फोटो फिचर

सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि [फाेटाे फिचर]

अनुज बज्राचार्य |
बैशाख २, २०७९ बजे

भक्तपुर- भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।

देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । 


जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रममा गर्ने परम्परा छ ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

अविर जात्रामा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठसहित सयौं मध्यपुर थिमिबासीहरू रमाएका छन् । उनीहरू सवै अविरले राताम्य भएका छन् ।


 

 

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार