विश्व

चीनको जीडिपी पहिलो पल्ट १०० खर्ब युआन

अजय अलौकिक |
माघ ६, २०७७ मंगलबार १९:१३ बजे

बेइजिङः चीनको कुल गार्हस्थ उत्पादन (जीडिपी)ले पहिलो पटक १०० खर्ब चिनियाँ युआनको थ्रेसहोल्ड पार गरेको छ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले जनवरी १८ तारिख सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को जीडिपी १०१.६० खर्ब युआन (१५.४२ खर्ब डलर) पुगेको छ । चीनले जीडिपीमा १०० खर्ब युआनको थ्रेसहोल्ड पार गरेर एउटा इतिहास रचेको छ । 

साथै कोरोना महामारीबीच पनि चीनको जीडिपी गत वर्ष (सन् २०१९) को तुलनामा २.३ प्रतिशतले वृध्दि भएको छ । विश्‍व आर्थिक जगत् कोरोना महामारी (कोभिड-१९) का कारण ध्वस्त भएको अवस्थामा पनि चिनियाँ अर्थतन्त्रले विश्‍व जगतलाई एउटा आशा पनि देखाएको छ । साथै कोरोना कहरको वर्षमा अधिकांश मुलुकका अर्थव्यवस्था धरायशी भएको अवस्थामा चिनियाँ अर्थव्यवस्था मात्र सकारात्मक रहेको छ ।


सन् २०२० को चौथो त्रैमासिकमा जीडिपी ६.५ प्रतिशतले बढेको थियो । तथ्यांक अनुसार, सन् २०१९ को तुलनामा पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले ऋणात्मक रहेको जीडिपी दोस्रो त्रैमासिकमा ३.२ प्रतिशत र तेस्रोमा ४.९ प्रतिशतले वृध्दि भएको थियो । 

जनवरी १८ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अध्यक्ष निङ चिचले महामारीको वर्ष भए तापनि चीनले आर्थिक तथा सामाजिक विकासका मुख्य लक्ष्यहरू पूरा गरेको बताए । उनले भने, एकातिर महामारीको रोकथाम र नियन्त्रण र आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण उपलब्धी हासिल भएको छ भने अर्कोतिर सुधार तथा खुलापनले विकासमा चमत्कार सिर्जना भइरहेको छ । चीन सन् २०२० मा गरिबीमुक्त देश पनि बनेको छ ।  

यसै गरी, सन् २०२० मा चीनको कुल आयात तथा निर्यात अघिल्लो वर्षको तुलनामा १.९ प्रतिशतले बढेर ३२.१६ खर्ब युआन पुगेको छ । निर्यात १० प्रतिशतले वृध्दि हुँदा कुल रकम १८.५९ खर्ब युआन र आयातमा ०.२ प्रतिशतले कमी हुँदा १३.४२ खर्ब भएको छ । जसबाट ५.१७ खर्ब युआन सरप्लस भएको छ ।
 
चीनको भन्सार विभागको एक तथ्यांक अनुसार, सन् २०२० मा टेक्सटाइल, चिकित्सासम्बन्धित उपकरण तथा वस्तु र औषधिको कुल निर्यात मात्रा ३१ प्रतिशतले वृध्दि भएको छ । यसबाहेक, गत मार्चदेखि डिसम्बरसम्म चीनले २ खर्ब २४ अर्ब २० करोड मास्क निर्यात गरेको थियो ।

गत वर्षको १३औं राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले जीडिपीको ठोस लक्ष्य नै तोकेका थिएनन् । तापनि सर्वसाधारणको रोजगारी, आधारभूत जीवनयापनको स्तर र बजारको मुख्य मागलगायत '६ वटा संरक्षण' को लक्ष्य बनाएका थिए । त्यस बेला प्रधानमन्त्री लीले कोभिड-१९ महामारीबाट विश्‍व अर्थतन्त्रमा पुर्‍याएको क्षतिबाट जोगिनसक्ने सम्भावना न्यून भएको समेत औंल्याएका थिए । 

विश्‍वव्यापी रूपमा फैलिँदै गएको महामारी, विश्‍व अर्थतन्त्रमा देखिएको मन्दी र संरक्षणवादको अवस्थामा चीनको यो उपलब्धी उल्लेखनीय छ । साथै, हालसालै अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२१ मा चीनको जीडिपी वृध्दि दर ७.९ प्रतिशत पुग्‍नु अनुमान गरेको छ । 
 


Author

थप समाचार
x