेको नेकपाले सोभियत सङ्घको आँखा चिम्लेर समर्थन गर्दा नेपालको आन्तरिक राजनीतिक सङ्घर्षमा कम्युनिस्टहरू आक्रामक भएनन् । मस्कोको सेवा गरेर मात्र नेपालमा समाजवादी क्रान्ति हुन सम्भव थिएन । त्यसकारण कम्युनिस्ट आन्दोलनको मूल धर्म रक्षा गर्दै कम्युनिस्ट पार्टीका केही नेताहरूले कम्युनिस्ट आन्दोलनभित्र विभाजन ल्याउनु तत्कालीन आवश्यकता थियो । नेपालको कम्युनिस्ट आन्दोलनको यो चरण भारतको कम्युनिस्ट पार्टीको इतिहाससँग मिल्दोजुल्दो छ । सन् १९६० दशकमा संसारभरकै कम्युनिस्ट आन्दोलन यही डावानलमा अलमलिएको देखिन्छ । 

“बुवाको पछि भाकपा (मार्क्सवादी) सँग पनि केही सैद्धान्तिक र व्यावहारिक असहमतिहरू भए । मार्क्सवादी पनि नामको मात्र मार्क्सवादी पार्टी रह्यो । ऊ पनि नचाहेरै संसद्कै जालझेलमा डुब्यो । पार्टी कार्यकर्ता विकासमा भारतका अन्य पार्टी र मार्क्सवादीबीच केही भिन्‍नता रहेन । राज्य र नेतृत्वको नजिक बस्नु नै असल कार्यकर्ताको परिचय बन्दै गयो । सत्ताको नजिक पुग्न नेता रिझाउन सक्ने कार्यकर्ता नै शक्तिशाली हुने र सत्ताको सुख भोग गर्ने स्थानमा पुगे ।

त्यसले मार्क्सवादीलाई अर्को भाकपा बनायो । त्यस्तै कुराप्रतिको असन्तोषका कारण बुवाले पार्टी सदस्यता त्याग्नुभयो । तर, मार्क्सवादी अध्येताको रूपमा आफ्नो कामलाई भने त्याग्नुभएन । किताब लेख्नुभयो । केही कृतिको अनुवाद पनि गर्नुभयो । एकाध अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना गर्नुभयो । तर, बुवाले हामीलाई कहिल्यै पनि राजनीतिक विचारधाराको छनौटमा दबाब दिनुभएन । मार्क्सवादीनिकट विद्यार्थी संगठनमा म सक्रिय हुँदा बुवाले त्यसको कहिल्यै पनि विरोध गर्नुभएन । बरु कुनै पनि क्षेत्रमा बुझेर मात्र लाग्न सल्लाह दिनुभयो”, सोनप्रियाले कुरा टुङ्ग्याइन् । 

सोनप्रिया फर्केको पर्सिपल्ट बिहान मेसेन्जरमा उनले सन्देश पठाइन् । मलाई उनले कतिबेला आफ्नो खबर पठाउलिन् भन्‍ने व्यग्र प्रतीक्षा थियो ।

उनलाई आज केही किनमेल पनि गर्नु थियो । लखनउमा उनका पूर्वप्रेमीलाई केही उपहार किन्‍नुपर्ने भन्दै थिइन् । अनि बुवा र आमालाई पनि केही मायाको चिनो । त्यसको निम्ति सिफारिस गर्न सोनप्रियाले मलाई आग्रह गरिन् । 

मैले भक्तपुरमा बनाइने कुनै हस्तकला लानु उपयुक्त हुन सक्ने सल्लाह दिएँ । तेलकोट निस्केर खरिपाटी हुँदै हामी भक्तपुर नगरको मूल बस्ती पस्न खोज्दा हामीलाई एक जना होचो कदको युवकले रोके । 

“सर ! उहाँ म्याम विदेशी हुनुहुन्छ कि ?”, नगरपालिकाको कर्मचारी रहेछन् । मैले उनलाई झुटो बोल्न पनि सक्थेँ । यसअघि भक्तपुर आउँदा केही साथीहरूले यसरी नै भारतीय र बङ्गलादेशीलाई नेपाली नै हुन् भनेर ढाँटेको मलाई थाहा छ । तर, त्यसरी ढाँट्नु आफ्नै खुट्टामा बञ्चरोले हान्‍नु ठानेर मैले सोनप्रियालाई भक्तपुर पस्नुअघि विदेशीले टिकट काट्नुपर्ने बताएँ । उनी झरिन् र काउन्टरमा टिकट काटिन् । 

“बल्ल मलाई भारतीय भएको अनुभव भयो”, बाइकमा बस्दै उनले भनिन्, “नत्र त मलाई विदेशमा छु भन्‍ने अनुभव नै कहीँ भएन ।” केही उपहार किनेर हामी भक्तपुर दरबार क्षेत्रको रेस्टुराँमा पस्यौँ- बिदाइ कफीका लागि । 

“म कफी खान्छु । तिमी के खान्छौ ?” 
“भक्तपुरको पछिसम्म सम्झना हुने केही छैन खाने वा पिउने कुरा ?”
“गज्जब ! दही खाऊ । भक्तपुरको दही विशेष मीठो हुन्छ ।” 
“ओके !” 
“म दुई महिनापछि आउने कोसिस गर्छु । विश्वविद्यालयमा मेरो गाइडलाई मेरो प्रारम्भिक अनुसन्धानका निचोड सुनाउने छु । सम्भवतः उनलाई चित्त बुझ्ने छैन । तर, नेपाल वा सिक्किमकै समाजबारे थेसिस गर्ने मेरो जिद्दीको कारण उनले अस्वीकार नै भने गर्ने छैनन् । दुई महिनापछि आउँदा तिम्रो ठुलो मद्दत चाहिने छ मलाई ।”

