उपमहानगरका किसानलाई अनुदान कार्यक्रमले सहज
मकवानपुर - हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका किसानलाई अनुदानमा आधारित कार्यक्रमले कृषि कर्ममा प्रेरणा प्रदान गरेको छ । हेटौंडा उपमहानगरपालिकाको अनुदानमा साना किसान सहकारी संस्थालाई ट्याक्टरलगायतको कृषि औजारलगायतको अनुदान कार्यक्रम मार्फत सहयोग गरिएको हो ।
उपमहानगरले सहकारीलाई प्रदान गरेको ट्याक्टरको सहायताले सस्तोदरमा खेत, बारी जोत्ने काम गर्न पाएपछि वर्षभरी गोरु पलेर परमपरागत खेती गर्नुपर्ने बाध्यताबाट किसानले छुट्कारा पाएको साना किसान कृषि सहकारी संस्था अध्यक्ष कमला श्रेष्ठले बताइन् ।
चालू आर्थिक वर्षमा हेटौंडा–१३ पदमपोखरीमा त्रिबेणी कृषि सहकारी संस्थालाई प्रविधियुक्त टनेल निर्माणका लागि उपमहानगरपालिकाले १३ लाख रुपैयाँ उपलब्ध गराउने गरी सम्झौता गरेको छ । प्रबिधियुक्त टनेल निर्माण गरेपछी सहकारीमा आवद्ध किसानहरुले सामुहिक खेती गर्ने तयारी गरेका छन् ।
विशेषगरी उपमहानगरको ग्रामिण वडाहरुलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य अनुरुप अनुदान कार्यक्रम लागु गरिएको मेयर हरिबहादुर महत बताए ।
उन्नत जातका तरकारीका विउ बितरण, कृषि चुन वितरण, कृषि फार्म प्रवर्द्धन, पुष्प खेती प्रवर्द्धन, फलफुलका विरुवा बितरण, प्लाष्टिकका टनेल निर्माण, व्यावसायिक खेती कार्यक्रम, कृषि बजार पूर्वाधार कार्यक्रममा सहयोग गरिएको मेयर महतले बताए ।
यसैगरी कृषि सामाग्री ढुवानी कार्यक्रम, कृषि इन्जिनियरिङ प्रबद्र्धन कार्यक्रम, खाल्डो खन्ने मेसिन अनुदानका कार्यक्रम, कृषि सिंचाइ कार्यक्रम, कृषि उपज संकलन तथा बिक्री गर्नका लागि सहयोग कार्यक्रम, टनेल हाउस खेती कार्यक्रम, स्थानीय स्तरमा मिनी डिजीटल माटो ल्याब स्थापना गर्ने कार्यक्रम, बहुउद्देसीय नर्सरी स्थापना गर्ने कार्यक्रम, माटो जाँच शिविर कार्यक्रममा सहयोग गरिएको उपमहानगर आर्थिक तथा वित्त महाशाखा प्रमुख गांगा चौलागाईँले बताइन् ।
यसै गरी पशुपन्छी पालनमा पनि उपमहानगरपालिका अनुदानका लागु गरेको छ । हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा खेती गर्ने किसानसँगै पशुपालनका क्षेत्रमा काम गर्ने किसानका लागि पनि सहयोगका कार्यक्रम ल्याएको चौलागाईले बताइन् । विगत पाँच वर्षको अवधिमा पशुपन्छी पालन किसानका लागि अनुदानका कार्यक्रमबाट थप सहयोग गरिएको उनले बताइन् ।
आन्तरिक तथा परजिवी रोग नियन्त्रण कार्यक्रम, एकल महिला, गरिब, असहाय पशुपालन प्रोत्साहन कार्यक्रम, विभिन्न प्रकारका खोप लगाउने कार्यक्रम, ग्रामिण कुखुरा प्रबद्र्धन कार्यक्रम, पशु आहार घाँस वितरण कार्यक्रम, पशु कृतिम गर्भाधान कार्यक्रम, पशु स्वास्थ्य शिविर कार्यक्रम, बंगुर प्रवर्द्धन कार्यक्रम अन्तरगत पाठा, पाठी वितरण कार्यक्रम, महिलाहरूका लागि पशुपालन प्रोत्साहन कार्यक्रम, मासु पसल स्तरउन्नत कार्यक्रममा सहयोग गरिएको चौलागाईले बताइन् ।
व्यावसायिक फर्म प्रोत्साहन कार्यक्रम अन्तरगत मिल्क ट्याङ्की तथा क्यान वितरण, सामुदायिक कुकुर व्यावस्थापन कार्यक्रम, युवा लक्षित पशुपालन कृषक अनुदान कार्यक्रम, औषधि खरिद तथा वितरण कार्यक्रम, दूधको खुवा बनाउने विद्युतीय मेसिन वितरण कार्यक्रम, समुहका किसानका लागि पशुपन्छी तौल मेशिन वितरण कार्यक्रम, बोयर बोका वितरण कार्यक्रम, किसानका लागि खोर, गोठ सुधार कार्यक्रम, गाए प्रवर्द्धन कार्यक्रम, बंगुर प्रबद्र्धन कार्यक्रम लगायतका क्षेत्रमा सहयोग गरिएको उनले बताइन् ।
कृषि विकास तथा पशु विकास तर्फ उन्नत बाली विकासको लागि विभिन्न बालीको बीउ ३ हजार ४०० केजी र मौसम अनुसारका तरकारीको बीउ १ हजार ५ सय पाकेट वितरण गरिएको उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख दुर्गा न्यौपानेले बताए ।
नगर क्षेत्रमा आवश्यक पर्ने अनुदानको रासायनिक मल वितरण गर्न ३५ वटा कृषि सहकारीहरूलाई विक्रेताको लागि कार्य क्षेत्रसहित किटान गरी रासायनिक मल वितरण गर्ने ब्यवस्था मिलाइएको उनले बताए ।
साना किसान सहयोग कार्यक्रमअन्तर्गत काउ म्याट वितरण, पाडा पाडी अनुदान, युवा लक्षित अनुदान, माछा तथा हाँस पालन अनुदान, बंगुर पालन अनुदान, ब्यबसायिक फर्म प्रोत्साहन कार्यक्रम गरी १ सय ११ जना किसानलाई अनुदान सम्झौता गरेर कार्यान्यनमा गएको न्यौपानेले बताए ।