प्रवास

सबै गैरआवासीय नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ : उपाध्यक्ष डा. शर्मा

इकागज |
बैशाख ५, २०८० मंगलबार २०:३८ बजे

लण्डन- गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले सबै गैरआवासीय नेपालीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आग्रह गरेका छन् । 

गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै डा शर्माले यस्ताे आग्रह गरेका हुन् । उनले मध्यपूर्वमा मात्रै नभइ यूरोपका विभिन्न देशमा श्रम स्वीकृतिबिनै गएका नेपाली श्रमिकहरूको संख्या बढ्दो क्रममा रहेको स्मरण गराउँदै श्रम स्वीकृतिबिनै गएका श्रमिकको हकमा योजनाले के गर्छ ? भन्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिए ।


एनआरएनको संयन्त्रले मात्रै उक्त योजना लागू गर्न कठिन हुने भएकाले नेपाल सरकारको सम्पूर्ण संयन्त्रले काम गर्नुपर्ने उनको धारणा थियो । श्रमिक सबैलाई योजनाबारे बुझाउन ढिलाई गर्नु नहुने उनले बताए । 

 कार्यक्रममा एनआरएनका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलका रूपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेकोमा आभार व्यक्त गरे । योजनाको सफलताका लागि सामाजिक सुरक्षा कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उनले जोड दिए । योजना सुरुवात हुनु सकारात्मक भएपनि त्यसमा परिमार्जन आवश्यक भएको उनको भनाइ थियो । सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने बताए । 

यस्तै, एनआरएनएका अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरूलाई योजनामा  जोड्न देशैपिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्ष रुपमा सहकार्य गर्ने बताए ।  

संघका उपाध्यक्ष आर के शर्माले मध्यपूर्वका सबै श्रमिक प्रविधिमैत्री वातावरणमा नभएको भन्दै गन्तव्य  मुलुकमै पुगेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । श्रमिकहरू माझमा सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट पुग्नुपर्नेमा उनले जोड दिए । नीतिमा  कतिपय विषय स्पष्ट नभएको भन्दै शर्माले प्रष्ट व्याख्या गर्नुपर्नेमा जोड दिए ।

स्तै, शर्माले कोषमा आबद्ध हुन श्रमिकहरूलाई विशेष आग्रह गरे । रेमिट्यान्स, पोर्टफोलियो व्यवस्थापन लगायतका विषयमा पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने प्रावधान ल्याएसँगै बहुसंख्यक श्रमिकलाई उक्त योजनामा समेट्न अभिमुखीकरण कार्यक्रम अति आवश्यक रहेको उनले बताए ।  

संघका अर्का उपाध्यक्ष डिबी क्षेत्रीले लाखौँ नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कोषले सुरु गरेको योजनालाई गैरआवसीय नेपालीले प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए । असहाय अशक्त हुँदा र मृत्यु पर्यन्त पनि यस योजनाले प्रतिफल दिने भन्दै क्षेत्रीले यस योजनामार्फत श्रमिकहरूलाई समेट्नु सरकारको सकारात्मक कदम भएको  र त्यसमा एनआरएनको सहकार्य रहको उनको भनाइ थियो । 

कार्यक्रममा सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामूलक योजना बनाउनुपर्नेमा जोड दिए । उक्त योजना भर्खरै सुरुवात भएकोले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सरकारको काम नीतिगत रूपमा हुने भएकाले एनआरएनले प्रत्यक्ष रुपमा श्रमिकसँग जोडिन सरकारसँग सहकार्य गर्न सक्ने भएकाले मिलेर अघि बढ्न उनले आग्रह गरे ।

सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । श्रमस्वीकृति लिएका वा नलिएका सबैलाई नेपालीलाई कानुनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरु गर्ने मन्त्री भण्डारीले बताए । त्यसका लागि एनआरएनसँगको सहकार्य महत्वपूर्ण हुने उनले जिकिर गरे । श्रमिकको सुरक्षा र उनीहरूको श्रमको सम्मानका लागि पनि सरकारले सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्ने उनले बताए । योजनाको फाइदाबारे सबैलाई बुझाउनु जरुरी रहेको मन्त्री भण्डारीले बताए । पूँजी, प्रविधि र ज्ञान भित्र्याउन मन्त्रालय सकारात्मक रहेको उनको भण्डारीको भनाइ थियो । 

कार्यक्रममा कोषका अध्यक्ष कपिलमणी ज्ञवालीले सुरक्षा कोषको फाइदाबारे प्रष्ट पारे । अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घण्टे कल सेन्टरसहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गर्ने उनले बताए । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता लगायतका नीतिगत र सरकारी प्रक्रियागत कामहरू सुरु भएको बताए । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उनको भनाइ थियो । आगामी दिनमा गन्तव्य मुलुकमा एनआरएनएकै सञ्जाल प्रयोग गरेर वृहत् रूपमा  योजना अघि बढाउने र त्यसमा सरकारले हातेमालो गर्ने उनले उल्लेख गरे । 

कार्यक्रममा कोषले तयार पारेको विशेष प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विभिन्न देशबाट नेपाली श्रमिक तथा अन्य गैरआवासीय अभियन्ताहरू जोडिएका थिए ।


Author

थप समाचार
x