फोटो फिचर

स्वर्गकी अप्सराको कथा

रारा नियाल्ने नयाँ गन्तव्य चुचेमारा (फोटो फिचर)

वीरेन इरागन |
बैशाख २५, २०७८ बजे

काठमाडौँ : स्वर्गकी अप्सराको उपनामले चिनिने रारा रात हेर्न जानेको वर्षेनी घुइँचो लाग्छ । अहिले कोभिड महामारीले निषेधाज्ञा भएपनि अन्य समयमा भने रारा नेपालको आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । 

रारालाई हातको अन्जुलीमा राखेर हेर्नका लागि धेरैजसो मुर्माटप जान्छन् । मुर्माटप रारा ताल किनारबाट लगातार हिडेमा दुई घण्टामा पुगिन्छ । मुर्माटपबाट हेर्दा रारा आकर्षक मात्रै होइन, पीपलको पातजत्रै आकृतिमा देख्न सकिन्छ ।


तर अचेल पर्यटक नयाँ नयाँ गन्तव्यबाट पनि रारा हेर्न खोजिरहेका छन् । त्यसमध्येको एउटा गन्तव्य हो, चुचेमारा । मुगुको रारा छायानाथ नगरपालिकाको रारा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणतिर चुचेमारा पर्छ ।

मुर्माटप गएजस्तै चुचेमारा जान तीनदेखि चार घण्टा लाग्छ । चिसो मौसममा रारामा जताततै हिउँ पर्छ । तर मुर्माटप र चुचेमारा जस्ता अग्ला भ्युपोइन्टमा भने सधैजसो हिउँ परिरहन्छ ।

चुचेमाराको नयाँ विशेषता भनेको यो बाटो हिड्दा आकर्षक ठाउँहरु हेर्न पाइन्छ । रारा तालबाट माझघट्ट भएर लगातार तीन घण्टा हिडेमा चुचेमारा पुग्न सकिन्छ । 

हिउँले गर्दा चुचेमारा पुग्न हम्मेहम्मे पर्छ । तर जति शारीरिक थकान हुन्छ, त्यति उत्साह चाँही बाटोमा देखिने दृश्यले थपिदिन्छ । सुन्दर फूल, हरियाली फाँट, फाँटमाथि परेको हिउँ, माथि डाँडाबाट देखिने, अपी, सैपाल र कान्जिरोवा हिमालले गर्दा छुट्टै महसुस गराउँछ ।

यो बाटो पर्यटक हिड्ने बिरलै गन्तव्य हो । स्थानीयका अनुसार पछिल्लो समय रारा पुगेकाहरु नयाँ नयाँ गन्तव्य खोज्ने भएकाले यो बाटो भएर पनि रारालाई नियाल्नेको संख्या बढ्दो छ । चुचेमाराबाट रारा जति सुन्दर देखिन्छ, त्यति मनमोहक पनि ।

त्यो भन्दा बढी यो बाटो हिड्दा विभिन्न सुन्दर दृश्यले आँखालाई लोभ्याइरहन्छ । हिडेरै माथि चुचेमाराको टुप्पोमा पुग्न भने हिउँले गर्दा मुश्किल हुने स्थानीय बताउँछन् । 



Author
थप समाचार