सप्ताहन्त

पुस्तक समीक्षा

परराष्ट्रबारे बुझ्‍न चाहनेले पढ्‌नैपर्ने पुस्तक

माधवप्रसाद घिमिरे |
फागुन ८, २०७७ शनिबार १०:१६ बजे

कूटनीतिज्ञ डा. मदनकुमार भट्टराईले धेरै मेहनत र अनुसन्धान गरेर ‘परराष्ट्रका प्रशासक’ नामको गहकिलो पुस्तक पाठकसामु प्रस्तुत गर्नुभएको छ । यो पुस्तकमा प्रशासकहरू (अमिरमुन्सीदेखि परराष्ट्र सेक्रेटरीसम्म)को नालीबेली प्रस्तुत गरिएको छ ।

यो पुस्तकमा प्रशासकहरूमा मुन्सीहरूको झन्डै १५० वर्षसम्म परराष्ट्र नीति र कार्यान्वयनमा भएको पकडका कारण र परिणामको सविस्तार व्याख्या गरिएको छ । नेपालको परराष्ट्र नीतिका सञ्चालकहरूका सम्बन्धमा अनुसन्धानमूलक पुस्तकले धेरै पक्षलाई समेटेकाले यसको ऐतिहासिक महत्‍व छँदै छ, साथै ओझेल परेको मुन्सी परिवारको योगदानलाई महत्‍व दिई सबैको ध्यान आकर्षित गर्न सफल हुनु भएकामा लेखकलाई धन्यवाद दिनुपर्छ ।


देशको परराष्ट्र नीति ठीक भएन भने देशको अस्तित्व नै खतरामा पर्न सक्दछ भन्ने पेशेवर विज्ञहरूको राय रहेको छ । परराष्ट्र नीतिले छिमेकी र आफ्नो देशको हितसँग सरोकार हुने देशहरूसँग सम्बन्ध परिभाषित गर्दा देशको स्वार्थलाई सर्वोपरि राख्नुपर्ने कुरामा सबैको सहमति छ ।

समय र परिस्थितिअनुसार कूटनीतिक व्यवहारमा फरक हुन सक्दछ । देशको सार्वभौमसत्ता, अखण्डता र सीमाको सुरक्षामा आँच आउन नदिनु र छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गरी अमनचैन कायम गर्नु राष्ट्रको हितमा रहेको कुरा बडामहाराज पृथ्वीनारायण शाहले बुझेका थिए । सोही समयमा परराष्ट्र नीतिको कार्यान्वयन गर्न ज्योतिष कोठाको स्थापना भएको र पछि जैसीकोठा हुँदै मुन्सीखाना नामकरण भएको कुरा निकै रोचक तरिकाले पुस्तकमा वर्णन गरिएको छ ।

परराष्ट्र नीतिको सञ्चालनलाई संस्थागत गर्न राज्यका प्रमुखले नै चासो राखेको र आफ्नो प्रत्यक्ष निगरानी र निर्देशनमा काम भएको विषय पनि उल्लेखनीय छ । यसलाई संस्थागत गर्न प्रशासकहरूको भूमिका महत्‍वपूर्ण र निर्णायक रहेको विषय यो पुस्तकको सुन्दर पाटो हो । परराष्ट्र नीतिको ऐतिहासिक पक्ष र प्रशासकको सांगोपांगो वर्णन र विश्लेषणले अनुसन्धान गर्ने साधक र इतिहासमा रुचि राख्नेका लागि महत्‍वपूर्ण दस्तावेज हुनेछ ।

मुन्सी परिवारको योगदानको चर्चा गर्दा करिबकरिब १५० वर्षमध्ये ५० वर्ष एउटै परिवारका बाजेकाजी बलमानका छोरा बडाकाजी मरीचिमान र नाति सरदार नगेन्द्रमानको वर्णन गरिएको छ । बडाकाजी मरीचिमान सिंह प्रधानको राणा परिवारका शक्तिशाली प्रधानमन्त्रीमा कतिसम्म प्रभाव थियो भने बडाकाजीको राय नै निर्णायक मानिन्थ्यो । यहाँ लिग अफ नेसन्ससम्बन्धी प्रसंगको राम्रो चित्रण पुस्तकमा पाइन्‍छ । तत्कालीन ब्रिटिस राजदूतले नेपाल लिग अफ नेसन्सको दास मोचनसम्बन्धी विज्ञ समूहको बैठकमा भाग लिन जानुपर्ने राय दिएका रहेछन् ।

