विश्व

युक्रेन द्वन्द्व अन्त्य गर्ने ट्रम्पको टिप्पणीलाई ‘गम्भीरतापूर्वक’ लिन्छु : पुटिन

इकागज |
असार २१, २०८१ शुक्रबार ६:२६ बजे

फाइल तस्बिर

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा भएको द्वन्द्वलाई चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहसका क्रममा गत साता ट्रम्पले राष्ट्रपतिमा आफू निर्वाचित भए सन् २०२५ जनवरीमा पदभार ग्रहण गर्नुअघि नै द्वन्द्व ‘समाधान’ गर्ने बताएका थिए । 


“राष्ट्रपतिको उम्मेदवारका रूपमा श्री ट्रम्पले आफू तयार रहेको र युक्रेनमा युद्ध रोक्न चाहेको भन्ने तथ्यलाई हामी गम्भीररूपमा लिन्छौँ”, पुटिनले अस्तानामा पत्रकार सम्मेलनमा भने । 

रुसले सामान्यतया युक्रेनमाथि आफ्नो सैन्य आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भनेर बुझाउने गरेको छ । युद्धको तेस्रो वर्षमा अन्त्य गर्ने ट्रम्पको विशिष्ट प्रस्तावबाट आफू ‘परिचित’ नभएको पुटिनले बताए । 

“निश्चितरूपमा यो मुख्य प्रश्न हो”, उनले भने, “तर उहाँले यो इमान्दारीपूर्वक भन्नुहुन्छ र हामी यसलाई समर्थन गर्छौं भन्नेमा मलाई कुनै शङ्का छैन ।”

पुटिनले द्वन्द्व समाप्त गर्न सधैँ वार्ताका लागि तयार रहेको दाबी गर्नुभएको छ तर गत महिना उहाँले युद्धविरामको पूर्वशर्तका रूपमा युक्रेनले प्रभावकारीरूपमा आत्मसमर्पण गर्नुपर्ने माग गरेका थिए । युक्रेनले रुसको आक्रमण समाप्त होस् भन्ने चाहन्छ भने उसले मुलुकको दक्षिण र पूर्वबाट आफ्ना सैनिक हटाउन र हाल रुसी सेनाले कब्जा गरेको क्षेत्र खाली गर्न पुटिनले युक्रेनसँग आह्वान गरेका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अस्थायी युद्धविरामलाई बारम्बार अस्वीकार गरेका छन् । उनका अनुसार रुसले यसको प्रयोग पुनः सङ्गठित हुन र सशस्त्र बनाउन प्रयोग गर्नेछ । 

किएभले रुसी सेना मुलुकबाट पूर्णरूपमा बाहिरियोस् भन्ने चाहन्छ । यसमा कुनै पनि सम्झौताअन्तर्गत सन् २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि रहेको छ । साथै रुसले द्वन्द्वका कारण भएको नोक्सान र विनाशका लागि क्षतिपूर्ति देओस् भन्ने युक्रेन चाहन्छ । 

सन् २०२३ मा युक्रेनी जवाफी आक्रमण धेरै हदसम्म असफल भएपछि रुसी सेनाले यस वर्ष युद्धको मैदानमा सामान्य प्रगति गरेको छ । (एएफपी) 


Author

थप समाचार
x