नेकपा एमाले १०औँ महाधिवेशन

प्रदेश १ बाट आकांक्षीहरुको ४० प्रतिशत केन्द्रीय कमिटीमा

बाबुराम भण्डारी |
मंसिर १३, २०७८ सोमबार १४:४७ बजे

सौराहा - नेकपा एमालेको १०औं महाधिवेशनमा प्रदेश १ बाट आकांक्षी भएका मध्ये ४० प्रतिशत केन्द्रीय कमिटीमा परेका छन् । चितवनको सौराहामा जारी महाधिवेशन अन्तरगत आइतबार राती बन्दसत्रमा सुनाएको नामावलीमा प्रदेश १ बाट ४२ जना परेका छन् ।

अध्यक्षमा ओलीबाहेक १२ पदाधिकारीसहित प्रदेश १ बाट १०४ जनाले १०औं महाधिवेशनका लागि आफ्नो उमेदवारी तय गरेर लविङमा केन्द्रीत भएका थिए । केन्द्रीय कमिटीमा परेकाहरुले भने  निर्वाचन प्रकृयाको औपचारिकताका लागि निर्वाचन समितिमा आफ्नो मनोनयन दर्ता गरिसकेका छन् ।


महाधिवेशनको बन्द सत्रले केन्द्रीय कमिटीको नामावली हलमा प्रस्तुत गर्न ओलीलाई सर्वाधिकार सुम्पिएको थियो । सोही अधिकारको प्रयोग गर्दै उनले बन्दसत्रमा प्रदेश १ बाट ४२ जनाको नाम केन्द्रीय कमिटीमा सुनाएका हुन् ।अध्यक्ष केपी ओली स्वयं प्रदेश १ को झापाबाट छन् । 

केन्द्रीय कमिटीको १९ सदस्यीय पदाधिकारीमा अध्यक्षमा ओलीसहित चारजना परेका हुन् । बन्द सत्र हलमा प्रस्तावित मध्ये प्रदेश १ बाट उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा एवं सचिवमा योगेश भट्टराई रहेका छन् ।

केन्द्रीय कमिटीमा खुल्ला क्षेत्रबाट चार पदाधिकारीबाहेक भानुभक्त ढकाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कुमार कार्की, शेरधन राई, यज्ञराज सुनुवार, श्रीप्रसाद जबेगु, राम राना र रोमनाथ ओली गरी १७ जना रहेका छन् ।  

खुल्ला क्षेत्र महिलामा डा शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, अम्बिका थापा, विणादेवी राई, गीता अधिकारी गरी जम्मा ८, खुल्ला जनजातीमा आइन्द्रसुन्दर नेम्वाङ, यज्ञराज सुनुवार र डम्बरसिंह सम्बाहाम्फे गरी ३ जना परेका छन् । 

खुल्ला जनजाती महिलामा तारा राई, खुल्ला मधेसीमा जगदीश कुसियैत, रामलाल साह र मोती दुगड गरी ३ र खुल्ला थारु महिलामा मन्जु चौधरी परेका छन् ।

त्यसैगरी प्रदेश १ को भुगोलबाट चुनिने ६७ स्थानमा २५ जनाले केन्द्रीय कमिटीमा मौका पाएका छन् । भुगोलबाट तिलकुमार मेन्याङ्बो, टंक आङ्बुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्बाङ र राजेन्द्र राई, भुगोल महिलाबाट मेनका काफ्ले, मन्जु भण्डारी र उषाकला राई केन्द्रीय कमिटीमा परेका छन् ।

लिष्टमा नपरेका सचिवका आकांक्षी भीम आचार्यले सोमबार आफ्नो मनोनयन दर्ता गराएका छन् । एमाले संसदीय दलका सचेतक विशाल भट्टराई केन्द्रीय कमिटीमा अटाएका छैनन् । उपाध्यक्षमा आकांक्षा राखिरहेका लालबाबु पण्डितले भने केन्द्रीय सदस्यमा मात्रै नबस्ने संकेत गर्दै सबै कार्यकारी पद त्यागेको घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्षको तयारी गरेका सुवासचन्द्र नेम्वाङ उपाध्यक्षमा सिमित भएका छन् । उपाध्यक्ष मागिरहेका देवराज घिमिरे केन्द्रीय कमिटीमा मात्रै परेका छन् ।

सचिवमा शेरधन राई, हिक्मत कुमार कार्की, जीवन घिमिरे, भानुभक्त ढकाल, डा. शिवमाया तुम्वाहाम्फे, गुरु बराल र राजेन्द्र गौतम आकांक्षी भएपनि उनीहरु केन्द्रीयको कार्यविभाजन नहुन्जेल सदस्यमै सिमित भएका छन् ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x