कृषि

बंगलादेशसँग सरकारी तहमै मल खरिद गरिने

इकागज |
कात्तिक २६, २०७७ बुधबार १५:३८ बजे

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बंगलादेशसँग सरकारी तह (जीटुजी) मै रसायनिक मल खरिद गर्न लागेकोले केही ढिलाइ हुन गएको जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सरकारी तहबाटै मल खरिद गर्नेगरी बंगलादेश सरकारसँग सम्झौता भैसकेकाले मंसीरको दोस्रो साता सम्म मल आइसक्ने बताए ।

‘बंगलादेश सरकारले निजी कम्पनीमार्फत् किन्‍न आग्रह गरेका थिए । हामीले सरकारी तहबाट नै खरिद गर्न चाह्यौं,’ उनले भने, ‘सरकारी तहबाटै खरिद गर्ने व्यवस्था गर्दा केही समय लागेको हो ।’


मन्त्री भुसालले हिउँदे बालीलाई मल अभाव नहुने बताए । अहिले पनि मल अभाव नभएको र वितरणको समस्या पनि सल्टाएर चुस्त वितरण प्रणाली कायम गरिने बताए । गएको भदौ महिनामा नेपाल र बंगलादेशको दुई प्रधानमन्त्री तहमा भएको छलफलमा बंगलादेशले नेपाललाई मल पैंचो दिन सहमति जनाएको थियो । मल पैंचो दिने कानुनी व्यवस्था नभएकाले बंगलादेशले पछि वार्ताका क्रममा असमर्थता जनाएपछि मल खरिद गरेरै ल्याउने छलफल भएको हो ।

कृषि मन्त्रालयले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउने भएको छ । बंगलादेशको मन्त्रीपरिषद्ले नेपाललाई मल बेच्‍ने समझदारी अनुमोदन गरेपछि खरिद प्रक्रिया अघि बढ्छ । मन्त्रालयले मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइसकेको छ । मन्त्रालयको स्वीकृति अनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ । 


Author

थप समाचार
x