प्रवास

प्रवासी नेपालीको सम्पत्ति र लगानीको सुरक्षा गर्न एनआरएनए उपाध्यक्ष शर्माका दुई विकल्प

सम्पत्ति र लगानीको सुरक्षा मुख्य चिन्ता

इकागज |
माघ २३, २०७९ सोमबार १८:५२ बजे

फाइल तस्बिर

लण्डन- गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले प्रवासी नेपालीहरूको सम्पत्ति र लगानीको सुरक्षा गर्न दुई वटा विकल्प अघि सारेका छन् । उनले विदेशी नागरिकता लिएकै समयमा नेपालमा गरिएको लगानी र सम्पत्तिको सुरक्षाका लागि ती विकल्प अघि सारेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष डा. हेमराज शर्माले रवि लामिछानेविरुद्धको फैसलाले सबै नेपालीहरूलाई प्रभाव नपारे पनि केही गैरआवासीय नेपालीहरूको सम्पत्तिमा जोखिममा रहेको बताए । उनले विदेशी नागरिकता लिएर जानी नजानी नेपालको नागरिकता प्रयोग गरेर नेपालमा कारोबार गरेका थुप्रै नेपाली रहेको बताउँदै प्रष्ट कानुन नबनेको अवस्थामा बाध्यात्मक रूपमा घर जग्गा लिने, लगानी गर्ने नेपालीहरूमा त्रास रहेको उल्लेख गरे। 


प्रवासी नेपाली मञ्च अष्ट्रियाको आयोजनामा आइतबार भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै डा शर्माले विदेशी नागरिकतावाहाल रहेकै बेलामा नेपाली नागरिकता प्रयोग गरी जोडेको सम्पत्ति तथा लगानीलाई कानुनसम्मत बनाउन दुई वटा विकल्प अघि सारे । 

उनले गैरआवासीय नेपालीहरूको लगानी र सम्पत्तिलाई कानुनसम्मत बनाउन यसअघि नेपाली नागरिकता प्रयोग गरेर नेपालमा जोडेको सम्पत्ति र लगानीलाई आम माफी मार्फत कानुनी दायरामा ल्याउन सकिने बताए ।

उनले अर्को विकल्पमा गैरआवासीय नेपालीहरूलाई कम्तीमा दुई वर्षभित्र स्वघोषित रूपमा आफ्नो सम्पत्ति तथा लगानी कानुनको दायरामा ल्याउन अवसर दिनुपर्ने सुझाव दिए ।

नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता मुद्दाका विषयलाई लिएर विदेशमा बस्ने नेपाली तरंगित हुन नपर्ने बताएका छन् ।

ज्ञवालीले लामिछानेको मुद्दा संविधानको धारा १३ सँग नागरिकता प्राप्ति र पुनर्प्राप्तिसँग जोडिएको बताउँदै गैरआवासीय नेपालीहरूको नागरिकताको व्यवस्था संविधानको धारा १४ मा व्यवस्था गरिएको प्रष्ट पारे ।

मन्त्री ज्ञवालीले विदेशमा नेपालीहरूले सिकेको ज्ञान सीप नेपालको सम्पत्ति भएको बताए । उनले भने, ‘विदेशमा आर्जन गरेको स्रोतलाई नेपालीमा लगानी गर्नुस्, विदेशमा गरिएको लगानी भन्दा नेपालको लगानीमा बढी मुनाफा पाइन्छ, युरोप एकैपटक होइन, नेपालमा समुन्नत बन्ने बाटो छ ।’

पूर्वमन्त्री तथा नेकपा एमाले सचिव योगेश भट्टराईले देश आर्थिक सामाजिक रूपान्तरणका लागि समनतामूलक नेपाली समाज निर्माणको दिशामा अघि बढ्ने बताए । उनले भने, 'संविधानले राजनीतिक अधिकार स्थापित गरेको अवस्थामा अबको मुलभूत अजेण्डा आर्थिक र सामाजिक हुनुपर्छ, विभिन्न विभेद हटेपछि मात्र समाज समुन्नत हुन्छ ।’

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिम्खडाले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलाले विदेशमा रहेका नेपालीमा पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापाले विदेशमा बस्ने नेपालीले अर्थतन्त्रलाई सहयोग गरेको बताउँदै सरकारले नागरिकता र मताधिकारको व्यवस्था गर्न आग्रह गरे । बाबाराजेश्वरी थापाले सञ्चालन गरेको कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङले धन्यवाद मन्तव्य दिए ।


Author

थप समाचार
x