क्रिकेट

दोस्रो टेस्ट जित्‍न इंग्ल्याण्डलाई ४८२ रनको विशाल लक्ष्य

इकागज | फागुन ४, २०७७

काठमाडौँ : दोस्रो टेस्ट जित्‍न भारतले इंग्ल्याण्डलाई ४८२ रनको विशाल लक्ष्य दिएको छ । चेन्नेईमा तेस्रो दिन इंग्ल्याण्डलाई १३४ रनमा अलआउट गर्दै दोस्रो पाली थालेको भारतले दोस्रो पालीमा २८६ रन बनाएको थियो ।

पहिलो पालीमा १९५ रनको अग्रता जोगाएका कारण भारतले इंग्ल्याण्डलाई ४८२ रनको विशाल लक्ष्य पेस गर्न सफल भएको हो । उसका रविचन्दन आश्विनसले शतक बनाए । १४८ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरे । कप्तान विराट कोहलीले ६२ रन बनाए । इंग्ल्याण्डका ज्याक लिच र मोइन अलिले चार चार विकेट लिए ।

विशाल लक्ष्य पछ्याउँदै दोस्रो पाली थालेको इंग्ल्याण्डले खराब सुरुवात गरेको छ । तेस्रो दिनको खेल सकिदा उसले ३ विकेट गुमाएर ५३ रन मात्रै बनाएको छ । उसका ओपनर व्याट्सम्यान सस्तैमा आउट भएका छन् । रोरी बन्र्स २५, डोम सिब्ली ३, ज्याक लिच खाता खोल्न नसकी आउट भए । कप्तान जोय रुट र डन लवरेन्स क्रिजमा छन् ।

भारतका अक्षर पटेल र रविचन्दन आश्विनले एक एक विकेट लिएका छन् । चार खेलको टेस्ट सिरिजमा इंग्ल्याण्ड १-० ले अघि छ ।