मेयर कपमा आर्मीको पहिलो जित
काठमाडौँ: त्रिभुवन आर्मी क्लबले काठमाडौँ मेयर कपमा पहिलो जित दर्ता गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा शसस्त्र प्रहरीको एपीएफसँग पराजित भएको आर्मीले सोमबार काठमाडौँ मेयर-११ लाई पाँच विकेटले पराजित गर्यो ।
सोमपाल कामीले ८० रन बनाएपछि आर्मीले एक सय ५६ को लक्ष्य २३.५ ओभरमा पाँच विकेटको क्षतिम पुरा गर्यो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा ओपनर सोमपालले ५१ बल सामना गर्दै छ छक्का र नौ चौका प्रहार गरे । आर्मीका लागि कुशल मल्लले २३, कप्तान विनोद भण्डारीले २० र भिम शार्कीले १६ रनकोे योगदान गरे ।
काठमाडौँ मेयर एघारका लागि कप्तान सन्दिप लामिछने र विपिन कार्कीले दुई–दुई विकेट हात पारे । त्यस्तै, अनिल खरेलले एक विकेट थपे ।
टस जितेर ब्याटिङ रोजेको काठमाडौँ मेयर-११ ले ४२.१ ओभरमा एक सय ५५ रन बनाएको थियो । मेयर-११ का लागि शौरभ खनालले सर्वाधिक ४२ रन बनाए भने सन्दिप रजलीले ३७ रन जोडे । मेयर-११ का लागि ओपनरद्वय खडक बोहोरा र हरीशंकर साहले क्रमशः १९ र १८ रनको योगदान गरेका थिए ।
बलिङतर्फ आर्मीका शाहब आलमले चार विकेट लिए । शाहब प्लेयर अफ दि म्याच चुनिएका थिए । त्यसैगरी, विजय टिमका लागि जितेन्द्र मुखियाले तीन विकेट हात पारे । अनि सोमपाल, विक्रम शोब र कुशल मल्लले एक-एक विकेट लिए ।