फोटो फिचर

प्रधान सेनापति प्रभुराम शर्माले लिए शपथ (फोटो फिचर)

सुनिल सी बज्राचार्य |
भदौ २४, २०७८ बजे

काठमाडौँ - नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले पद तथा गोपनियताको शपथ लिएका छन् । सेनाकी परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्माले शपथ लिएका हुन् । 

विशेष समारोहमा नवनियुक्त प्रधानसेनापति शर्मालाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा औपचारिकता दिएकी हुन् । लामो इतिहास बोकेको नेपाली सेनाको ४४ औँ प्रधान सेनापति बन्‍न सफल भएका शर्मालाई पद तथा गोपनीयताको सपथ समेत सोही समारोहमा गराएकी हुन् ।


भाद्र ३ गतेको मन्त्रीपरिषद् बैठकले महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्ती गर्न गरेको सिफारिस बमोजिम नेपाली सेनाका परमाधिपति तथा  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा ५० बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्ती गरेकी हुन ।

सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापतिलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरे पश्‍चात कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हालेकाे नेपाली सेनाले जनाएकाे छ । कार्यालय बहाली पश्‍चात प्रधान सेनापति शर्माले पि‍एसओज वैठक कक्षमा रथीबृन्दहरुसँग भेटघाटका साथै निर्देशन समेत दिएका छन् । 

नवनियुक्त प्रधान सेनापति शर्माले सैनिक मञ्‍च टुँडिखेल र वीर स्मारक छाउनीमा माल्यार्पण गरेका छन् भने उनले शुक्रबार सकल दर्जाहरुलाई सभामण्डपबाट सम्बोधन गर्ने  कार्यक्रम रहेको सेनाको जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ । २०२० पौष ९ गते काठमाडौं जिल्लामा जन्मेका शर्मा २०४० सालमा सहायक सेनानी दर्जाबाट सैनिक सेवामा प्रवेश गरेका हुन् । यस अघि वनले बलाधिकृत र बलाध्यक्ष दुवैकाे जिम्मेवारी सम्हाल्दै आएका थिए । 

पूर्णचन्द्र थापाको तीन वर्षे  कार्यकाल सकिएपछि शर्माले प्रधान सेनापतिको कार्यभार सम्हालेका हुन् । शर्माले २०८१ भदौ २३ सम्म सेनाको नेतृत्व गर्नेछन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट अधिकारीहरू सहभागी थिए । 


 



Author
थप समाचार