कृषि

मधेश सरकारले कृषिमा छुट्टयाएको ४० करोड फ्रिज हुँदै

'सिँचाइ मिटरको पहुँच बढाउन ग्रामीण विद्युतीकरण गर्दैछौ'

अतिन आचार्य |
फागुन ११, २०८० शुक्रबार १७:० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- मधेश प्रदेशमा सिँचाइ मिटरको माग गर्नेको संख्या बढ्दै गएको छ । सुख्खा समयमा सिँचाइका लागि प्रदेशको आठ वटै जिल्लाका किसानले मागेबमोजिम सिँचाइ मिटरको माग पुर्‍याउन सकेको छैन ।

किसानहरूले सिँचाई मिटर माग गरे अनुसार वितरण गर्न नसकेको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका रोशनकुमार मेहताले बजेट कार्यान्वयन गराउन नसक्दा कृषि क्षेत्रमा लगानी गर्न नसकेको बताए ।


‘सिँचाइ मिटरका लागि मन्त्रालयले समयमा पहल गर्न नसक्दा किसानले सिँचाइ मिटर पाउन सकेका छैनन्,’ उनले भने,’ विद्युत प्राधिकरणसँग मन्त्रालयले सम्झौता गर्नुपर्ने हो । तर बजेट विनियोजन नभएकाले समयमा सम्झौता गर्न सकेका छैनौँ ।‘

मन्त्रालयले सिँचाइ मिटरका लागि भनेर बजेट विनियोजन नगरेको प्रवक्ता महत्तोले जानकारी दिए । समग्र कृषि क्षेत्रमा लगानी गर्नका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

‘बजेट व्यवस्थापन गरे पनि कार्यान्वयन नहुँदा मन्त्रालयले विनियोजन गरेको बजेट फ्रिज हुने सम्भावना बढ्दै गएको छ,’ उनले अगाडि थपे,’ फागुनसम्ममा कार्यान्वयन लैजाने कोशिश गरिरहेका छौ । ‘

मन्त्रालयले कृषि क्षेत्रमा लगानी गर्न ४० करोड बजेट छुट्याएको छ । मन्त्रालयले छुट्याएको सम्पूर्ण खर्च तीन क्षेत्रमा लगानी गर्न लागेको छ ।

सिँचाइ मिटर,कृषि विद्युतीकरण र सिँचाइ पूर्वाधारका लागि मन्त्रालयले बजेट विनियोजन गरे पनि कार्यान्वयनमा ल्याउन नसकिएको महत्तोले जानकारी दिए ।

कृषिलाई प्रत्यक्ष रुपमा विद्युतीकरणमा जोड्न पनि मन्त्रालयले प्रयास गरिरहेको उनले बताए । ग्रामीण भेगमा विद्युत पुर्‍याउन तारहरू लैजान थालिएको उनको भनाइ । ग्रामीण भेगको विद्युत कृषिमा जोडेर किसानलाई सहज बनाउन लागिएको उनले बताए ।

सिँचाइ मिटर सोही कार्यक्रममा रहेको महत्तोले बताए । ‘सिँचाइ पुर्वाधार अन्तर्गत कुलो, सिँचाइ र बोरिङ निर्माण गर्नुपर्ने हुन्छ,’ उनले सुनाए । मधेश प्रदेशका धेरै किसानले सिँचाइ मिटरको लाभ लिन सकेका छैनन् । सिँचाइ मिटर योजना कार्यान्वयन नहुँदा किसानले उपयोग गर्न सकेका छैनन् ।

 किसानलाई स्रोतसाधनको सुविधा नहुँदा सहजै खेती गर्न नसकिएको महदेवा ३ का किसान खुशीलाल यादव बताउँछन् । मधेश प्रदेशमा मुख्य समस्या सिँचाइको रहेको उनले बताए । किसानका लागि सिँचाइको व्यवस्था भएमा अन्न उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ।

सप्‍तरी बोदेबरसाइन नगरपालिका १ धनगढीका वडाअध्यक्ष बेचनीदेवी सरदारले माग गरे अनुसार किसानले सहजै सिँचाइ मिटर नपाएको उल्लखे गरे ।

‘थोरै जमिन हुनेले सिँचाइ मिटर पाउँदैनन् । पाँच कठ्ठा भन्दा बढी भएकाले सिँचाइ मिटर पाउने गरेका छन्,’ उनले भने,’ कम जग्गा भएकालाई समेत कृषिमा पहुँच बढाउन मिटरको व्यवस्था गरिनुपर्छ । सिँचाइ मिटर नहुँदा किसानहरू खेती गर्नबाट वञ्चित भएका छन् । थोरै जग्गा भएकाहरूले कृषि मिटरका लागि सहज गरिदिनुपर्छ ।‘

सबै खेतीमा सिँचाइ मिटर प्रयोग भइरहेको उनले बताए । धान, गहुँ, तरकारी, आलु, कोभी खेती र सिजन अनुसार सबै खेतीमा सिँचाइ मिटरको प्रयोग भइरहेको उनको भनाइ छ ।

सिँचाइ मिटरका लागि स्थानीय तहले सिफारिस गरिदिनु पर्ने अध्यक्ष सरदारले बताए । सिफारिसका आधारमा विद्युत प्राधिकरणले किसानलाई सिँचाइ मिटर उपलब्ध गराउने गरेको उनले जानकारी दिए । उनका अनुसार कृषि मिटरको करिब ४ हजार रुपैयाँ लाग्छ ।

सिँचाइ मिटरका लिनका लागि नगरपालिकाले छुट गरिदिनु पर्ने उनले माग गरे । मिटरको २ रुपैयाँ ५० पैसा तिर्नुपरिरहेको उनले बताए । नगरपालिकाले त्यहीँ रकम तिर्नका लागि पहल गरिदिन आग्रह गरिरहेको उनले उल्लेख गरे ।

‘कार्यपालिका बैठकबाट पास गरेर कार्यान्वयनमा ल्याउन माग गरिरहेका छौ,’ उनले थपे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x