“तिमीले बुवाको कुरा भन्यौ । तर आमाबारे केही भनिनौ नि ?”, मैले उसका कुरामा सहमति जनाउँदै विषयान्तर गरेँ । दरबार क्षेत्रमा युवकयुवतीहरूको भीड लागेको थियो । बेलुनको झुप्पा बोकेकी एक जना किशोरी युवकयुवतीहरूलाई बेलुन किन्‍न आग्रह गरिरहेकी थिइन् । युवकयुवतीहरूले बेलुन नकिनेपछि उनले गज्जबको जुक्ति लगाइन् । उनले बेलुनको झुप्पा बोकेर फोटो खिच्नेसँग दस-दस रुपैयाँ उठाउन थालिन् । युवकयुवतीहरूलाई खास बेलुन चाहिएको थिएन, बेलुनको झुप्पासँग खिचिएको तस्वीर चाहिएको थियो । बाठी केटीले यो मनोविज्ञान बुझिन् र गज्जब व्यापार गरिन् । 

“आमा त आमा नै भइन् नि । सङ्घर्षको लामो बाटो छिचोलेकी छिन् मेरी आमाले । तिमीले सोध्थ्यौ नि मेरो यो व्याग कहाँ बनेको भनेर । यो मेरी आमाले बुनेकी हुन् । मेरी आमा झारखण्डको एउटा आदिवासी समुदायकी छोरी हुन् । उनको क्षेत्रमा माओवादीको बलियो पकड थियो । उनी आफैँ पनि माओवादी आन्दोलनमा सरिक भइन् । आइए तहसम्मको पढाइ सकेर उनी माओवादी आन्दोलनमा होमिइन् । विशेषतः सांस्कृतिक क्षेत्रमा रहेर आन्दोलनमा योगदान गरिन् ।

आदिवासी जनतालाई माओवादी आन्दोलनप्रति आकर्षित गर्न उनका गीत र नाटकले विशेष भूमिका खेल्यो । तर, पार्टीमा उच्च शिक्षा अध्ययन गरेका युवाहरूको कमी भएको अनुभव गरेर उनलाई पार्टी नेतृत्वले दिल्ली पढ्न पठाए । दिल्लीमा केही वर्षको पढाइपछि आमालाई पश्चिम बङ्गालमा बुद्धिजीवीहरूबीच काम गर्ने जिम्मेवारी तोकियो । उहाँ कोलकत्ता बसेर त्यहाँका प्रगतिशील बुद्धिजीवीहरूबीच पार्टीका विचार र प्रकाशन पुर्‍याउने काम गरिन् । 

त्यही क्रममा बुवा र आमाको भेट भएको थियो । सन् १९९० को दशकमा माओवादी विद्रोहमाथि राज्यको चर्को दमन भयो । झारखण्ड फर्केर काम गर्ने अवस्था रहेन । आमालाई निर्देशन दिने नेताहरू मारिए । आमाले पश्चिम बङ्गालका माओवादीहरूसँग सम्पर्क गर्न खोजिन् । तर, भूमिगत संगठनमा विश्वासभन्दा बढी अविश्वासले भूमिका खेलिरहेको हुन्छ । आमाले पार्टीको विश्वास जित्न सकिनन् । उल्टो पश्चिम बङ्गालका माओवादीहरूले आमाको विषयमा ‘निम्‍न पुँजीवादी रोगबाट ग्रसित’को आरोप पत्र झारखण्ड पुर्‍याए । आमा झारखण्ड फर्किने अवस्था बनेन । 

‘बुवासँगको वैचारिक सम्बन्ध पछि विवाहमा रूपान्तरण भयो’, सोनप्रियाले माटोको मट्कामा जमाइएको दही काठको चम्चाले म टिप्दै कुरा टुङ्ग्याइन् । म उनको अङ्ग्रेजीको प्रवाहमा अब अभ्यस्त भइसकेको थिएँ । अनि म कफी पिउन थालेँ । 

साँझ पर्न थालिसकेको थियो । दरबार क्षेत्रको मूलद्वार बत्तीले आकर्षक देखिएको थियो । मानिसहरू त्यो प्रकाशमा तस्वीर खिच्दै थिए । डबलीमा केही केटाकेटी छुई... खेल्दै थिए । अनि हुर्कंदै गरेका केही किशोरकिशोरीहरू साइकल चढ्न सिक्दै थिए । 

भोलि सोनप्रिया फर्किंदैछिन् । त्यस पछि उनीसँग भेट होला-नहोला, त्यो भविष्यकै गर्भमा लुकेको छ । तर, सोनप्रिया छोटो समयमा नै नजिकको साथी बनेकोमा म आफैँलाई अचम्म लागेको छ । 

म साथी बनाउन जान्दिनँ । बनेका साथीलाई पनि चिढाउन मलाई कुनै विशेष बार कुर्नुपर्दैैन । कति प्रिय साथीहरू त्यही भएर मबाट टाढिएका छन्, कतिसँग म टाढिएको छु । कति साथीलाई विश्वास गरेर पछुताएको छु, कतिलाई अविश्वास गरेर ।

त्यसैले मित्रताको आयु कति लामो हुन्छ, मलाई कहिल्यै थाहा भएन । सोनप्रियासँगको मित्रता कति लामो जाने हो, म अनुमान पनि गर्न चाहन्‍नँ । तर, सोनप्रियाभित्र लुकेका कथाहरूले भने उनी सधैँ मेरो मानसपटलमा रही रहनेछिन् । 
बिदा सोनप्रिया ! शुभयात्रा सोनप्रिया !

यो पनि 


Author

थप समाचार
x