दल

कांग्रेसको अडान कायमै, कार्यादेशमा जुटेन सहमति

इकागज |
जेठ १३, २०८१ आइतबार ११:५१ बजे

काठमाडौं - सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन । 

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए ।


भेटवार्तामा प्रधानमन्त्रीले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी गोर्खा मिडियाको मात्रै राखेर सहमति गर्न अनुरोध गरेका थिए ।  सभापति देउवा अस्वस्थ बनेपछि प्रधानमन्त्री उनको निवासमै पुगेर छलफल गरेका हुन् । 

तर सभापति देउवाले असहमति जनाएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । परियारले सत्तारुढ दलका नेताहरूले चलाखीपूर्ण कुरा गरिरहेको बताउँदै उनीहरुले कम्पनी जवाफदेही हुने तर व्यक्ति नहुने किसिमको कुरा गरिरहेको, जुन आफूहरुलाई स्वीकार्य नभएको बताए । 

त्यसपछि बसेको कांग्रेस शीर्ष नेताको छलफलले आफ्नो अडान नछाड्ने निर्णय गरेको हो ।

कार्यादेशमा सहमति हुन नसकेपछि आजको संसद बैठकमा कांग्रेसको अवरोध कायमै रहने देखिएको छ । आजको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

 


Author

थप समाचार
x