सप्ताहन्त

नबाब, कबाब, सबाब र आदाबको सहरमा

वसन्त लोहनी |
माघ २९, २०७८ १२:२६ बजे

सबभन्दा महत्त्वपूर्ण समय हुन्छ । समयसँग जोडेर मात्र कुनै कामको मूल्याङ्कन हुने हो । यस अर्थमा जुद्ध शमशेरको पालामा सिमेन्ट ढलान प्रविधिको प्रयोग गरेर काठमाडौँमा ‘सरस्वती सदन’को निर्माण गर्न सक्नु ऐतिहासिक र साहसिक काम मानिन्छ ।

त्यसैको जगमा नेपालको आधुनिक निर्माण प्रविधि आजको अवस्थामा आइपुगेको हो । नेपालमा सिमेन्ट ढलान प्रविधि सुरु गर्ने पहिलो नेपाली स्वर्गीय वेदप्रसाद लोहनीको चिर स्मृतिमा त्रिभुवन विश्वविद्यालयले २०५८ सालमा इन्जिनियरिङ अध्यन संस्थानअन्तर्गत पुलचोक क्याम्पसबाट एम एस्सी स्टक्चरल इन्जिनियरिङमा सर्वोच्च अङ्क प्राप्त गर्ने विद्यार्थीलाई दिने गरी ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’ स्थापना गरेको हो ।


वेदप्रसादको इन्जिनियरिङ ज्ञानको जग हाल्ने काम लखनउको लाटुस रोडमा रहेको पोलिटेक्निक इन्स्टिच्युटले २६, महिनाको अवधिमा गरेको हो । मान्छेको क्षमता अपूर्वको हुन्छ जसलाई विश्वको कुनै पनि सर्वोत्कृष्ट शिक्षण संस्थाले परिभाषित गर्न सक्तैन । विश्वको महान् अर्थशास्त्री डेभिड रिकार्डोको औपचारिक शिक्षा केही पनि थिएन ।

आफ्नो बाबुको पसलमा किताब बेच्‍ने काम थियो । ग्राहक नआएको वेला किताब पढ्थे । तर उनले १८ औँ शताब्दीमा निकालेको अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त नै अहिलेको विश्वको भूमण्डलीकरण र उदारीकरणको व्यापारको जग बनेको छ । उत्पादनमा तुलनात्मक फाइदा जसको जेमा हुन्छ त्यो व्यापारको आधार बन्‍नु पर्दछ । चीनले अमेरिकामा सामान बेच्‍न सकेको यस पाटोबाट वर्णन हुन्छ।

वेदप्रसादको शिक्षा साधारण थियो । २६ महिना मात्र सिभिल इन्जिनियरिङको डिप्लोमा गरेको । तर उनले जे जानेका थिए त्यसमा राम्रो ज्ञान थियो । त्यसको प्रयोगबारे उनको ज्ञान तुलनात्मक रूपमा असाधारण थियो । डिग्री आफैँमा केही होइन । ज्ञान र प्रयोग जीवनमा महत्त्वपूर्ण हुन्छ । उनको त्यस्तो ज्ञान लखनउको पोलिटेक्निकले हालिदिएको हुनाले लखनउसँग मेरो भावनात्मक सम्बन्ध बन्‍न गएको हो । अर्को ऐतिहासिक कारण जङ्गबहादुर पनि हुन् । त्यसैले जब लखनउ जाने कुरा आयो म भित्र हतारिएको खुसीको आवेग बलियो भयो ।

लखनउको कुरा आयो मेरो श्रीमती उषाको कारणबाट । अहिले त उनी प्रोफेसर भएर रिटायर पनि भइसकिन् । तर सन् २००४ सम्ममा आइपुग्दा अमृत क्याम्पसमा २४ वर्ष देखि पढाइसकेकी थिइन् । आफ्नोभन्दा अझ अगाडिको पुस्ताको बुहारीको मानसिकतामा कन्डिसन गरिएकी र बच्चाहरू सानै भएकाले उनले आफ्नो प्राज्ञिक यात्रामा पछि परेको महसुस गरिरहेकी थिइन् । यति बेला छोरा अमेरिकामा इन्जिनियर भइसकेको थियो र छोरी बेङलोरको नेसनल ल इन्स्टिच्युट अफ इन्डिया युनिभर्सिटीमा पढ्थिन् ।

