रीतिरिवाज

धनुर्मास पूजापछि पशुपतिनाथको ढोका २४ घण्टासम्म बन्द

इकागज | पुस २६, २०७७

काठमाडौँ : पशुपतिनाथलाई जाडोबाट जोगाउन २४सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरेसँगै  मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मासअनुसार पुस परेको दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ । 

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टा पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिएको थियो । पूजा सकिएसँगै मन्दिरको मूलढोका बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । आज बेलुकी आरती गर्नमात्र मन्दिरको ढोका खोलिनेछ । भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरी आदिकालदेखि मनाउँदै आएको धनुर्मास पर्व सम्पन्‍न भएको छ । 
 
पुस १५ देखि पुस २९ गतेसम्म सौर र चान्द्र दुवै गणना पध्दतिअनुसार पुस महिना परेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर, खिचडीलगायत प्रसादका रूपमा चढाउने परम्परा छ । पशुपतिनाथलाई चढाउने खिचडी बनाउँदा दालको आधा चामल र चामलको आधा घिउ हाल्नुपर्ने विधि रहेको नेपाल संस्कृत विश्‍वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेलले जानकारी दिए ।  
    
पूजामा पशुपतिनाथका मूलभट्ट, पशुपतिनाथ अमालकोट कचहरीका द्वारेलगायत सहभागी थिए । धनुर्मास पूजा सकिएपछि आज बिहान ६ बजेदेखि शिवपार्वती पनि घाम ताप्‍न जाने विश्‍वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन ।
 
मानव शरीरमा भएका विभिन्‍न चक्रलाई खुशी पार्न महिनाअनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको प्राध्यापक पौडेल बताउछन् । विगत वर्षमा धनुर्मास पूजामा विशेष पूजा गर्ने भक्तजनबाट रसिद काटेर गराइने गरिएकामा यस वर्ष पूजाको विधि पूरा गरी अन्य भक्तजनको पूजा नगराइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । 
 
पूजापछि भगवान् शिव पार्वतीसहित कैलाशमा घाम ताप्‍न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उनले बताए । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको छ । पशुपतिनाथ मन्दिरमा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा आराधना हुँदै आएको छ । (रासस

भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्‍वर मन्दिर खुल्ला गरिने

इकागज | कात्तिक २९, २०७७

काठमाडौं : यस वर्ष पनि भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्‍वर मन्दिर खुल्ला गरिने भएको छ । सर्...