विश्व

भारतमा अप्रिलदेखि जुनसम्म निर्वाचन हुने, स्वतन्त्रतापछिको दोस्रो लामो निर्वाचन

इकागज |
चैत ५, २०८० सोमबार १९:५० बजे

काठमाडौँ- अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको भारतको आमनिर्वाचनमा करिब ९७ करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । यो सङ्ख्या विश्वव्यापी जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो यसको नतिजा घोषणा ४४ दिनपछि जुन ४ मा मात्र सार्वजनिक हुनेछ । 

विशाल आकार र विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएकाले गर्दा भारतको निर्वाचन चरणबद्ध रूपमा लामो समयको अन्तरालमा सम्पन्न हुन्छ । 


बेलायती शासनबाट स्वतन्त्र भएपछि सन् १९५१–५२ मा भएको भारतको पहिलो निर्वाचनमा मतदान गर्न करिब चार महिना लागेको थियो । सन् १९८० मा भने जम्मा चार दिनमा निर्वाचन गरिएको थियो । 

सन् २०१९ को निर्वाचनमा मतदान गर्न ३९ दिन लागेको थियो । यो वर्ष हुने भारतको आमनिर्वाचन हालसम्मको दोस्रो लामो निर्वाचन हो । 

मतदाता सङ्ख्या ९६ करोड ९० लाख दर्ता भएसँगै भारतको मतदाताको आकार युरोपेली सङ्घको जनसङ्ख्याभन्दा ठूलो भएको छ ।

संसदको तल्लो सदनका लागि ५४३ सांसद चयनका लागि सात चरणमा मतदान हुने भएको छ । भारतको २८ राज्य र आठ सङ्घीय क्षेत्रले फरक–फरक समयमा मतदान गर्नेछन् । अप्रिल १९ मा सुरु भएर जुन १ मा अन्त्य हुने निर्वाचनको प्रत्येक चरण एक दिनको हुनेछ । 

'निर्वाचन अधिकारीहरूले लामो यात्रा गरेर भएपनि हरेक मतदाताको मताधिकार सुनिश्चित गर्नुपर्छ,' 'पिआरएस लेजिस्लेटिभ रिसर्च’ का चक्षु रोयले भने । 

निर्वाचनमा खटिएका लगभग एक करोड ५० लाख मतदान अधिकारी र सुरक्षाकर्मीले देशको कुना–कुनामा पुगेर हरेक नागरिकको मताधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ । 

सन् २०१९ मा भएको चुनावमा एक मतदाताको लागि मतदान अधिकारीको टोली चार दिनसम्म ४८० किलोमिटर यात्रा गरेर भारतको दुर्गम अरुणाञ्चल प्रदेश पुगेका थिए । 

उक्त निर्वाचनमा मतदान अधिकारीहरूले हिमालयको अग्लो स्थानमा रहेको एक गाउँमा पन्ध्र हजार २५६ फिट अग्लो बुथ स्थापना गरेका थिए, जुन विश्वको सबैभन्दा अग्लो मतदान केन्द्र हो । 

यसपटकको निर्वाचनमा पनि दक्षिणी केरला राज्यको वन्यजन्तु आरक्ष भित्र र अर्को पश्चिमी गुजरात राज्यको ढुवानी कन्टेनरजस्ता दुर्गम स्थानहरूमा मतदान केन्द्रहरू स्थापना गरिने छ  ।

विज्ञहरूका अनुसार सुरक्षाको दृष्टिकोणले पनि भारतमा धेरै–चरणमा निर्वाचन हुन लागेको हो । कडा सुरक्षाका कारण वर्षौदेखि मतदान शान्तिपूर्ण र सम्मानजनक रूपमा हुँदै आएको छ । 

सिमानाको रक्षामा खटिएका दशौँ हजार सङ्घीय सुरक्षा बलहरू राज्य प्रहरीसँगै हिंसा रोक्न र मतदान मेसिनहरूको ढुवानीमा खट्ने भएका छन् । 

'देशको भूगोल ठूलो छ । सुरक्षा बलहरूले देशको खोला, पहाड, जङ्गल, लम्बाइ तथा चौडाइ घुम्नुपर्ने हुन्छ । मतदातालाई मतदान गर्न सहज बनाउन हामी सक्दो कोसिस गर्नेछौँ,' प्रमुख निर्वाचन आयुक्तले भने । एजेन्सी


Author

थप समाचार
x