त्यसैले बैगलोर युनिभर्सिटीबाट विद्यावारिधि गर्ने सोच बन्यो । उनको विषय थियो, ‘इथ्नोजुलजी इन माउन्टेन रिजन अफ नेपाल’ । इथ्नोजुलजी अलि नयाँ विषय पर्यो- मान्छे, जनावर र पर्यावरणबीचको अन्तरसम्बन्ध र सन्तुलनको । अध्ययन सामग्री बनिबनाउ थिएनन् । ‘इन्टर डिसिप्लिनरी अप्रोच’ चाहिने । त्यो सामग्री खोज्नका लागि उनको सुपरभाइजरले बनारसको हिन्दु विश्वविद्यालयको लाइब्रेरी जाने र लखनउमा बस्ने डा. एस.के.जैनलाई भेट्ने सल्लाह दिइन । यसरी जुर्यो हाम्रो लखनउ भ्रमण ।

राती बनारसबाट चढेको ट्रेन भोलिपल्ट बिहानको मिरमिरेमा लखनउ पुग्दै थियो । सहर छिर्ने अलि अगाडिदेखि नै ट्रेनको स्पिड कम भइसकेको थियो । एसी दुई टियरको हाम्रो बोगीमा धेरैजसो सुतेका थिए । सबैतिर पर्दा लगेको । पङ्खामा टाउको लाग्ला भनेर हेक्का राखेर सुतेको माथिल्लो बर्थबाट मैले आफूपट्टिको पर्दा हटाए ।

साइडबाट खुट्टा राख्‍ने खोपोमा खुट्टा राखेर झर्नैलाग्दा तलको बर्थमा निदाएकी मेरी श्रीमती उषाले आधा निद्रामा भनिन्- किन उठेको हजुर ? मैले भनेँ, ‘ल, सहर छिर्नै लागिसक्यो ट्रेन’ । त्यति भनेर म उनी सुतेको बर्थको झ्यालमा आए । उनी खुम्चिएर सरिन् । अनि म त्यहाँ बसेर बाहिर हेर्न थाले । ट्रेनले लिक चेन्ज गर्दै देब्रेतिर सर्दै आउँदा कटकटको आवाज सकिँदा सहरको पुछार सुरु भएको देखिन्थ्यो ।

जिन्दगीमा पहिलो पटक अप्रिल २००७ मा छिर्दै गरेको यो सहरको बारेमा म सोच्दै थिएँ । मेरो कल्पनालाई हाँकिरहेको थियो दुइटा कुराले । पहिलो, यो नै सहर हो जहाँ ६५ वर्ष अगाडि मेरो परम पूज्य पिताजीको व्यावसायिक सीपको जग बसेको थियो । दोस्रो, यो नै सहर हो जुन एक सय पचास वर्ष अगाडि नेपालको राजनीतिसँग र राज्य शक्तिसँग निर्णायक रूपमा गाँसिएको थियो ।

रेलको स्पिड कम थियो तर एकनास । हो, कहिले कहीँ रोकिन्थ्यो पनि बीचबीचमा सायद सिग्नलको लागि होला । त्यति वेला म झल्याँस्स हुन्थे आफ्नो सेरोफेरोमा । तर ट्रेनको स्पिड जब एकनास हुन्थ्यो, म कल्पनामा उडिरहेको हुन्थेँ । मेरा आँखाहरूले देखिरहेका थिए सहरको घना आवादी क्रमबद्ध भएर बदलिइरहेका । तर यो देखाइले कल्पनाको उडानको गतिलाई अवरुद्ध पारेको थिएन ।

गरिबहरूको मुख मोसेर भ्रष्टाचार गरी अर्बौंको रकम विदेशमा थुपार्दा कसैलाई आनन्द आउला जसरी हामी कहाँ मूल प्रवाह राजनीति बनेको छ । यो गर्न पाइँदैन भनेर कानुन बनेका छन् तर तीनलाई पिलन्धरे पारिएका छन् ।