नेपालले १० वर्षअघि नै दास मोचन गरिसकेकाले नेपालले भाग लिनु आवश्यक नरहेको र लिग अफ नेसन्सले सोझै नेपालसँग पत्राचार गरेमा नेपालले विचार गर्नसक्ने राय बडाकाजीको भएकाले प्रधानमन्त्री जुद्धशमशेरले सो रायविपरीत निर्णय गर्न नसकेको कुराले उनको योग्यता र प्रभावको पहिचान दिएको छ । बडाकाजी मरीचिमान सिंह प्रधानको योग्यता, क्षमता र दूरदर्शिताका सम्बन्धमा पुस्तकको १४ पाना लामो बेलीविस्तार गरिएबाट पनि यो कुरा बुझ्‍न सजिलो भएको छ । 

देशको विदेश नीतिको तर्जुमा, कार्यान्वयन, अभिलेख राख्न र कसको के जिम्मेवारी हो स्पष्ट रूपमा उल्लेख गरिएको १५ जुलाई १९१७ मा मुन्सीखाना जैसीकोठा सवाल जारी भएको रहेछ । विदेश नीतिलाई संस्थागत र व्यवस्थित गरिएको र प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा मुन्सीखानाका हाकिमले काम गर्ने भएकाले हाकिमको इज्जत, प्रतिष्ठा बढ्ने नै भयो ।

मुन्सीखानाका हाकिमहरू उच्च अध्ययन गरेका, सानैदेखि बाबुबाजेको रेखदेखमा काम गरी अनुभव बटुलेका, मेहनती, लगनशील र इमानदार भएकाले पनि उनीहरूले दिने रायको राणा प्रधानमन्त्रीहरूले कदर र सम्मान गरेको कुरा लेखकले औँल्याउनुभएको छ । देशको शासन व्यवस्था प्रभावकारी हुन प्रशासकको ज्ञान, अनुभव, विवेक र विज्ञतामा निर्णय गर्ने अधिकार प्राप्त अधिकारीको निगरानी र पूर्ण विश्वास हुनुपर्छ भन्ने कुरा यो पुस्तक पढेपछि मैले बुझ्‍ने मौका पाएँ । साथै प्रशासकहरूको योग्यताको उचित कदर भएमा दिलोज्यानले प्रशासकले योगदान गर्दछ भन्ने पनि यसबाट बुझ्‍न सकिन्‍छ ।

नेपालको कूटनीति र विदेश नीतिको गहन विश्लेषण र सूचनाबाट अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरूदेखि जिज्ञासु सबै लाभान्वित हुनेछन् ।

वि.सं. २००४ मा नरेन्द्रमणि आचार्य दीक्षित परराष्ट्र सचिवमा नियुक्त भएपछि मुन्सी परिवारको परराष्ट्र सेवामा प्रभाव क्रमशः कम हुँदै गएको देखिन्‍छ । मुन्सीखानाका अन्तिम हाकिम सरदार नगेन्द्रमान सिंह प्रधानलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गरेकाले अनुभवी प्रशासकको कदर गरिएको उल्लेखनीय छ । २००७ सालपछि पनि परराष्ट्र मन्त्रालयको कामलाई तत्कालका सरकारले महत्‍व दिने गरेको र परराष्ट्र सचिवको नियुक्ति निजामती सेवाको विशेष व्यवस्थाअन्तर्गत हुने गरेको छ ।

परराष्ट्र मन्त्रालयको सचिवको सेवा अवधि पनि प्रशासनका अन्य मन्त्रालयका सचिवको अवधिको तुलनामा लामो रहेको छ । परराष्ट्र मन्त्रालयमा काम गर्नु इज्जत र प्रतिष्ठा भएको पनि स्मरणीय छ । परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरिएकाले पनि परराष्ट्र मन्त्रालयको गरिमा बढेको भन्नुपर्छ ।

