कला

विश्व रेकर्ड बनाउन मौलाकालिकामा एक सय घण्टे जलरंग सिर्जना

लेखराम सापकोटा |
कात्तिक २६, २०७७ बुधबार ९:१७ बजे

नवलपरासी : मौलाकालिका मन्दिरको फेदीबाट मंगलबार अपरान्ह सिँढी उक्लेको कलाकारहरूको टोली प्रकृतिसँग रमाउँदै मन्दिर परिसरमा पुगे । उनीहरु केहीबेर थकान मेट्न सुस्ताए र आफ्नो सिर्जना कर्ममा लागे । अन्तर्राष्ट्रिय जलरंग समाज नेपाल च्याप्टरले आयोजना गरेको अविछिन्न १०० घन्टे जलरंग सिर्जना कार्यशाला कार्यक्रममा सहभागी हुन चितवन र नवलपरासीका १० जना स्रष्टासहितको टोली पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा पुगे ।

मंगलबार साँझ ६ बजेबाट सुरु भएको चितवन र नवलपरासीका कलाकारको यो सामूहिक सिर्जना कार्यशाला बुधबार बिहान ९ बजेसम्म चल्नेछ । कार्यशालाको सुरुवातमा गैंडाकोटका कलाकार भीम शर्माले चित्रपटमा कुची दौडाए । पानी रङका विभिन्न प्रकारलाई कागजमा पोखे । आर्टसाइजको कागजमा चित्र सिर्जना गरेका शर्माले केही बेरमा नै चित्रलाई आकार दिए । रुखमा गुँड बनाएर बसेका जोडी चरालाई चित्रमा उतारे । तोकिएको समयावधी १ घण्टा ३० मिनेटमा शर्माले आफ्नो जिम्मेवारी पूरा गरे ।


शर्मापछि प्रस्तुत भएका प्रा. लालकाजी लामाले पनि कुची समातेर कागजमा रङ भर्न थाले । लामा नेपाल प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख हुन् भने अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । कार्यशालाका अन्य सहभागीहरूमा प्रकाश थापा, दामोदर बराल, बरुणबाबु घिमिरे, राजेश बराल, मिलन गुरुङ, सुशील गुरुङ, दिनेश्वर महतो र योगेश खनाल छन् ।

कात्तिक २३ गते काठमाडौंबाट सुरु गरिएको चित्र सिर्जना कार्यशालामा नेपालभित्र र बाहिर रहेका कलाकारहरू सहभागी छन् । कार्यशालामा ७३ जना कलाकार सहभागी हुनेछन् । सबै कलाकारले डेढ घण्टाको समयावधिमा चित्र कोर्नुपर्ने हुन्छ । चार दिन, चार रात र चार घण्टा गरि कुल १०० घण्टामा यो अभियान सकिनेछ ।

१०० घण्टे रिले चित्र सिर्जना कार्यशाला पहिलोपटक आयोजना गरिएको हो । यसअघि भारतका कलाकारले ७२ घण्टाको यस्तै चित्र कार्यशाला गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाएका छन् । १०० घण्टाको कार्यशाला सकेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दाबी गराउने योजना रहेको कार्यशाला संयोजक एवम् अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल बागमती प्रदेश संयोजक प्रकाश थापाले बताए ।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण भीड गरेर कार्यक्रम आयोजना गर्न सम्भव नभएकोले स्वदेश तथा विदेशमा रहेका कलाकार सबै जसोले आफ्नै घरमा बसेर चित्र कोरेका छन् । चितवन र नवलपरासीका कलाकारले भने सुरक्षाविधि अपनाएर सामुहिकरूपमा कार्यशाला चलाएका हुन् । कार्यशालाका सहयोगी संस्थाहरूमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हामी कलाकार, कलावती आर्ट काउन्सिल तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिर रहेका छन् ।
 


Author

थप समाचार
x