संगीत

राजेशमाथि आक्रमण गर्ने पासाङले मागे माफी

इकागज | पुस १९, २०७८

काठमाडौँ - गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । सोमबार सार्वजनिक भएको एउटा भिडियोमा उनले रक्सी र खादा सगुन दिएर माफी मागेको देखिएको छ । 

रक्सी र सगुन जनजातिबीच सम्बन्ध सुरुवात गर्ने असल माध्यम मानिन्छ । बिहेबारीदेखि बाँकी नाता सम्बन्धका लागि पनि उनीहरूबीच रक्सी र बाँकी सगुन दिने चलन हुन्छ । राजेश पायल राईलाई आक्रमण गरिएको भनिएका दावा पासाङ शेर्पाले पनि जनजातिको यही परम्परा अनुसार माफी मागेका हुन् । 

शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गायक राईले पनि पासाङले गल्ती स्वीकार गरेकोल माफी दिएको बताएका छन् र उनले  आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन् । 

नयाँ वर्षको अवसरमा न्युयोर्कमा भएको एक कार्यक्रममा गाइरहेको समयमा पासाङले पछाडिबाट आएर राजेश पायल राईको घाँटी समातेका थिए । आयोजकले फ्यान भएको र भेट्न नदिएकोले भेट्दा यस्तो घटना घटन पुगेको बताए पनि राजेशका फ्यान असन्तुष्ट भएका थिए ।