प्रवास

एनआरएनए आईसीसी सचिवमा मनोज श्रेष्‍ठको उम्मेदवारी

इकागज |
असोज ८, २०८० सोमबार ११:२४ बजे

काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) का एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले उम्मेदवारी घोषणा गरेका छन् । उनी एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य र मध्यपूर्व उपसंयोजक भइसकेका उनले यसपटक भने आइसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठ लामो समयेखि दुबईमा व्यवसाय गर्दै आएका छन् । उनले सन् २००७ देखि एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दै आएका छन् । उनले मध्यपूर्वका राष्ट्रलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आइ रहेका छन् ।


विपत्तमा परेका नेपालीको उद्धार तथा सहयोगका लागि श्रेष्ठ अग्रस्थानमा रहने गरेका छन् । कोभिड-१९ को महामारीमा पनि उनले कालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत सक्रिय भूमिका निभाएका थिए । श्रेष्ठले आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए।

उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको हक–हितका लागि आईसीसीमा निरन्तर आवाज उठाउँदै आएका छन् । नेपाली श्रमिकका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

श्रेष्ठ कर्ममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको बताउँछन् । एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

मध्यपूर्वको नेतृत्वमा रहँदा पाएको अवसरले आफ्नो नेतृत्त्व क्षमता विकास भएको उनी ठान्छन् । विश्वभर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँधेर सर्वाङ्गिण हितका लागि काम गर्न प्रेरित गरेको श्रेष्ठको भनाइ छ ।

यूरोप, अफ्रिका, अमेरिका, अष्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथाभन्दा फरक नरहेको उनको बुझाइ छ

‘विश्वभर रहेका लाखौं नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने छ,’ उनी भन्छन्,‘एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यसपटक आफू विजेता बन्छु ।'  

 

 


Author

थप समाचार
x