विश्व

युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गर्‍यो : पोल्याण्ड प्रधानमन्त्री टस्क

इकागज |
चैत १७, २०८० शनिबार १५:२ बजे

वार्सा- पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोपमा द्वन्द्वको ‘वास्तविक’ खतराबारे चेतावनी दिँदै दोस्रो विश्वयुद्धको अन्त्यपछि पहिलो पटक यो महादेश ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको बताएका छन् । 

'युद्ध अब विगतको अवधारणा होइन । यो वास्तविकता भएको छ र यो दुई वर्ष पहिले सुरु भएको छ । यस क्षणमा सबैभन्दा चिन्ताजनक कुरा हो र शाब्दिक रूपमा भन्दा युद्धको कुनै न कुनै परिदृश्य सम्भव देखिएको छ । हामीले सन् १९४५ यता यस्तो अवस्था देखेका थिएनौँ,' टस्कले शुक्रबार युरोपेली सञ्चार समूह लीनालाई दिएको अन्तर्वार्तामा भने ।  


उनले थपे, 'मलाई थाहा छ विशेष गरी युवा पुस्ताको लागि यो विनाशकारी सुनिन्छ तर हामीले यस तथ्यमा अभ्यस्त हुनुपर्दछ युद्धपूर्व (सन् १९४५अघि) को परिदृष्यसहित एक नयाँ युग सुरु भएको छ । मैले अवस्थाबारे अतिरञ्जित कुरा गरिरहेको छैन; यो हरेक दिन स्पष्ट हुँदै गइरहेको छ ।'

दुई वर्षअघि युक्रेनमा रूसले गरेको आक्रमणले युरोपेली नेताहरूको युद्धपछिको शान्तिको भावनालाई अन्त्य गरेको थियो, यसले गर्दा धेरै देशहरूले किएभ र उनीहरूका आफ्नै सेनाहरू आपूर्ति गर्न हतियार उत्पादनलाई तीव्रता दिन थालेका छन् । 

युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले शुक्रबार भने, 'यदि किएभ पराजित भए युरोपमा कसैले पनि सुरक्षित महसुस गर्ने छैनन् ।'

महाद्वीपका लागि चिन्ताको बिषय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित पुनरागमन पनि हो । उनको अमेरिकी सैन्य सहायताको विश्वसनीयतामाथिको प्रश्नले नाटोको भूमिकालाई खुलेआम शङ्काका दृष्टिले हेरिएको छ । यदि उनी नोभेम्बरमा पुनः निर्वाचित भएमा त्यसपछि बन्ने ट्रम्प प्रशासनले नाटोमा भइरहेको अमेरिकी खर्च घटाउने पहिलेको प्रस्तावलाई पुनः ल्याउनसक्नबारे कतिपय यूरोपेली नेताहरू सशङ्कित छन् ।
 
टस्कले अन्तर्वार्तामा भने, 'अमेरिकी राष्ट्रपति जोसुकै किन नहोस्, हाम्रो काम ट्रान्साटलान्टिक सम्बन्धको विकास गर्नु हो ।' (एएफपी)


Author

थप समाचार
x