यस पुस्तकमा दिइएको सूचनाको स्रोतहरूका प्रमाण (व्यक्ति, अभिलेख, दस्तावेजको मात्र ७५ पाना) र पादटिप्पणीको समेत अध्ययन गर्दा लेखकले धेरै लामो समयदेखि यो विषयमा चासो राख्नुभएको र इतिहासको महत्‍वलाई एउटा जिम्मेवार प्रशासक र नागरिकको हैसियतले पुस्तकको आकारमा प्रस्तुत गरी कर्तव्य निर्वाह गर्नुभएको छ । पुस्तकमा समावेश गरिएका विषय, विश्लेषण र निष्कर्ष परराष्ट्र नीतिका अध्येता र जिज्ञासुका लागि उपयोगी हुने र अनुसन्धान गर्नेका लागि सूचनाको खानी हुने यो टिप्पणीकर्ताको विश्वास रहेको छ ।

बेलायतका प्रधानमन्त्री चर्चिलले इतिहासको अध्ययनले राज्य सञ्चालनका कौशल जानिन्‍छ भन्ने कुरा कुनै प्रसंगमा पढेको सम्झना छ । यो कूटनीतिक इतिहासको दस्तावेजको अध्ययनवाट परराष्ट्र नीति कार्यान्वयनमा संलग्न व्यवस्थापकहरूले विज्ञता, कौशल बढाउन सक्नेछन् र कूटनीतिज्ञहरूका लागि व्यावहारिक मार्गदर्शन हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थीहरू नेपालको कूटनीति र विदेश नीतिको गहन विश्लेषण र सूचनाबाट लाभान्वित हुनेछन् । पुस्तकका अन्तिम पानाहरूमा घरघरमा छरिएर रहेका पुराना दुर्लभ तस्बिरहरूको संकलनले पनि किताबको महत्‍व बढाएको छ ।

अन्त्यमा लेखकले भूमिकाको पाना १५ मा उल्लेख गर्नुभएको वाक्यतर्फ ध्यानाकर्षण गराउन चाहन्‍छु । ‘अहिलेसम्म परराष्ट्र सचिव पद सम्हाल्ने व्यक्तिहरूको समष्टिगत मूल्याङ्कन गर्दा सामान्य व्यक्ति मबाहेक अत्यन्त ऊर्जावान् र प्रबुद्ध व्यक्तिहरूले यो ओहदा सम्हाल्नुभयो । म परिस्थितिको उपजका रूपमा भाग्य, संयोग वा काकतालीले यो क्रममा परेको मात्र हुँ ।’

लेखकले यो वाक्यमा विनयशीलता प्रकट गर्नुभएको छ । तर, परराष्ट्र सेवा प्रवेश गरेपछि अध्ययनलाई निरन्तरता मात्र दिनुभएन, उच्च डिग्री हासिल गरी (पीएचडी र डिलिट) अनुसन्धानलाई जीवनको महत्‍वपूर्ण अंग बनाई रातदिन अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीतिजस्ता विषयमा समर्पित हुने प्रबुद्ध व्यक्ति विरलै देखिएको हँुदा उहाँको विनयशीलताको नमन गर्दै उहाँको लगनशीलताबाट धेरैले प्रेरणा लिन सक्ने आधार बनेको छ । सामान्य व्यक्ति जुन बौद्धिक उचाइमा पुग्नुभयो त्यो भाग्य, संयोग वा काकताली नभई मेहनत र लगनशीलताको उच्च कदर भएको भनेर बुझ्‍नु नै उचित हुनेछ । 

कतैकतै ज्यादै लामा वाक्यले गर्दा विषयलाई बुझ्‍न दोहोर्‍याई तेहोर्‍याई पढनुपर्ने अवस्था छ । विषयहरू पनि धेरै ठाउँमा दोहोरिन गएका छन् । सम्पादनमा बढी समय दिँदा राम्रो हुनेछ । (अर्थ मन्त्रालयमा वैदेशिक समन्यव महाशाखामा काम गरेका घिमिरे अर्थ-कूटनीतिज्ञ हुन् । उनी पूर्वकर्मचारी सेवा परिषद्, नेपालका अध्यक्ष पनि हुन् ।)

अन्य पुस्तक समीक्षा


Author

थप समाचार
x