फोटो फिचर

खुल्यो ‘पोखराको राजदरबार’ रत्न मन्दिर (फोटो फिचर)

धनबहादुर गुरुङ |
जेठ १५, २०८० बजे

पोखरा - केही हप्ता अघिदेखि नै गणतन्त्र दिवसका दिन रत्न मन्दिर सर्वसाधणका लागि खुला गरिने सूचना सञ्चार माध्यममार्फत थाहा भइसकेको थियो । सोही सूचनाको आधारमा पोखरास्थित रत्न मन्दिरको गेटमा सोमबार सर्वसाधारणहरुको बाक्लो उपस्थिति थियो । बिहानैदेखि सानो गेट खुला थियो । वर्षौं देखि रत्नमन्दिर हेर्न आतुर सर्वसाधरण भित्र पस्ने हतारोमा थिए । 


मुख्य  गेटबाट प्रवेश गरेपनि अर्को गेट खुला थिएन् । त्यो बिचमा औपचारिक कार्यक्रमको तयारी भइरहेको थियो । रत्न मन्दिर हेर्न पुगेकाहरु ब्यग्र प्रतिक्षामा थिए । केही समयपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको आगमनसँगै कार्यक्रम सुरु भयो । औपचारिक कार्यक्रमकै बिचमा मन्त्री किरातीले रत्नमन्दिर खुला भएको घोषणा गरे । 

केही समयपछि मन्दिरतर्फको गेट पनि खुल्यो । ठेलमठेल गर्दै मानिसहरु मन्दिर परिसर छिरे । फोटो, भिडियो कैद गरे, केही समय रमाए । धेरैको कौतुहलता हल भयो केहीको अझै पुरा भएन् । किनभने प्रवेशद्वार खुलेपनि मन्दिरको मुल ढोकामा प्रवेश निषेध थियो । 

२०६२/०६३ को जनआन्दोलनले राजा फालेर गणतन्त्र ल्याइसकेपछि पनि पोखराको ‘राजदरबार’ मानिने रत्न मन्दिर रहस्यमै थियो । सोही कारण पनि आम नागरिक राजाले प्रयोग गरेको दरबार हेर्न आतुर थिए । मन्दिर परिसर मात्रै छिर्न पाएका सर्वसाधरणहरु निकै खुसी थिए । तर दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणका निम्ति खुला भएको छैन ।

नेपालमा आएको गणतन्त्रको १५ वर्ष पूरा भएपछि खुलेको दरबार हेर्न पुगेकाहरूले निकै खुसी व्यक्त गरे । पोखरा २२ का नरनाथ बरालले राजाहरु दरबार सर्वसाधरणले अवलोकन गर्न पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । ‘हामी त डाडाँमा बस्छौ । कहिले काही पोखरा आउँदा पनि सधैं बन्द हुन्थ्यो । आज गणतन्त्र दिवसका दिन खुलेको छ । निकै राम्रो लाग्यो,’ उनले भने, ‘यहाँको मेन भवन खुलेको छैन् । त्यहाँ भित्र के छ भन्ने अझै कौतुहलता रह्यो ।’

उद्घाटनपछि मन्त्री किराँतीले मन्दिर अवलोकन गर्नुभन्दा रेखदेख र संरक्षण गर्नु ठुलो कुरा भएको बताए । यसका लागि तीनै तहको सरकारसँगै पोखराबासी चनाखो हुनुपर्ने उनको भनाई थियो । ‘नेपालका राजाले ६०/७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ । यसको रेखदेखमा हामी लाग्नुपर्छ,’ उनले भने । पोखरा महानगरका मेयर धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिरले पोखराको पर्यटनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

रत्न मन्दिर प्रवेश गर्न नेपालीका लागि एक सय रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । यस्तै विदेशी पर्यटकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । 

रत्न मन्दिर विसं २०१५ मा बनेको हो । तत्कालिन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन र तनावमुक्त भएर बस्न कान्छी रानी रत्नको नामबाट मन्दिर निर्माण गरेका थिए । पछि विरेन्द्र, ज्ञानेन्द्र हुँदै यो संरचना २०६७ मंसिर २० गतेदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ । उक्त जग्गा १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिरभित्र साना ठुला १० वटा भवन छन् । 



Author
थप समाचार