रीतिरिवाज

जसले रंगाउँदैछन् भक्तपुरको दसैँ (फोटोफिचर)

सुनीता साखकर्मी | कात्तिक ५, २०७७

भक्तपुर : सँगैका साथी चोकका पाटीमा जम्मा भएर कसि मला प्व्या (स्थानीय नेवार खेल) खेल खेलिरहेका बेला पूर्ण चित्रकारलाई भने बुइगलको साँघुरो कोठामा भ्याइनभ्याइ छ । उनलाई पनि साथीसँग खेल्न र खेलेको हेर्न मन लाग्छ । तर, उनी बाहिर निस्कन पाएका छैनन् । किनकि उनले दसैँको नवमीसम्म जसरी पनि नवदुर्गा देवगणको १३ वटा मुकुण्डो तयार पार्नुपर्छ । यसका लागि उनी दिनरात खटिइरहेका छन् ।

भक्तपुरका नेवार समुदायमा दसैँका बेला हुने ‘नवदुर्गा नाच’ यो मुकुण्डोबिना अधूरो हुन्छ । पूर्णले करीब छ दशकदेखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आएका छन् । मुकुण्डो बनाउने कामको थालनी घण्टाकर्णदेखि हुन्छ । पूर्णले भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, बालकुमारी, श्वेतभैरव, सिंह र दुम्ह गरी १३ देवी-देवताका मुकुण्डो बनाउनुपर्छ । एउटा मुकुण्डोको तौल पाँच किलोदेखि ६ किलोसम्म हुन्छ । छोरा राजेशका अनुसार घण्टाकर्णको दिन भक्तपुरको सुडालबाट ल्याएको विशेष कालो माटोको पूजा गरी देवी-देवता बनाउन माटोलाई १३ भाग लगाइन्छ । 

माटोको विधिवत् पूजा गरी बाजा बजाउने र नाच्नेहरूलाई भोज खुवाइन्छ । त्यसपछि माटोबाट मुकुण्डोे बनाउने विधि सुरु हुन्छ । माटोलाई केही दिन पानी सुक्ने गरी फिजाउने र हातैले पिठो हुने गरी कुटेर केलाइन्छ । सोही माटोलाई पुनः पानी, कपास, नेपाली कागज मिसाएर काठको मुंग्रोले कुटेर मुछिन्छ ।

त्यसपछि मुकुण्डोको साँचोमाथि नेपाली कपडा राखेर मुछेको माटोलाई रोटी जस्तै बेलेर त्यसमाथि राखिन्छ । त्यसबाट माटोको सुन्दर आकृति देखिन्छ । अनि त्यसलाई केही दिन सुकाएपछि पिठोको माडा बनाएर नेपाली कपडा टाँसिन्छ । त्यहीँबाट रंग भर्ने काम सुरु हुन्छ । रंगको लागि जडिबुटी, सुनको धुलो र विभिन्न पत्थरको प्रयोग गरिन्छ । त्यस्तै मट्टितेल, मैदा, कपास, नेपाली कागज, सेतो कमेरो, धुलो सुनदेखि टल्किने पालिससम्म मुकुण्डो बनाउन प्रयोग गरिन्छ ।

मुकुण्डो बनाउने काममा यहाँका चित्रकार समुदाय सक्रिय हुन्छन् । पालिस लगाउनुको कारण चाहिँ सुकिसकेपछि रंग नउडोस् भनेर हो । नवदुर्गाको मुकुण्डोमा दशैँको नवमीका दिन कर्माचार्यहरूले प्राण प्रतिष्ठा (तान्त्रिक विधिद्वारा गरिने पूजा) गर्छन् । पूजा गरेपछि मुकुण्डो जीवित बन्छ भन्ने जनविश्वास रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।

पूर्णले हरेक वर्ष घण्टाकर्णको दिनदेखि मुकुण्डो बनाउन सुरु गर्छन् र दसैँको नवमीमा सक्छन् । यो मुकुण्डो लगाएर वनमाला समुदायका कलाकारहरूले नवदुर्गाको नाच सुरु गर्छन् ।  नवमीको दिन वनमाला समुदायबाट छानिएका नवदुर्गा देवगणलाई कर्माचार्यहरूले मुकुण्डो हस्तान्तरण गरेपछि ‘खमे ब्वाकेउ’ जात्रा सुरु हुन्छ ।

दशमीको दिन मकुण्डो प्रदर्शन गरिन्छ । देवगणहरू मुकुण्डो र जामा लगाएर नगर परिक्रमामा निस्केपछि ‘पाया न्ह्या केउ’ जात्रा सुरु हुन्छ। नौ महिनासम्म भक्तपुरका २२ ठाउँमा वनमाला समुदायका देवगणले मुकुण्डो लगाएर नवदुर्गा नाच निकाल्छन्। यो नाच भक्तपुरमा मात्र सीमित रहँदैन, पशुपति, साँखु, नाला, नंखेल, साँगा, बनेपा, पनौती, धुलिखेलसम्म पुग्छ । प्रत्येक वर्ष अष्टमीमा मुकुण्डो जलाएर नवदुर्गा देवगणको विसर्जन गरिन्छ । नवदुर्गा नाचबाहेक यो मुकुण्डो ङाला केगु जात्रा (माछा मार्ने जात्रा), गाईजात्रा, देवीनाच, भैरव नाच, लाखे नाचलगायतमा समेत प्रयोग हुने संस्कृतिविद् धौभडेल बताउँछन् ।

अहिले मुकुण्डो बनाउन गुठी संस्थानले वार्षिक ४० हजार रुपैयाँ दिन्छ । वर्षेनि आफ्नै गुठीको अक्षयकोषको ब्याज ७० हजार आउँछ । गत वर्षदेखि भक्तपुर नगरपालिकाले मुकुण्डो बनाउन १० लाखको अक्षय कोष स्थापना गरेको छ । तर, त्यसको पैसा उनीहरूसम्म पुगेको छैन । १३ वटा मुकुण्डो पूरा हुँदासम्म दुई लाखभन्दा बढी खर्च भइसक्छ ।