विश्व

अमेरिकाको जर्जियामा विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

इकागज |
भदौ २०, २०८१ बिहीबार ७:४७ बजे

काठमाडौँ- अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन् ।

एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।


गोली चलाउने बालक पनि सोहि विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक घाइते भएका छन् ।

प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको र उनलाई एडल्टलाई जस्तै कारबाही गर्ने बताएको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गर्दछन् । सन्‌ २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औं घटना हो । यस अघि सन्‌ २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो बने सन्‌ २०२२ मा ७९ र सन्‌ २०२१ मा ७३ विद्यालयमा गोली चलेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् ।


Author

थप समाचार
x