विश्व

चीन साझा विकासको बाटोमा अडिग छः राष्ट्रपति सी

अजय अलौकिक |
कात्तिक ७, २०७७ शुक्रबार १९:४९ बजे

बेइजिङ : चीनको राजधानी बेइजिङमा चिनियाँ जनस्वयमसेवक सेनाले उत्तर कोरियामा अमेरिकी आक्रमणविरूद्ध गरेको उद्धार युद्धको ७०औं वार्षिकोत्सव समारोह आयोजना गरिएको छ । दुई वर्ष नौ महिनासम्म चलेको उक्त युद्धमा विश्व युद्ध इतिहासमा कमजोर मानिएको सैनिक समूहबाट शक्तिशाली सैनिक समूह पराजित भएको थियो । यसै दिनको सम्झना गर्दै शुक्रबार बेइजिङमा एक समारोहको आयोजना गरिएको हो ।

सो वार्षिकोत्सव समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकाको आक्रमणको प्रतिरोध र उत्तर कोरियाको उद्धार युद्धको जीत चीन राष्ट्रको महान पुनरुत्थानका लागि महत्त्वपूर्ण जीवकोष भएको बताएका छन् । आक्रमणकारीहरूले नयाँ चीनलाई घेर्न खोजेको र चिनियाँ जनताले प्रतिकार गरी देशलाई सुरक्षित राख्न सफल भएको भन्दै चिनियाँ जनताको हिंसाविरूद्ध पछि नहट्ने स्वभाव तथा दृढ आत्मशक्ति प्रदर्शन भएको पनि बताए ।


सो अवसरमा चिनियाँ राष्ट्रपति सीले चीनले कहिले पनि विश्वमा प्रभुत्ववाद नखोजेको र प्रभुत्ववाद तथा शक्ति राजनीतिको विरोध गरेको बताए। चीनले निरन्तर एक रक्षात्मक राष्ट्रिय रक्षा नीति अनुसरण गरेको उनको भनाइ थियो । साथै उनले चिनियाँ जनताले चीनको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र चिनियाँ क्षेत्र तथा भूभागको उल्लंघन, खण्डीकरण र विभाजनको गम्भीर अवस्थामा निश्चित रूपमा आक्रमण गर्ने पनि औंल्याए । 

आफ्नो सम्बोधनमा चीनका सर्वोच्च नेता सीले शान्तिपूर्ण रूपमा विकास बाटोमा चीन अडिग रहनुका साथै विभिन्न मुलुकका जनतासँग मिलेर मानव समुदायको रचनालाई बढाउने इच्छा लिएको पनि व्यक्त गरे । राष्ट्रपति सीले जिम्मेवार ठूलो मुलुकको रूपमा रहेको चीनले समस्त मानव जातिको साझा मूल्य, मान्यता र विश्व शान्ति तथा विकास निर्माणमा संयुक्त सल्लाह र आदान प्रदान गर्ने र शान्तिपूर्ण, खुला, सहयोगी तथा साझा विकासको बाटोमा अडिग रहने पनि बताए ।

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा अमेरिका विरूद्ध गरेको उद्धार युद्धमा विजय भएको केही दशकयता चिनियाँ जनता धनी तथा समृद्ध बन्दै हाल बलियो अवस्थामा पुगेको पनि औंल्याए । साथै जीवित चिनियाँ जनता स्वयमसेवक सेनाका सैनिकलाई अभिवादन गर्दै राष्ट्रपति सीले उक्त युद्धमा निधन भएका शहीदप्रति सदा सम्झना रहिरहने भन्दै चीन र उत्तर कोरियाबीचको मित्रताको उच्च प्रशंसा गरे ।

सन् १९५० को जुनमा कोरियाली प्रायद्वीपमा आन्तरिक युद्ध शुरू भएपछि अमेरिकाले दक्षिण कोरियालाई साथ दिँदै उत्तर कोरियामाथि आक्रमण गरेको थियो । अमेरिकी सेनाले युद्धक विमानमार्फत चीनका उत्तर पूर्वी सीमावर्ती शहर गाउँमा वायु आक्रमण समेत गरेको थियो । चिनियाँ सरकारको चेतावनीको उपेक्षा गरी अमेरिकी सेना चीन तथा उत्तर कोरियाको सीमा नजिकसम्म आएको थियो ।

उत्तर कोरियाको अनुरोधमा चीनले चिनियाँ जन स्वयमसेवक सेनालाई सन् १९५० को अक्टुबरमा अमेरिकी आक्रमण विरूद्ध युद्ध गर्न उत्तर कोरियामा पठाएको थियो । उक्त युद्धमा १ लाख ९७ हजार चिनियाँको मृत्यु भएको थियो । दुई वर्ष नौ महिनासम्म चलेको उक्त युद्धमा अन्ततः विश्व युद्ध इतिहासमा कमजोर मानिएको सैनिक समूहबाट शक्तिशाली सैनिक पराजित भएको थियो ।
 


Author

थप समाचार
x