तीन सय वर्ष अगाडि पुगेको थियो त्यो कल्पना । सोच्दै थिए नवाब आसफ उद दौलले यो सहर बसाल्दा सायद अहिलेको भन्दा सुन्दर थियो होला । तब न यसलाई ‘पूर्वको सुनौलो सहर’ भनियो । फेरि अर्को प्रश्न उठ्यो- इतिहासपारिको देश हालको उज्वेकिस्तानबाट सोह्रौँ शताब्दीमा बाबर दिल्ली आएर मुगल साम्राज्य सुरु गर्दा भारत भन्‍ने देश नै नभएको वेला लखनउ कस्तो थियो होला ? उत्तर सँगै निस्क्यो- तुलनात्मकरुपमा अझ सुन्दर थियो होला । कारण, मुगलहरूले जिउन जानेका थिए । हो, युद्ध लड्नु नै पेसा थियो उनीहरूको । आफ्नै बाबुलाई थुनेर राज्य गर्ने ओरंगजेब ८८ वर्षको उमेरमा पनि युद्ध मैदानमा घोडामा नै थिए, युद्ध लड्दै । तर साहित्य, कला र सौन्दर्यको परख गर्न सक्ने क्षमता थियो यिनीहरूमा ।

सुन्दर र कलात्मक बगैँचा यिनीहरूले नै भित्र्याएका हुन् यस क्षेत्रमा । कलात्मक गार्डेन बनाउन भरपुर रेखागणितको प्रयोग गर्थे यिनीहरू । मुगल गार्डेन भनेपछि त प्रसिद्ध नै छ । पार्क र गार्डेन कल्चरबाट आएका ब्रिटिसले पनि पछि यिनीहरूबाट नै अझ तिखारेका थिए यो कलालाई ब्रिटिस राजमा ।

हाम्रो ट्रेन रोकिने अन्तिम स्टेसनको नाम थियो चारबाग । यो नामले नै भन्छ चार बगैँचा । मुहम्मदले सुने पछि मुसलमानहरूको धर्मग्रन्थ बनेको कुरानमा स्वर्गको बगैँचाको वर्णन छ । दुइटा अगाडि र दुइटा पछाडि गरी चारपाटे परसम्म फैलिएको बगैँचा एक आपसमा जोडिएका हुन्छन् पानीका कुलो या जलपथ र त्यस्तै मान्छे हिँड्ने बाटोबाट ।

पानी र छहारीको बीचमा बस्‍ने ठाउँमा बस्‍न पाउँछ असल कर्म गरेर स्वर्ग पुगेको मान्छेले । वैदिक वाङ्मयमा बगैँचाको वर्णन हजारौँ वर्ष पहिलेदेखिको हो । त्यस्तो स्वर्गको बगैँचा रावणले मर्त्यलोकमा नै बनाएको थियो ‘अशोकवाटिका’ जहाँ सीताको वासस्थान बनेको थियो अपहरणपश्चात् ।

तर इतिहासवारि यस्ता बगैँचा बन्‍न सकेनन् । तर मुसलमानहरूले बनाए । स्वर्गलाई बगैँचाले परिभाषित गरेकोले होला मुगलले बगैँचा निर्माणमा विशेष ध्यान दिए । जसको प्रतिफल थियो यो चारबागको बगैँचा पनि । ताज महल बनाउने शाह जहाँले यो चारबाग पनि बनाएका थिए ।

मान्छे उभिएको ठाउँको अगाडि दुइटा बगैँचा र पछाडि दुइटा बगैँचा गरेर चार बगैँचाले सजिएको स्वर्गको आनन्दको आभास मर्त्यलोकमा दिलाउने अभिप्राय प्रतिविम्बित भएको मानिन्थ्यो यो चारबागमा । र, बगैँचाले भरिएको हुनाले लखनउको नाम नै ‘बगैँचाको सहर’ भनेर पनि रह्यो कुनै बेला ।

मान्छेको खोजी र सङ्घर्ष अन्ततः आनन्दका लागि नै हो । आनन्दको प्रकार फरक होलान् त्यो बेग्लै कुरा हो । यस्ता कुनै प्रकारको वैयक्तिक आनन्दले धेरै मानिसहरूको आनन्दलाई नोक्सान नगरोस् भनेर नै राज्य र कानुन बनेको हो ।

गरिबहरूको मुख मोसेर भ्रष्टाचार गरी अर्बौंको रकम विदेशमा थुपार्दा कसैलाई आनन्द आउला जसरी हामी कहाँ मूल प्रवाह राजनीति बनेको छ । यो गर्न पाइँदैन भनेर कानुन बनेका छन् तर तीनलाई पिलन्धरे पारिएका छन् ।

