टी–ट्वान्टी विश्वकपः भाग्यको साथ खोज्दै अस्ट्रेलिया र न्युजिल्यान्ड
काठमाडौँ- आइतबार साँझ आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड आमनेसमाने हुँदैछन् । अस्ट्रेलिया टी–ट्वान्टी ढाँचाको विश्वकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको हो भने न्युजिल्यान्डका लागि यो पहिलो उपाधि भिडन्त हो ।
आईसीसीले आयोजना गर्ने सबै प्रकारको प्रतियोगिताको कुरा गर्ने हो भने, न्युजिल्यान्ड लगातार तेस्रो पटक फाइनल पुगेको हो । यसअघि न्युजिल्यान्डले सन् २०१५ र २०१९ को ओडीआई विश्वकपको फाइनलमा स्थान बनाएको थियो । विश्वकप २०१५ मा न्युजिल्यान्डलाई अस्ट्रेलियाले पराजित गरेको थियो भने त्यसको चार वर्षपछि उसलाई इंग्ल्यान्डले हरायो । यस्तोमा प्रश्न उठ्छ, के यो पटक न्युजिल्यान्ड भाग्यमानी सावित होला?
५० ओभरको ढाँचाको विश्वकपमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अस्ट्रेलिया ले पाँच पटक विश्वकप जितेको छ । तर टी–ट्वान्टी विश्वकपमा भने अस्टे«लियाको प्रदर्शन अपेक्षा गरे अनुसारको हुन सकेको छैन । टी–ट्वान्टी विश्वकप सातौँ संस्करणसम्म आइपुग्दा अस्ट्रेलियाले यसपालीसमेत गरेर दुई पटक फाइनलमा स्थान बनाएको छ । यसकारण, फाइनल पुगेका दुवै टिम आफूलाई भाग्यमानी सावित गर्ने लक्ष्यमा छन् ।
आइतबारको फाइनलमा यी दुई टिमका दुई ब्याट्सम्यानको भूमिका महत्वपूर्ण हुन सक्छ । यी खेलाडी हुन्, डेभिड वारनर र मार्टिन गुप्टिल । टी–ट्वान्टी विश्वकप सुरु हुनुअघि सम्पन्न भएको इन्डियन प्रिमियर लिग (आईपीएल)मा वारनरको प्रदर्शन सन्तोषजनक थिएन । सनराइजर्स हैदराबादले उनलाई कतिपय खेलमा पहिलो एघारमा समेत राखेन । यद्यपि यो विश्वकपमा भने उनले स्वभाविक लय देखाएका छन् । ६ इनिङमा उनले २३६ रन बनाइसकेका छन् । पाकिस्तानसँगको खेलमा पनि उनको प्रदर्शन तारिफयोग्य रह्यो । यसकारण न्युजल्यान्डविरुद्धको उपाधि भिडन्तमा उनले निर्णायक भूमिका निर्वाह गर्नसक्ने सम्भावना छ ।
उता गुप्टिल पनि ‘बिग म्याच प्लेयर’ हुन् । ओपनर गुप्टिलले न्युजिल्यान्डको माथिल्लो क्रमको ब्याटिङलाई सम्हाल्ने अपेक्षा गरिएको छ । सन् २००९ देखि न्युजिल्यान्डको जर्सीमा देखिँदै आएका गुप्टिलले टी–ट्वान्टी क्रिकेटमा अहिलेसम्म तीन हजार भन्दा बढी रन प्रहार गरिसकेका छन् । उनको अनुभवलाई न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध उपयोग गर्ने नै छ ।
अस्ट्रेलियाका बलर एडम जाम्पाले यो विश्वकपमा १२ विकेट लिएका छन् । फाइनल पुगेको अर्को टिम न्युजिल्यान्डका लेग स्पिनर इश सोधीको नाममा नौ विकेट छ । यो पटकको विश्वकपमा स्पिनरको प्रदर्शन मजबुद देखिएको छ । सर्वाधिक विकेट लिनेको सूचीको शीर्ष तीनमा रहेका सबै बलर स्पिनर नै हुन् । यस्तोमा जाम्पा र सोधी फाइनलमा निर्णायक खेलाडी सावित हुन सक्छन् ।
स्पिनर मात्र होइन फास्ट बलिङमा पनि यी दुई टिमका बलर सशक्त देखिएका छन् । अस्ट्रेलियाका मिचेल स्टार्क र पाट क्युमिन्स अनि न्युजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्ट, यो विश्वकपमा मात्रै होइन लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो खेल देखाउँदै आएका बलर हुन् । यी चार पेसर आ–आफ्नो टिमलाई पहिलो पटक टी–ट्वान्टी विश्वकप जिताउने लक्ष्यमा छन् ।