अठ्तिस तोला सुनसहित पाँच पक्राउ
काठमाडौँ : प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन् ।
उनीहरु शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौँ आएका थिए ।
काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । भागबन्डा गर्दैगर्दा उनीहरुलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । आजै उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिए । (रासस)