जसले गर्दा नयाँ नेपाल बनाउनेहरूको नाम पानामा पेपर्स र प्याराडाइज पेपर्समा आइरहेको छ । पाकिस्तानमा यस्तो नाम निस्किएपछि मुलुक लुटेको कारण अदालतले नवाज शरीफलाई प्रधानमन्त्रीको पदबाट हटाइदियो । बल्ल बल्ल जेल जानबाट साउदी अरेबियाले मध्यस्तता गरेर जोगाइदिँदा उतै निर्वासित छन्  । हाम्रो अदालतको हालत त हालै देखिहाल्यौँ हामी सबैले- भोर जुवा सरहको केन्द्र । न्याय दिने अदालत त दिउँसै मैन बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । 

जहाँसम्म प्याराडाइज अर्थात् स्वर्गको बगैँचाको कुरा छ यो मानव सभ्यतासँग सधैँ लयबद्ध भएर आएको छ । मान्छे जस्तै सभ्यता पनि जन्मेका छन् र मरेका छन् । तर बगैँचा सधैँ बाँचेको छ । बाँचेका कारण सायद मरेपछि स्वर्ग पुगेर सुन्दर बगैँचाको असीम आनन्द लिने मान्छेको आदिम आकांक्षाको सार्थक अनुभूति धरतीको बगैँचामा प्रतिविम्ब भएकाले होला । ट्रेन गुडिरहेको थियो लिगमा, म उडिरहेको थिएँ कल्पनामा । मेरो बानीसँग परिचित मेरी श्रीमती उषाले भनिन्- ‘कहाँ पुगिरहेको ? ट्रेन त स्टेसनभित्र छिरिसक्यो ।’ हेरेँ, देखिएको सहर हराएर छिरिरहेको थियो ट्रेन प्लेटफर्मतर्फ । लगत्तै देखेँ, सिमेन्टको दुई पोलमा ढलान गरेको प्लेटमा लेखिएको - चारबाग । 

उषाले उत्तरको लागि मेरो मुख हेरेर भनिन्, ‘समान राखेर सिधा त्यो एक्सपर्ट डा. जैनलाई भेट्न जाने होइन ?’ म टोलाएर हेरी मात्र रहेँ । मेरो चाहना अर्कै थियो । म पहिले बुबाले पढेको पोलिटेक्निक इन्स्टिच्युट जान चाहन्थेँ । तर मैले उनको संवेदनशीलतालाई पनि हिफाजद गर्नुपर्ने थियो । 

यत्तिकैमा घ्याच्च आवाज आयो ट्रेन पूरै रोकिएर । सबैलाई हतारो थियो तल झर्ने । तर मलाई थिएन । मनमनै भन्दै थिएँ- किन यत्रो हतार ? ट्रेन त यहीँ रहने हो नि ! कुली, कुली भनेर रातो कमिज लगाएकाहरू हाम्रो बोगीभित्र छिरिसकेका थिए । त्यो कुली युनिफर्म, जुनसुकै कलरको किन नहोस्, त्यसले मेरो कल्पना ब्रिटिस राजमा पुर्‍यायो । ट्रेनको सिट तल राखेका ब्यागहरू तानेर गुडाउन ठाडो पार्दै जाँदा त्यो कल्पनाले भन्यो- शोषण गर्न सात समुद्रपारिबाट आएका तिनले शासन गर्न चाहिँ जानेका थिए ।

अहिलेकाले त शोषणरहित समाज निर्माण गर्ने र समाजवादको कुरा भट्ट्याएर शोषण गर्न मात्र जाने । शोषण नै गर्न पनि राम्ररी शासन चलाउन जानेनन् । म अलमलिएको देखेर उषाले भनिन्- ‘जाने होइन’ । ‘ए ! हो नि’ भनेर ब्याक प्याक बोकेर ब्याग गुडाउँदै तल झरे । त्यसपछि उषाको ब्याग ट्रेनको ढोकाबाट तल झारे ।

