राजनीति

टिओआर टुंगाउन शीर्ष नेताहरूसहितको बैठक बस्दै

इकागज |
जेठ १३, २०८१ आइतबार ७:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरूसहितको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ । 

यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शीर्ष नेताहरूको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।


कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरू उपस्थित रहेका थिए ।

बालुवाटारको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ । बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताए ।

उनले भने 'सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीबारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।' 

यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगी भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडि बढाउन सहमत भएको थियो । 

आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।   


Author

थप समाचार
x