प्रवास

चीन-अमेरिका वार्ता : 'चार निषेध', 'दुई सूची' प्रस्तुत

अजय अलौकिक |
साउन १३, २०७८ बुधबार ८:३२ बजे

बेइजिङ- हालै चिनियाँ सहर थ्येनचीनमा चीन र अमेरिकाबीच उच्च स्तरीय कुटनीतिक वार्ता भएको छ । यसै वर्षको मार्चमा जो बाइडन अमेरिकाको राष्ट्रपति भइसकेपछि अमेरिकाको आन्कोरेजमा चीन र अमेरिकाबीच भएको वार्तापछि चीनको राजधानी बेइजिङबाट पूर्वमा रहेको यस बन्दरगाह सहर थ्येनचिनमा उच्च स्तरीय कुटनीतिक वार्ता भएको हो ।

वार्ता क्रममा चीनले अमेरिकासँगको सम्बन्धप्रतिको चीनको सिद्धान्तलाई गम्भीर रुपमा दोहोर्‍याउँदै अमेरिकासमक्ष 'चार निषेध' र 'दुई सूची' प्रस्तुत गरेको छ । यस वार्तामा चीनले अमेरिकाले नयाँ कोरोना भाइरस स्रोतको खोजी, साइबर सेक्युरिटी, थाइवान, सिन्च्याङ, हङकङ, र दक्षिण चीन सागरलगायतका क्षेत्रमा झुटा आरोप लगाउने तथा उत्तेजक गतिविधि गरेकोमा गम्भीर असन्तुष्टि व्यक्त गर्दै स्पष्ट रूपमा माँगलाई अघि सारेको छ । 


चीनको आन्तरिक मामिलामा हुने हस्तक्षेप बन्द गर्नुपर्ने, चीनको हितलाई हानी पुर्‍याउने कार्य रोक्नुपर्ने, उत्तेजक गतिविधि बन्द गर्नुपर्ने र घमण्डको झण्डा हल्लाउँदै द्वन्द्व चर्काउने कार्यलाई बन्द गरी यी चार काम निषेध गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ ।

साथै, चीनले चीन र अमेरिकाबीचको सम्बन्ध कठिन अवस्थामा पुगेको जिम्मेवारी पनि अमेरिकाले लिनुपर्छ भन्ने धारणा राखेको छ । नयाँ अमेरिकी सरकारको ६ महिना कार्यकाल पार भइसक्दा पनि विगतको ट्रम्प सरकारको गलत नीतिद्वारा सिर्जना गरिएको द्वन्द्वात्मक अवस्थामा सुधार आउनुको साटो चौतर्फी रुपमा चीनमाथि बाधा सिर्जना गरिरहेको छ । 

चीनले प्रस्तुत गरेको दुई सूचीमा अमेरिकाले चीनप्रतिको गलत नीति, धारणा तथा गतिविधिका त्रुटी सच्याउनुपर्ने १६ वटा विषयका सूची र अर्को चीनले चिन्ता लिएको महत्त्वपूर्ण मुद्दाहरूको सूची रहेको छ । चीनका यी निष्पक्ष आग्रहले चीन र अमेरिकाबीचको सम्बन्धलाई सुधार गर्नका लागि स्पष्ट दिशा देखाएको छ । चीनसँगको सम्बन्धको विकासका लागि अमेरिकाले सुन्ने र सम्मान गर्ने, यी दुई कुरा पनि सिक्नुपर्ने देखिन्छ । 

जुलाई २६ तारिख बिहान चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी उप विदेश मन्त्री वेण्डी शेर्मानसँग भेटवार्ता गर्दै दुई देशबीचको विवादलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न तीन वटा आधारभूत कुराहरूमा हस्तक्षेप नगर्न चेतावनी समेत दिएका थिए ।

पहिलो, अमेरिकाले चीनको विशेषतायुक्त समाजवादको बाटो र प्रणालीलाई चुनौती दिन तथा बदमान गर्न पाइँदैन । दोस्रो, अमेरिकाले चीनको विकास प्रक्रियालाई रोक्न पाउने छैन । चिनियाँ जनताको अझै राम्रो जीवन बिताउने अधिकार छ । चीनसँग आधुनिकीकरणलाई साकार तुल्याउने अधिकार छ । तेस्रो, अमेरिकाले चीनको सर्वभौमिकताको उल्लंघन गर्न पाइँदैन, चीनको भूभागको अक्षुण्णतामाथि हस्तक्षेप गर्न पाउने छैन । 

यसै गरी जुलाई २६ तारिख चीनका उप परराष्ट्र मन्त्री स्ये फङले थ्येनचिनमा अमेरिकी उप विदेश मन्त्री वेण्डी शेर्मानसँग भेट-वार्तामा द्वन्द्व अमेरिकाले चीनमाथि लागू गरिरहेको नीतिको वास्तविकता भएको र सहयोग नै वर्तमान समस्याको समाधान तरिका भएको औँल्याएका थिए । उनले अमेरिकालाई चीनसँग एउटै दिशातर्फ हिँड्न, पारस्परिक रुपमा सम्मान गर्न, निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्न तथा शान्तिपूर्ण सहअस्तित्वमा रहन जोड दिएका थिए । चीन र अमेरिकाबीचको सम्बन्धमा विकास तथा दुई पक्षीय हितले विश्व जगतमा शान्ति तथा स्थिरता र सद्‌भाव कायम राख्‍न मद्दत गर्दछ । साथै अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा पनि यही हो ।
 


Author

थप समाचार
x