ब्याग गुडाउँदै स्टेसन बाहिर निस्कने ढोकातिर जाँदा चारैतिर आँखा घुमाए । कुनै दरबारको झझल्को आउने खालको बिल्डिङ लाग्यो । मूलतः उपनिवेशवादी शोषणको प्रभावकारितालाई अज बलियो पार्न ब्रिटिसले विश्वमा ट्रेन निस्केको ५० वर्षपछि नै भारतमा ल्याइसकेको थियो । शोषणको प्रभावकारिता निश्चित रूपमा बढ्यो । साथै, ट्रेन नेटवर्कको विकासले नै वास्तविक अर्थमा भारतको एकीकरणको काम पनि गर्यो- जनजीविका, भावनात्मक, आर्थिक लगायत सबै क्षेत्रसँग । यस क्रममा पहिलो रेल बम्बईमा आएको १५ वर्ष पछि नै लखनउमा आइसकेको थियो । तर पनि हामी उत्रिएर हिँड्दै गरेको यो चारबाग स्टेसनमा भने ७० वर्ष पछि मात्र सन् १९२३ मा आइपुगेको हो । 

बिल्डिङ भव्य देखिने भए पनि त्यहाँको अस्तव्यस्तता देख्दा झल्याँस्स याद आयो हार्वर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर जोन ग्यालब्रेथले भारतबारे गरेको सटीक टिप्पणी । उनलाई नेहरुको टाइममा केनेडीले अमेरिकाको राजदूत बनाएर दिल्ली पठाएका थिए । उनको टिप्पणी थियो- भारत ‘फङ्सनल एनेर्की’ भएको देश हो । अर्थात् ‘काम चलिरहेको अराजकता’ । सरकार नै नभएको अवस्था जस्तो, जसले जे गरे पनि हुने डरलाग्दो भद्रगोलबीच आर्थिक विकास पनि भइरहेको र मुलुक चलिरहेको अवस्था हो यो । त्यही अवस्थाको प्रतिविम्ब आफ्नो मुलुक नेपालको भद्रगोलबीच चलिरहेको अवस्था पनि सम्झे । हामीकहाँ त सरकारबिना नै हुने विकासबाहेक आर्थिक विकास पनि हुन सकेन । यत्तिकैमा हामी बाहिर आइपुगिसकेका थियौँ । 

मैले टाउको घुमाएर मात्र होइन केही कदम हिँडेर पनि चारैतिर हेरेँ । दायाँतिर टाँगाहरू मात्र देखियो, एकसे एक सिँगारिएका घोडाहरू जोडिएका । कोही दाना खादै त कोहीसँग टाङावाला कुरा गर्दै थिए । घोडाले बुझ्दो रहेछ । स्ट्यान्डभन्दा अलि पर राम्ररी हेरचाह नगरेको बगैँचा देखिन्थ्यो । तर यी, जो मेरा अगाडि थिए, ती भन्दा मेरो दिलमा भएको भावनाले केही तस्बिर कोरिरहेका थिए । कस्तो थिए होलान् वेदप्रसाद लोहनी यो स्टेसनमा पहिलो पटक आएको बेलामा ? 

२५ वर्षको दुब्लो र पातलो त्यो श्याम वर्णको केटो जो जिन्दगीको सीप खोज्न यो नबाब, कबाब, सबाब र आदाबको सहरमा हतारिँदै आएका थिए । यस्ता प्रश्नको बाढी नै आयो मनमा । त्यो अनुहार खोजिरहेको थिए म, र त्यो दृश्य पनि, जब उनी एक नम्बरको हामी ओर्लेको प्लेटफर्मबाट झरेर बेडिङ, ट्याङ्का र सुराही लिएर म उभिएको ठाउँमा ६५ वर्ष अगाडि आइपुगेका थिए ।

म उभिएको थिएँ त्यहाँ सन् २००५ अप्रिलको १ तारिख शुक्रबारको दिन तत्अनुसार २०६१ चैत ११ गते । उनको अनुहारको आकृति ठ्याक्कै मेरो अगाडि त्यति बेला आयो जब मनमा आएको बाढी थेग्रिँदै गयो । अनि देखेँ उनी २१ वर्षको हुँदाको फोटो आँखा अगाडि जुन मैले आफ्नो कोठामा सजाएर राखेको छु । बल्ल देखेँ, मैले त्यो फुर्तिलो अनुहार जुन टाँगावालासँग लाटुस रोड जान भाउताउ गरिरहेको थियो ।

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x