ठूलो परिणाममा लागुऔषधसहित १७ जना पक्राउ
काठमाडाैँ - प्रहरीले ठूलो परिणाममा नियन्त्रित लागुऔषसहित १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका संग्राम मुक्तान, पञ्च स्याङतान, मोरङका सुरज सिंह ठकुरी लगाएतका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७ हजार एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको हो ।
सिन्धुली कारागारमा रहेका गुड्डु गुप्ताले सोही कारागारमा टेलिफोन नाइके रहेका सन्तोष स्याङतानलाई आर्थिक प्रलोभनमा पारी कारागारभित्रैबाट शंकास्पद फोन गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा लागुऔषध गिरोहलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उनले भारतबाट लागुऔषध मगाउने र उनीसँगै कारागारमा रहेका अर्का व्यक्तिमार्फत काठमाडौंमा ‘सप्लाई’ हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाले बताए ।
गुप्ताले बिक्रिबाट प्राप्त हुने पैसा निश्चित व्यक्ति तथा कारागारका कार्यालय सहयोगी रीता सारुमगरलगायतको नाममा पनि पठाउने गरेको खुलेको उनले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुको सम्बन्धमा लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।